PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

विश्व च्याम्पियन नेपाली बडिबिल्डर महेश्वरलाई भव्य स्वागत

विश्व च्याम्पियन नेपाली बडिबिल्डर महेश्वरलाई भव्य स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : थाइल्याण्डमा भएको १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपाल बडिबिल्डर महेश्वर महर्जनलाई नेपालमा भव्य स्वागत गरिएको छ।

शारीरिक सुगठनको ७५ केजी तौल समूहमा अन्य देशका खेलाडीलाई पछि पार्दै नेपालका महेश्वरले स्वर्ण जितेका हुन्। उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, नेपाली शारीरिक सुगठनका पदाधिकारी, महेश्वरका परिवार लगायत समर्थकले विमानस्थलमै पुगेर महेशलाई स्वागत गरेका हुन्। 

स्वर्ण जितेर नेपाल फर्केपछि महेश्वरले नेपाललाई पदक दिलाउन पाएकोमा गर्व लागेको बताए।

विश्व च्याम्पियनसिपमा स्वर्ण जितेपछि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उनलाई नगद ३ लाख पुरस्कारबाट सम्मान गर्ने घोषणा गरिसकेका छन्।

महेश्वर शारीरिक सुगठनको विश्व च्याम्पियनसिपमा स्वर्ण जित्ने पहिलो खेलाडी हुन्। उनले ७५ केजी तौल समूहमा भारत र सिंगापुरका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

यसअघि उनले सन् २०१६ मा भूटानमा भएको ५०औं एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्ट्समा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए। नेपालको प्रतिष्ठित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन बनेका महेश्वर १४औं र १५औं संस्करणमा उपविजेता भएका थिए।



ट्रेन्डिङ पोस्ट