PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सत्ताको साँचो आफ्नै पोल्टामा पार्ने दाउमा प्रचण्ड : सरकारको बचाउ असन्तुष्टिको सम्बोधनमात्र



विधुर ढकाल

सत्ताको साँचो आफ्नै पोल्टामा पार्ने दाउमा प्रचण्ड : सरकारको बचाउ असन्तुष्टिको सम्बोधनमात्र

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक जारी छ। गत मंसिर २९ गते देखि सुरु भएको बैठकमा पार्टीका ४७ स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन्। स्थायी कमिटी सदस्यहरु देवेन्द्र पौडेल सुनिल र जनार्दन शर्मा अमेरिकामा रहेकाले बैठकमा सहभागी भएनन्।
 
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारको चर्को आलोचना गरे। प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरे। ओली र सरकारको बचाउ गर्नेमा मन्त्रीहरु, उनका सल्लाहकार र केही निकटतम नेतामात्र छन्। ओलीको विरोध गर्नेमा पूर्व एमालेका नेताहरु नै बढी देखिए।
 
२९ गते बैठकमा अध्यक्षका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। अध्यक्षको प्रतिवेदन लगत्तै नेता वामदेव गौतमले आफ्नो केही फरक मत रहेको भन्दै १६ पृष्ठ लामो दस्तावेज नै प्रस्तुत गरे। १६ पृष्ठ लामो यो फरक मतमा सरकारको चर्को आलोचना गरिएको छ। पार्टी नेतृत्वको आलोचना गर्दै अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीलाई अध्यक्ष पद छाड्नसमेत माग गरिएको छ।
 
त्यो बाहेक, बैठकमा बोल्ने सदस्यहरुले उठाएको एउटा प्रश्न थियो, ‘सरकार पार्टीले चलाउने कि सरकारले पार्टी?’ स्थायी कमिटीको बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले पार्टीले नै सरकार सञ्चालन गर्नपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
 
‘पार्टीले सरकार चलाउने हो। दुई तिहाईको सरकार छ। पार्टीसँग छलफल गरेर सरकारले काम गर्ने हो,’ प्रचण्डको भनाई थियो। उनले यति भन्दै गर्दा जनयुद्धको किस्सासमेत सुनाउन भ्याए, ‘हिजो जनयुद्ध हुँदा बन्दुकले पार्टी चलाउने कि पार्टीले बन्दुक भन्ने प्रश्न उठ्थ्यो। त्यतिबेला नि हामी निचोडमा पुग्थ्यौँ - पार्टीले बन्दुक चलाउने हो। यतिबेलाको बन्दुक सरकार हो। सरकार पार्टीले चलाउने हो।’

मध्यमार्गी प्रचण्डको शक्तिशाली हुने रणनीति
बैठकमा प्रचण्डले सरकारको बचाउ पनि गरे। यति गरेर प्रचण्डले प्रधानमन्त्री ओलीसँगको समदुरीलाई कायम राख्दै असन्तुष्ट पक्षलाई सम्बोधनको प्रयास गरे।
 
उनले सबैको सुझाव लिएर सरकार सञ्चालन गर्नुपर्ने धारणा राखेको एक सदस्यले बताए।

उनले सरकारको नीति तथा कार्यक्रम, नियुक्ति लगायतका काम पार्टीभित्र निर्णय गरेरमात्र गर्नुपर्ने बताउँदै सरकारको आलोचना गर्ने नेताहरुको मन जिते। त्यति हुँदा हुँदै प्रचण्डले झण्डै १० दिनसम्म आलोचना सुनिरहेका प्रधानमन्त्री ओलीलाई राहत पनि दिँदै भने, ‘यहाँहरुले सरकारलाई पनि सहयोग गर्नुपर्छ।’

प्रचण्डले सरकार सञ्चालन, पार्टी एकतालगायतका विषयलाई सम्बोधन गर्ने गरी छुट्टै प्रस्तावसमेत पेश गरेका छन्।
 
उनको पहिलो प्रस्ताव एक महिनामा एकीकरण टुंग्याउने थियो। त्यसका लागि उनले स्थायी कमिटीका सदस्यहरुसमेत रहेको छुट्टै कार्यदल बनाउने प्रस्ताव अगाडि सारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘यसरी बनेको कार्यदलले साताभित्र काम सम्पन्न गरी स्थायी कमिटीबाट अनुमोदन गराउने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले पहिलोपोस्टसँग भने।
 
स्थायी कमिटीको बैठकमा नेता गौतमले पेश गरेको फरक मतमा एक महिनाभित्र एकीकरणको सम्पूर्ण काम सक्नुपर्ने सुझाब दिइएको छ। गौतमको सुझाव भन्दा माथि उठेर प्रचण्डले नयाँ कार्यदलमा स्थायी कमिटीका सदस्यहरु रहने प्रस्ताव गरेका हुन्।
 
त्यस्तै उनले बैठकमा बोल्ने क्रममा सदस्यहरुले उठाएका प्रश्न, आलोचनालाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने वाचा गरेका छन्। त्यसका लागि प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षले लिने प्रस्ताव राखेका छन्।
 
यति हुँदाहुँदै प्रचण्डले सरकार सञ्चालन गर्न पार्टी अन्तर्गत छुट्टै संयन्त्र बनाउने प्रस्ताव समेत गरेका छन्। ‘उहाँले सरकार र पार्टी अलअलग नभएको भन्दै सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन पार्टी अन्तर्गत रहने गरी छुट्टै संयन्त्र बनाउने प्रस्ताव गर्नु भएको छ,’ बैठकमा सहभागी अर्का एक सदस्यले भने।
 
यस्तो अभ्यास यसअघि पनि भएको थियो। संविधान जारी हुनु अगाडि प्रचण्ड सहमति कायम गर्न राजनीतिक संवाद गर्न भन्दै सरकार बाहिर हुँदा उनले उच्चस्तरी संयन्त्र बनाएका थिए। 

ने क पाको स्थायी कमिटीको बैठकमा आज अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम छ। अपराह्न बस्ने बैठकमा ओलीले जवाफ दिएसँगै बैठक सकिने बताइएको छ। आज उनले दिने जवाफ अनुरुप बैठकले निर्णय गर्ने छ। 

प्रचण्डले गरेको प्रस्तावले प्रधानमन्त्रीको रुपमा आलोचना खेपिरहेका ओलीमाथि दबाब पनि परेको छ। अर्कोतिर आलोचना गर्नेहरुको पक्षमा प्रचण्ड उभिएकाले स्थायी कमिटीमा प्रचण्डको यो प्रस्तावले बहुमत पाउने देखिन्छ। 

‘उहाँ (प्रधानमन्त्री ओली)माथि दबाब परेको छ। आज उहाँले जवाफ दिने कार्यक्रम छ। हेरौँ कसरी सम्बोधन गर्नुहुन्छ,’ ने क पाका एक सदस्यले पहिलोपोस्टसँग भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell