PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एउटा ‘N’ ट्याटु जसले बनाइदियो प्रदीपलाई निर्मला पन्तको व्वायफ्रेन्ड



सविन ढकाल

एउटा ‘N’ ट्याटु जसले बनाइदियो प्रदीपलाई निर्मला पन्तको व्वायफ्रेन्ड

काठमाडौं : नसुल्झिएको बलात्कार र हत्याकाण्डमा धेरैखाले 'प्लट'हरु एकपछि अर्को गर्दै देखा परे। पछिल्लो पटक पटाक्षेप भएका पात्र हुन् प्रदीप। यी तिनै हुन्, जसलाई देखाएर रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममै भनेका थिए - निर्मला पन्तको हत्यारा फेला परिसकेको छ।

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन सातासम्म नियन्त्रणमा लिएका १७ वर्षीय प्रदीप रावलले हिरासतबाट बाहिरिनासाथ 'प्रहरीले यातना दिएर हत्या कबुल गर्न लगाएको' आरोप लगाए। 

रावलले प्रहरी हिरासतमा कुटपिट गर्नुको साथै मार्ने धम्की समेत दिने गरेको बताएपछि प्रहरीको अर्को 'एटेम्ट' पनि 'टाइँ टाइँ फिस' बनेको छ। प्रहरीले अनुसन्धानको सुरुदेखि नै थालेको त्रुटि अहिलेसम्म पनि जारी नै रहेको देखायो, यो प्रकरणले। सुरुमा एसपी दिल्लीराज विष्टले थालेको त्रुटिपूर्ण अनुसन्धानले उनीमाथि दाग त लागेकै थियो, प्रदीप प्रकरणसम्म आइपुग्दा प्रहरी महानिरीक्षक नै त्रुटि गर्नेको सूचीमा चढेका छन्। 

पहिलोपोस्टसँगको कुराकानीमा रावलले भने, 'प्रहरीले मलाई धेरै नै यातना दियो। निर्मलाको हत्या स्वीकार गर भन्दै पाइप र काठले पैलातामा कुटे। कुटेपछि उफ्रिएर सिलिङ छो भन्दै उफार्थे। हिटर बालेर पिसाब फेर्नसमेत लगाउनु पर्छ भन्थे।' 

पैतालामा हिर्काउँदा डोब नदेखिने भएकाले हिरासतभित्र प्रहरीले दिने 'टर्चर'को निस्सा रहन्न। उनको बयानलाई मान्ने हो भने, प्रहरीले प्रदीपलाई दिएको यातना 'द्वन्द्व काल'मा प्रहरीले 'आतंकवादी' भन्दै हिरासतमा लिइएकाहरुलाई दिने प्रताडना भन्दा फरक देखिएन। 

प्रहरीले रावलको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनए (वाई एसटिआर) सँग नमिलेपछि आफ्नो नयाँ प्लटबाट उनको उपस्थितिलाई अलग्यायो। अर्थात्, रावल रिहा भए।  

गत मङ्सिर २० गते रावल र २१ गते विशाल चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो। यसबीच प्रहरीले प्रदीपले बलात्कार र हत्या गरेको साबिती बयान दिएको खबर मिडियाहरुमा ‘लिक’ गराएको थियो।

‘हामीले सबै कुरा थाहा पाइसकेका छौं। खुरुक्क निर्मलाको हत्या गरेको हुँ भन् भन्थे। नत्र मार्दिने भन्थे। एउटा सुन्दर नेपाली नाम गरेको प्रहरीले त सर यसलाई छोडेर गोली हान्दिम् अनि निर्मलाको बलात्कारी भाग्ने क्रमममा गोली लागेर मृत्यु भयो भन्ने सल्लाह पनि दिएको थियो। त्यसपछि डरले मैले मारेको हुँ भन्दिएँ,' प्रदीपले सुनाए।  

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पछिल्ला दुवै पात्रहरुको डिएनए परीक्षण गराइएको थियो। प्रहरीले प्रदीप रावल र विशाल चौधरीलाई नक्कली अभियुक्त बनाउन लागेको भन्दै चौतर्फी विरोध पनि भयो। चौधरीलाई भने प्रहरीले गत शनिबारमात्रै रिहा गरेको हो। 

अनुसन्धानमा एकपछि अर्को असफलता चुमेको प्रहरीले पछिल्लो पटक जालमा पारेको रावलले निर्मलालाई यसअघि नचिनेको समेत दावी गरेका छन्। 

अनि तिमीले मेरो गलफ्रन्ड हो निर्मला भनेको थियौं रे त? 

हाम्रो प्रश्नमा उनको जवाफ थियो - 'मेरो हातमा एन लेखेको ट्याटु थियो। त्यस्तैले पुलिसले नै निर्मला तेरो गर्लफ्रेन्ड हो नत्र किन ट्याटु गरेको? भन्दै आफै कहानी बनाएका हुन्। मैले मेरो गर्लफ्रेन्डको नाम भन्दा पनि पत्याएनन्। निर्मलालाई म चिन्दिन त कसरी मेरो गर्लफ्रेन्ड हुनु?'

कञ्चनपुर भीमदत्त नगरपालिकाकी निमलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। पाँच महिना पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

जब महानिरीक्षक नै बयानमा उत्रिए
विशाल पक्राउ गरेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइवी) पुगेर विशालको बयान लिएको समचार आयो। 

विशालले पनि हामीसँगको कुराकानीमा आइजिपी खनालले बयान लिएको बताए। विशालले भने, 'उहाँले मलाई १५ मिनेट जति सोध्नुभयो। जे हो भन्न भन्नुभयो। तिमीले मैले गरेको छु भनेको सुनेको थिएँ। मेरो अगाडि पनि भन भन्नु भयो। मसँग धेरै समय छैन, छिटो भन भन्नुभयो।' 

प्रहरीको यातनाले प्रताडित विशालले त्यसपछि महानिरीक्षक खनालसामु बयान दिए - मैले हत्या गरेको हुँ। ‘मलाई सबै थाहा भइसक्यो। मेरो अगाडि ढुङ्गा त बोल्छ भनेर उहाँले भनेपछि डरले मैले हत्या गरेको हुँ भनेको थिए,' खनालसामुको बयान सुनाए उनले। 

'एन' लेखिएको ट्याटुले परिबन्दमा परेका प्रदीप निर्मलाको शव भेटिएको  दिन आफ्नो मामाघर सीमापारी भारत लागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell