PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कविता वाचनपछि सकियो नेपाल लिटरेचर फेस्टिभल



पहिलोपोस्ट

कविता वाचनपछि सकियो नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ।  बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फेस्टिभल मंगलवार विभिन्न छलफलहरुसँगै सकिएको हो।

पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपि कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र सञ्चालन भए।

फेस्टिभल अन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ मा मनीषा कोइराला, आनी छोइङसँग संवाद भयो। उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ता थिए। उनीहरुसँग पत्रकार यज्ञशले अन्तरसंवाद गरे। यो सेसनमा कञ्चनपुरकी निर्मला पन्त प्रकरण एवम् देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल भयो।

उक्त अवसरमा अभिनेत्री मनीषा कोइरालाले भनिन्,'बलात्कार जस्ता घटना बढ्नुमा कानुन कार्यान्वयनको पाटो फितलो हुनु हो। साथै घरपरिवारमा पनि छोरा र छोरीबीच गरिने भेदभाव नहटेसम्म समृद्ध एवम् विकसित नेपालको सपना देख्न सकिदैन।'

आनी छोइङले नारीहरुलाई कम नआँक्न र उनीहरु अब सचेत एवम् जागरुक भइरहेको धारणा राखिन्। साथै उत्पीडकलाई सजायको व्यवस्था चुस्तदुरुस्त पार्नु पर्नेमा उनको जोड छ।

'समाजमा महिला हिंसाका घटनालाई देख्दा कहिलेकाहीँ आफैं महाकालीको रुप धारण गरेर त्यस्ता अपराधी एवम् कुकृत्य गर्नेलाई सजाय दिन मन लाग्छ', उनले भनिन्।

कार्यक्रममा एसिड प्रहारमा परेकी संगीताले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको र उसमा अलिकति पनि पश्चात्तापबोध नभएको खुलाइन्। सीमाले भने घटनाले आफ्नो लक्ष्य नै मोडिदिएको सुनाइन्। भनिन्,'गायिका बन्ने लक्ष्य थियो। एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन हटाउने काममा लागीपर्ने सोच छ।'  

दोस्रो सेसनमा भूपि कक्ष र अलि मियाँ कक्ष दुवैतिर अन्तरसंवाद भयो। भूपि कक्षमा ‘संघीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग संवाद गरे। उक्त अवसरमा उनीहरुले संघीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवम् यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि विश्लेषण गरे। साथै साहित्यको विविधीकरणका विषयमा पनि उनीहरुले आआफ्ना धारणा राखे। त्यसैगरी अलि मियाँ कक्षमा ‘म किन राष्ट्रवादी होइन?’ मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे। 

‘अबको नेतृत्व : कसको, कस्तो ?’ यो सेसनमा गुणराज लुइँटेलले नेकपा नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग अन्तर्वार्ता गरे। उक्त अवसरमा पछिल्लो समय नेतृत्ववर्गमा देखिएका गुणअवगुणबारे त छलफल भयो, नै सँगै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि पनि विचारविमर्श भयो।

कार्यक्रममा नेता श्रेष्ठले आफूहरुले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको धारणा राखे।

नेता रवीन्द्र मिश्रले कांग्रेस, नेकपा जस्ता ठूला पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवम् सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेकोमा असन्तुष्टि जनाएका थिए। उनले जबसम्म नेतृत्ववर्गबाटै भ्रष्टाचार उन्मूलन हुँदैन, त्यति बेलासम्म विकास एवम् समृद्धि सम्भव नहुने बताए। कांग्रेस युवा नेता गगन पौडेलले भने नेतृत्ववर्गमा आफू मात्र अघि आउने प्रवृत्तिले विकासमा बाधा पुर्‍याएको दाबी गरे। यस्तो प्रवृत्तिमा सुधार नभएसम्म सही नेतृत्व नआउने उनको भनाइ छ।

चौथो सेसनमा पनि भूपि कक्ष र अलि मियाँ कक्षमा अन्तरसंवाद चले। भूपि कक्षमा ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरे। यो सेसनमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, यहाँका अव्यवस्था, कुरीति, कुसंस्कार एवम् अब लिनुपर्ने दिशाबारे रोचक छलफल भयो। अलि मियाँ कक्षमा भने ‘द वेवार्ड डटर : अ काठमान्डू स्टोरी’ शीर्षकमा संवाद भयो। संवादमा मुना गुरुङ र श्रद्धा घलेले विचारविमर्श गरे। 

‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा पाँचौं सेसन चल्यो। यो सेसनमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहसिए, नयनराज पाण्डे। उनीहरुले साहित्यमा सेन्सरसिपको अवस्थासँगै लेख्न हुने, नहुने आदि विषयवस्तुबारे छलफल गरे। सोही समयमा अलि मियाँ कक्षमा ‘चाल्र्स शोभराज: इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचन भयो। विमोचनसँगै पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गरे। यो सेसनमा पुस्तक लेख्नुका कारणसँगै यहाँ समेटिएका अन्य पक्षबारे पनि उनीहरुले छलफल गरे। 

फेस्टिभलअन्तर्गत चौथो दिनको छैटौं सेसन थियो, ‘दन्त्यकथा’। यो शीर्षकमा प्रदीप गिरीले आफ्ना अभिव्यक्ति दिए। उनले दन्त्यकथासँगै मिथकबारे पनि प्रवचन दिएका थिए। मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरे।

समसामयिक, राजनीतिक, आर्थिक आदि विविध विषयवस्तुमा आधारित रहेर लेखिएका कविता वाचनसँगै योपटकको नेपाल लिटरेचर फेस्टिभल सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell