PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

११ वर्षपछि मध्यपुर थिमिमा नवदुर्गा नाच, विशेष पुजा गरी देवगणहरुलाई विदाई भोज

११ वर्षपछि मध्यपुर थिमिमा नवदुर्गा नाच, विशेष पुजा गरी देवगणहरुलाई विदाई भोज

सहयोग रञ्जित/पहिलोपोस्ट


भक्तपुर : ११ वर्ष अघि थिमिमा नवदुर्गा नाच अन्तर्गत नवदुर्गा गण देवलाई आ-आफ्नो टोलमा बोलाएर सगुन दिने 'द्य: व्वयकेगु' गर्नेक्रममा देवगण माथि स्थानीय केही व्यक्तीहरुले अभद्र व्यवहार गरे। त्यसपछि देवगणहरुले सुरक्षाको कारण देखाउँदै त्यहाँ नाच देखाउन अस्वीकार गरेका थिए।

प्रत्येक वर्ष य:मरी पुन्हीदेखि एक हप्तासम्म नवदुर्गा नाचको रमझमले दिनरात रम्ने थिमीमा ११ वर्षसम्म नवदुर्गा नाच भएन। यसबाट त्यहाँका स्थानीयहरु दुखी थिए। 

तर थिमिमा वर्षौदेखि प्रदर्शन गरिँदै आएको ऐतिहासिक नवदुर्गा नाचलाई विस्थापित गराउने पक्षमा त्यहाँको स्थानीय सरकारलाई स्वीकार्य भएन। त्यसैले मध्यपुरथिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ र वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठको पहलमा यो वर्षदेखि नवदुर्गा नाच देखाउन सुरु गर्ने पहल भयो।

सुरक्षाको कारण देखाउँदै थिमी प्रवेश गर्न नमानेका देवगणलाई नगरपालिकाले सुरक्षाको प्रत्याभूति दिलायो।

अन्तत: ११ वर्ष पछि देवगणहरु थिमी आउन राजी भए।

'यसवर्ष भने नगरपालिकाले नवदुर्गा गणको सुरक्षा र खर्चमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि नवदुर्गा नाच प्रदर्शन गरिएको हो' मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

गएको शनिवार य:मरी पुन्हीका दिन थिमीका स्थानीयहरुले हर्षोउल्लासका साथ बाजा सहित ११ वर्ष पछि नवदुर्गा देवगणहरुलाई स्वागत गरे।देवगणहरुलाई दिगु टोलमा सगुन दिएर स्वागत गरेपछि एक हप्तासम्म थिमीमा नवदुर्गा नाच प्रदर्शन गरियो। त्यसअघि बालकुमारी मन्दिरमा क्षमा पुजा गरिएको थियो।

हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच प्रदर्शन गरियो। 

अन्तिम दिन अर्थात हिजो साँझ फेरि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा नाच प्रदर्शन गरि नवदुर्गा गणहरुलाई विशेष पुजा गरि बिदाई गरियो।

नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नाच प्रदर्शन गरिएको थियो।

दशैको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच भलभल अष्टमी अर्थात असार कृष्णअष्टमीका दिन देवगणहरुले लगाउने देवदेवीहरुको ख्वापा (मुकुन्डो) ब्रम्हायणीमा नै लगेर जलाएपछि सकिन्छ।यसबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यो नाच देखाइन्छ।

नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वा:पा बनाउने गरिन्छ। ब्रम्हायणीबाट सुरु भइ ब्रम्हायणीमा पुगेर समाप्त हुने भएकाले देवगणहरुको मूल देवता ब्रम्हायणीलाई मान्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell