PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सोमबार यस्तो रह्यो नेपाल लिटरेचर फेस्टिभल, आज अन्तिम दिन



पहिलोपोस्ट

सोमबार यस्तो रह्यो नेपाल लिटरेचर फेस्टिभल, आज अन्तिम दिन

मंगलबार लिटरेचर फेस्टिभलको फेस्टिभलको तेस्रो दिन। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा पहिलो दिनदेखि साहित्य, कला, समाज लगायत विभिन्न विषयवस्तुमाथि पहिलो दिनदेखि चर्चा भइरहेको छ।  

फेस्टिभलअन्तर्गत सोमबार पनि लेखक पाठकबीच संवाद साथै अन्तरक्रियात्‍मक कार्यक्रम भए। पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ रहेको थियो। यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे। दुई पत्रकारबीचको संवाद सामाजिक सञ्जालमा चर्चाको विषय समेत बनेको थियो।

दुबैले पत्रकारिता, साहित्य, संगीत, बेथितिहरु बारे छलफल गरे । सँगै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे। 

उनीहरुले आफ्ना जीवनका अँध्यारा उज्याला पक्षको विवेचना मात्र गरेनन्, उनीहरुले मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे। साथै आम मानिसको उज्याला र अँध्यारा पक्षबारे पनि सेसनमा छलफल भयो।  

दोस्रो सेसन थियो ‘संस्मरण विस्मरण’। यो सेसनमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग अन्तरसंवाद गरे। उक्त अवसरमा कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवम् यथार्थलाई ढाकछोप गरी आफूलाई हिरो देखाउने गरेको विषयमा समेत व्यंग्य गरे। उनीहरुले नेपालमा आत्मकथा लेखनको शैली एवम् आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याए। साथै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे।

उक्त सेसनमा मुक्तक मञ्च पोखरासँग सम्बद्ध १५ जना मुक्तककारले मुक्तक सुनाए। प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा आबद्ध रहेर मुक्तककारले मुक्तक सुनाएका थिए।

‘प्रतिरोध’ शीर्षकको तेस्रो संवादमा बसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गरे। उनीहरुले नेपालमा कला, साहित्यले नै नेपालमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसले विकास निर्माणमा सरकारलाई घचघच्याइरहेको धारणा राखे। 

सोही समयमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरिन्। उक्त अवसरमा उनीहरुले लेखनशैलीबारे चर्चा परिचर्चा गरे।

‘प्रजातन्त्र र पुस्तक’ सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन्। पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो। सिके लालले पुस्तकको बजारीकरण र लेखनमा को संग्लन छ भन्नेले कस्तो पुस्तक उत्पादन भइरहेछ भन्ने प्रश्न उठाएका थिए। उनले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तक प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे।

शर्माले भने प्रविधिको विस्तारले पुस्तकको कन्टेन्टमा विविधता बढाएको बताइन्। साथै जसले पुस्तक लेखे पनि त्यसले केही न केही अथवा कतै न कतै प्रजातन्त्रीकरणलाई सघाइरहेको उनको भनाइ छ।  संवादमा पठनशैलीसँगै प्रजातन्त्रमा पुस्तक लेखनको अवस्थाबारे पनि छलफल भयो। उनीहरुले प्रजातन्त्रसँगै गणतन्त्रमा पुस्तक लेखनको विकासबारे पनि विचारविमर्श गरे। सोही समयमा ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए।

 ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन्। उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए । साथै विश्वपरिदृश्यमा पत्रकारिताको अवस्थाबारे पनि यो सेसनमा विमर्श गरियो।

 सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाइन्। उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श भयो। साथै बेस्टसेलर लेखक भट्टराई, पराजुली र धराबासीले पनि आफूहरुको लेखनशैली र प्रस्तुतिबारे पनि आआफ्ना धारणा राखे। 

फेस्टिभलको छैटौं सेसन थियो, ‘फूलको आँखा’। यो सेसनमा पत्रकार दिलभूषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे। उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे।

अन्तिम सेसन ‘बितेका कुरा’ शीर्षकममा दीप श्रेष्ठ र वसन्त थापा रसिक मुडमा बहसिए। गायक श्रेष्ठ र लेखक थापाले बितेको समयका संगीतहरु समय बिते पनि संगीत बित्दैन भन्ने विषयमा आधारित रहेर अन्तरसंवाद गरे। साथै आआफ्ना विगतलाई रोचक किसिमले प्रस्तुत गरे। 

आज महोत्सवको अन्तिम दिन हो। आज ‘महिला सुरक्षा’, ‘साहित्यमा सेन्सरसिप’, ‘अबको नेतृत्व: कस्तो कसको?’, ‘गणतन्त्रपछिको नेपाली समाज’, ‘दन्त्य कथा लगायत’ सेसन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell