PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चिकित्सा शिक्षा विधेयक टुंगो लगाइँदै, डा केसीको माग सम्बोधन हुने



चिकित्सा शिक्षा विधेयक टुंगो लगाइँदै, डा केसीको माग सम्बोधन हुने

काठमाडौं: संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको टुंगो लगाउँदैछ।

डा.गोविन्द केसीसँग भएको सम्झौता अनुसार चिकित्सा विधेयकलाई संशोधन गरी टुंगो लगाउने काम अगाडि बढेको समितिले जनायो। 

चिकित्सा विधेयकमाथि बनाइएको समितिले बुझाएको प्रतिवेदनमाथि आइतवार पनि छलफल भयो। छलफलका क्रममा सांसदहरुले संशोधन प्रस्तावहरुलाई पनि समेटेका छन्।

आइतवारको छलफलमा सांसद खगराज अधिकारीले डा.केसीसँगको सम्झौता अनुरुप नै अगाडि बढिएको जानकारी दिए।

उनले सरकारी पैसामा मेडिकल पढ्ने हरेकले २ वर्ष दुर्गम र एक वर्ष सुगममा काम गर्नु पर्ने प्रस्ताव राखेको थिए। उक्त प्रस्तावमाथि समितिमा बोलाइएको शिक्षा मन्त्रालयका अधिकारीहरुले पनि समर्थन जनाए। तर यसको अन्तिम टुंगो सोमवार लाग्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए।

उनले भने,‘विधेयकलाई संसदमा लग्नु पर्नेछ। मैले प्रतिपक्षी दलका सांसदहरुसँग पनि कुरा गर्दैछु। उहाहरुसँग छुट्टै कुरा गरेर भोलि विधेयकको टुंगो लगाउनु पर्छ।’
मेडिकल कलेजहरुलाई गैरनाफामुलक बनाउनु पर्ने प्रस्तावलाई पनि विधेयकमा समेटिएको छ।

छलफलमा सांसद योगेश भट्टराईले काठमाडौंभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने विषयलाई समर्थन जनाउँदै काठमाडौंबाहिर प्रक्रिया पुरा गरेकोले कलेज खोल्न पाउनु पर्ने बताए।

विधेयकमाथिको प्रतिवेदनको मोटामोटी टुंगो लागे पनि सोमवार मात्रै अन्तिम रुप दिइने सांसद भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell