PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाल लिटरेचर फेस्टिभल: सातवटा ‘सेसन'मा किन घुम्ने नेपालदेखि मीटूसम्मको चर्चा



पहिलोपोस्ट

नेपाल लिटरेचर फेस्टिभल: सातवटा ‘सेसन'मा किन घुम्ने नेपालदेखि मीटूसम्मको चर्चा

काठमाडौं: नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन पुरा भयो। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषय वस्तुहरुमाथि परिचर्चा भयो।

आइतवार  फेस्टिभलको पहिलो सेसन थियो, ‘सय वर्ष पछिको नेपाल’। यो सेसनमा पत्रकार एवम् लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तक्रिया गरे।

सेसनमा उनीहरुले नेपालको आर्थिक समृद्धि र विश्व अर्थतन्त्रबारे चर्चा गरे। राणा शासनदेखि अहिलेसम्मका शासकका वृत्ति, मनोवृत्ति एवम् प्रवृत्तिका विविध पक्षमा पनि उनीहरुले अन्तरसंवाद गरे। पर्यटन एवम् यहाँका सम्भावनालाई चिनेर अघि बढ्न सके नेपालको भविष्य उज्ज्वल रहेको उनीहरुको निचोड रह्यो।  

दोस्रो सेसन ‘क्यान नेपाल बी द (इन्टेलेक्चुअल) सलोन अफ साउथ एसिया?’ रहेको थियो। यो सेसनमा हरिश नाम्बियर, मोहम्मद हनिफ र कनकमणि दीक्षितले अन्तरक्रिया गरे। सोही समयमा आर्ट अफ एक्टिभिज्म शीर्षकमा छलफल भयो।  त्यहाँ मञ्जुश्री थापासँग अस्मिना रञ्जितले छलफल चलाइन्। 

तेस्रो सेसनमा भिजिट नेपाल २०२० बारे संवाद भयो। यसको शीर्षक थियो, ‘किन घुम्ने नेपाल?’ यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  रवीन्द्र अधिकारी, उद्योगी सुरज वैद्य र आङछिरिङ शेर्पाले अन्तर्क्रिया गरे।

छलफलमा मन्त्री अधिकारीले भिजिट नेपाल २०२० को सफलताका लागि सबै आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए। साथै निजी क्षेत्रको सहकार्यमा सरकारले विभिन्न पर्यटनका योजना ल्याउने तयारी गरिरहेको उनको भनाइ छ। पर्यटनका माध्यमबाट नेपालमा आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए। भने,’व्यवसायीले पनि पर्यटनमैत्री भएर अघि बढ्नुपर्नेछ।‘

कार्यक्रमको चौथो सेसनमा कलाकारहरु दयाहाङ राई र खगेन्द्र लामिछानेबीच अन्तरसंवाद भयो। त्यसको प्रस्तोता थिए, लेखक बुद्धिसागर। उनीहरुले ‘सहर, साथी र सपना’ शीर्षकमा छलफल गरे। सहभागीहरुले यो सेसनमा एउटा व्यक्ति गाउँले जीवनबाट सहर पसिसकेपछि उसले गरेका संघर्षका कथा मात्रै सुनाएनन्, सुख र दुःखका अनेकौं रमाइला किस्सासमेत सुनाए। 

सोही समयमा ‘रेमिट्यान्स साहित्य: दुःखदेखि दुःखसम्म’ शीर्षक सेसनमा गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दुःख, व्यथा एवम् पीडाबारे संवाद गरे। वैदेशिक रोजगारीको सामाजिक प्रभावबारेको पुस्तक कहर लेखिसकेका जनकराज सापकोटाले भने, ‘८० वर्षभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा जानेहरु रहे पनि नेपाली साहित्यमा त्यसले अझ उचित स्थान पाएको छैन।’ उनीहरुले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विग्रहबारे पनि छलफल गरे।

पाँचौं सेसनमा ‘मधेस: आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारु, बसन्त बस्नेत र गणेशप्रसाद लाठले अन्तरसंवाद गरे। उक्त अवसरमा उनीहरुले आन्दोलनदेखि आख्यानसम्म मधेसको अवस्था एवम् चित्रणबारे छलफल गरे। साथै उक्त अवसरमा मधेसलाई विषय बनाएर लेखिएका साहित्यले पारेको प्रभावका विषयमा पनि छलफल भयो।

सोही समयमा ‘मीटू’ शीर्षकमा छलफल भयो। यसका वक्ता थिए, भूमिका श्रेष्ठ, ऋचा शर्मा र सुरेश ढकाल। उनीहरुले पछिल्लो समय चर्चामा रहेको मीटू अभियानको विषयमा चर्चा मात्र गरेनन्, नेपालमा महिला हिंसाका विषयलाई पनि विभिन्न दृष्टिकोणबाट विचार विमर्श गरे।

‘द आर्ट अफ राइटिङ’ शीर्षकमा मञ्जुश्री थापा र प्रज्ज्वल पराजुलीसँग मुना गुरुङले अन्तरसंवाद गरे। लेखनकला एवम् शैलीका विविध पक्षमाथि चर्चा भयो। सँगै आफूहरुले अपनाएको लेखनकलाका विषयमा पनि प्रस्ट्याए। सोही समयमा ‘कविताको कोरियोग्राफी’ शीर्षकमा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिजसँग सरस्वती प्रतीक्षाले छलफल चलाइन्। उनीहरुले कविता लेखनका कुरा विविध पक्षबारे चर्चा गरे।

आइतबारको अन्तिम सेसन थियो, ‘आकाश, बिम्बाकाश’। यो सेसनमा नवराज पराजुलीले बर्तिका एम राई र अजर जङ्गमसँग अन्तरसंवाद गरे। उनीहरुले कविता लेखन एवं गीत लेखनका विषयमा चर्चा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell