PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

एउटा आत्महत्याको घटना जसले डिएनए प्रविधि भित्र्याउन पार्‍यो दवाव : जीवन रिजालको 'जीवन' जोडिएको कथा

एउटा आत्महत्याको घटना जसले डिएनए प्रविधि भित्र्याउन पार्‍यो दवाव : जीवन रिजालको 'जीवन' जोडिएको कथा

सागर बुढाथोकी/पहिलोपोस्ट


एक मध्यान्ह सहायक वैज्ञानिक अधिकृत जीवन रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम गर्दै थिए। त्यतिकैमा एकजना मानिस हस्याङस्याङ गर्दै उनको ल्याबमै पुगे। त्यहाँ पुग्नासाथ रिजाललाई भने, 'तपाईँले त बर्बादै गर्नुभयो नि! तपाईँको रिपोर्ट हेरेर फैसला गरेको मलाई धेरै पीडा भयो।'

हस्याङफस्याङ गर्दै त्यहाँ पुगेका अरु कोही होइन, एक न्यायाधीश थिए। न्यायाधीश आत्तिँदै बोलेको सुन्दा रिजाल पनि नराम्ररी झस्किए। 

निराश देखिएका न्यायाधीशलाई रिजालले सोधे, 'के भयो र?'

'तपाईँले पठाएको 'ब्लड रिपोर्ट' हेरेर मैले फैसला गरेँ। गलत भएछ कि क्या हो, त्यो व्याक्तिले त आत्महत्या गर्‍यो।'

न्यायाधीश झै रिजाल पनि अकमक्क परे। आखिर के भएको थियो त? 

ती न्यायाधीशले घटना यसरी सुनाए -

एक महिलाले आफ्नो बच्चाको बाउ भन्दै एक युवकविरुद्ध मुद्दा हालिन्। युवकले आफ्नो बच्चा स्वीकारेनन्। न्याय दिने विषय भावनात्मक कुरो मात्र थिएन। अदालतले ती युवकको 'ब्लड रिपोर्ट' परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठायो, जहाँ रिजाल काम गर्थे।

रिजालले ती युवकको ब्लड टेस्ट आफैँले गरेका थिए।  उनले रिपोर्टमा लेखेका थिए - 'युवक बच्चाको बाउ होइन भन्न सकिन्न र हो भन्न पनि सकिएन।'



न्यायाधीशले ग्लानी मान्दै रिजालले सुनाए, 'तपाईँको रिपोर्ट र महिलाले झुट बोल्दिनन् भन्ने मान्यताको आधारमा बच्चाको बाउ ती युवक नै भएको फैसला गरेँ। ती युवाले त आत्महत्या गरेछन्।'

घटनाले न्यायाधीशलाई आत्मग्लानी महसुस गराएछ। त्यसैले उनी हान्निएर रिजालको ल्याबमा पुगेका रहेछन्। जब ती न्यायाधीशको कुरा सुने रिजाललाई पनि चैन भएन। रिजालले आफ्नो ल्याबमा जे प्रविधि उपलब्ध थियो, त्यसैका आधारमा रिपोर्ट तयार गरेर अदालतलाई पठाइदिए। त्यो रिपोर्ट आफैँमा अपूरो छ भन्ने रिजाललाई थाहा थियो तर जे पठाए त्योभन्दा बढी इन्भेस्टिगेसन गर्ने प्रविधि थिएन।  

युवकको आत्महत्याले न्यायाधीशको मनोदशा देखेका जीवन रिजाललाई पश्चातापको तापले पोलिरह्यो। उनलाई थाहा थियो - ब्ल्ड टेस्टबाट शतप्रतिशत नतिजा निक्लिँदैन। 

२०५५ सालको यही घटनाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा रहेका रिजाललाई सोच्न बाध्य बनायो -  'ओहो यसरी त बर्बादै हुन्छ।' 

अनि, डिएनए परीक्षणको प्रविधि भित्र्याउने सोच उनको मनमा गढ्यो। 

तर, डिएनए परीक्षणको प्रविधि भित्र्याउन सजिलो थिएन। उनले धेरै पापड बेल्नुपर्‍यो। मन्त्रालय धाए। सचिवहरु भेटे। कतैबाट पनि 'ग्रिन सिग्नल' पाएनन्। मन्त्रालयका कर्मचारीहरुले सिधै भन्थे, 'डिएनए प्रविधि ल्याए तँलाई के फाइदा? कति पाउँछस् कमिसन?'

'मेरो फाइदाको लागि होइन। देशको लागि हो,' उनले धेरैलाई यस्तो जवाफ फर्काउँथे। धेरै जोडबलपछि 'इन्जाइम टाइपिङ' टेक्नोलोजी भित्र्याउन बजेट पायो, प्रयोगशालाले।



'इन्जाइम टाइपिङ' प्रविधि 'ब्लड टेस्ट' भन्दा अलि विकसित भए पनि डिएनए जतिको 'एडभान्स' थिएन। त्यो ल्याउन अत्यन्तै ढिलो भइसकेको रिजाललाई थाहा थियो। तै पनि, माथिको आदेश मान्नुको विकल्प थिएन।

'इन्जाइम टाइपिङ' ल्याउन अन्तिम तयारी गर्दैगर्दा 'आउटडेटेड' भयो। त्यसपछि डिएनएको विकल्प रहेन। तर, 'इन्जाइम टाइपिङ' को बजेटले डिएनए प्रविधि कहाँ आउथ्यो र? अर्को बजेट पाउन फेरि थप पापड बेल्नुपर्ने। बल्लतल्ल 'डट बल्टिङ डिएनए प्रविधि' का लागि बजेट आउने निश्चित भयो। 'डट बल्टिङ डिएनए प्रविधि' यहाँ आइपुग्दा अरु देशमा पुरानो भइसकेको थियो।

 

बजेट आइसक्दा त्यसको कथा पनि पहिलाको भन्दा फरक रहेन। त्यो पनि- आउटडेटेड।

अब अन्तिम विकल्प 'डिएनए एनालाइजर' नै थियो। त्यसपछि उनी मन्त्रालय धाउनेक्रम बढ्यो। 'डिएनए एनलाइजर नल्याए काम गर्न सक्दिनँ,' भन्दै मन्त्रालयका कर्मचारीहरुसँग बाझ्न थाले। एकदिन राष्ट्रिय योजना आयोगका कर्मचारीसँग नराम्रोसँग भनाभन भयो। त्यो बेला योजना आयोगका कर्मचारीहरुले चुनौती नै दिए। 

'बजेट दियो भने डिएनए एनालाइजर चलाउन सकिन्छ?'

यही प्रश्नको पर्खाइमा थिए रिजाल। उनले तुरुन्तै उत्तर दिए, 'सक्छु।' 

'भन्ने मात्रै कि गरेर देखाउने?' अर्को प्रश्न तेर्सियो।

'बजेट दिनुस्, डिएनए सिस्टम चलाउन सकिनँ भने मेरो मुखमा थुकिदिनु,' रिजालले ताँतिँदै जवाफ फर्काए।

'ग्यारेन्टी के?' उनीहरुले रिजालमाथि अझै विश्वास गरेनन्।

'ग्यारेन्टी?' झोक्किँदै भने रिजालले।

उनले 'ग्यारेन्टी' दिँदैमा कहाँ बजेट आउँथ्यो र?

विज्ञान प्रविधि मन्त्रालयको योजना शाखाका कर्मचारी मुक्ति खनालले पनि बजेटका लागि राष्ट्रिय योजना आयोगमा गएर यसैगरी झगडा गर्नुपरेको रिजाललाई थाहा थियो।

'एक किलोमिटर बाटो नबनाउनु तर यो प्रविधि ल्याउनू,' आयोगका कर्मचारीलाई खनालले यसरी नै थर्काएको सम्झन्छन् रिजाल। 


'तँलाई के फाइदा? विदेश जान पाउँछस्? कमिसन पाउँछस्?,' मुक्तिलाई उल्टै थर्काएका थिए त्यतिखेर।

'देशलाई फाइदा हुन्छ। देशको फाइदामा तपाईँहरुको सहयोग हुन्छ,' मुक्तिले सम्झाएका थिए।

मुक्तिले पनि डिएनए प्रविधि 'ग्यारेन्टी आउछ' भनेपछि बल्ल ९० लाख बजेट पारियो। नेपालमा पहिलो पटक 'डिएनए एनालाइजर' प्रविधि भित्रियो। यो राष्ट्रिय विधि विज्ञान प्रयोशालाको लागि मात्र हैन देशकै लागि सम्झन लायकको उपलब्धि थियो। 

'म मुक्तिजीको गुण कहिल्लै बिर्सिन्न। देशको लागि यति धेरै सोच्ने कर्मचारी पनि रहेछन् भन्ने महसुस भएको थियो मलाई,' रिजालले ती दिन सम्झिए, 'यस्तै भिजन राख्ने कर्मचारीकै कारण देश यहाँसम्म आइपुगेको हो।'

डिएनए प्रविधि त बल्लतल्ल भित्रियो तर चलाउन जान्ने कर्मचारी थिएनन्। उनले सिकेको प्रविधि पुरानो भइसकेको थियो। कर्मचारीलाई तालिममा पठाउन पनि अनेक संघर्ष गर्नुपर्‍यो । बल्लतल्ल २ जना कर्मचारीलाई तालिमका लागि भारत पठाउन सफल रहे। ती मध्येका एक थिए दिनेशकुमार झा। राष्ट्रिय विधि विज्ञान प्रयोशालाका अहिलेका डिएनए चिफ हुन् उनी। 

त्यसपछि डिएनए प्रविधिमा काम हुन थाल्यो। अत्यन्तै जटिल प्रकारका अपराधको अनुसन्धान गर्न सहज भयो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सफलता देखेर सरकारले पनि विश्वास गर्‍यो। बजेट आउन थाल्यो। त्यसपछि दर्जन बढी प्रविधि भित्रिए। रिजाल भन्छन्, 'ल्याब यसरी सफल हुनुको राज नै डिएनए प्रविधि भित्रिएर हो।'

***
रिजाल २०४५ सालदेखि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आवद्ध छन्। त्यसअघि तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट)मा थिए। रोनास्टमा हुँदा नै 'फरेन्सिक ट्रेनिङ' लिन दिल्ली गएका उनी त्यहाँबाट फर्कनसाथ राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम थालेका थिए।

रोनास्टको जागिरे रिजालको यात्रा त्यसरी नै राष्ट्रिय विधि विज्ञान प्रयोशालातिर मोडिएको थियो। उनले प्रयोगशालामा काम सुरु गर्दा 'सेरोलोजिकल टेस्ट' गर्ने कुनै उपकरण थिएन। केही माइक्रोस्कोपको भरमा काम गर्थे।

घटनास्थलबाट रगतहरु लागेका लुगाफाटाहरु आउँथे।  टेबल समेत नभएर काखमै राखेर हेर्नुपर्थ्यो त्यस्ता प्रमाण। उपकरणबिना 'सेरोलोजिकल टेस्ट' गर्नुपर्थ्यो। रेप केस र मर्डर केसहरु धेरै आउँथे। बिना उपकरण कुनै न कुनै उपाय अपनाएर रिपोर्ट दिन्थे।

फरेन्सिक त उनले पढेको विषय। ट्रेनिङ पनि लिएका। आएका केसहरुमा कुनै उपाय लगाएर काम चलाउँथे। हुँदाहुँदै कहिले हात्तीको पुच्छर, कहिले भालुको छाला, कहिले गैंडाको खाग, कहिले कस्तुरीको हड्डीसमेत परीक्षणको लागि आउन थाल्यो।

अब परेन त आपत?

उनले जनावरको डिएनए सम्बन्धी पढेका थिएनन्। कुनै तालिम पनि लिएका थिएनन्। त्यसबारे पढ्न किताब पनि थिएन। तै पनि हार मानेनन्। जावालाखेलस्थित चिडियाखाना गएर विभिन्न जनावरका रौ सकंलन गरेर ल्याउन थाले। त्यही रौंहरु ल्याबमा लान्थे परीक्षण गर्थे र आएका रौंहरुसँग तुलना गर्थे। 

'त्यो बेला मैले गरेको हरेक काम आफैमा एउटा 'रिसर्च' थियो। आफै टेक्नोलोजी डेभलप गर्दै लगें,' रिजालले सुनाए।


त्यो बेला गैंडाको खाग पनि परीक्षण गर्न आउँथ्यो। गैडाको खागलाई सिमेन्ट लगाएर जोडिएको हुन्थ्यो। कुनै काठका पनि हुने। त्यसलाई हतौडीले हान्दा फुट्थ्यो। राम्ररी हेर्दा जोडिएको देखिन्थ्यो। उनलाई गैंडाको खाग रौंले बनेको हुन्छ भन्ने थाहा थियो। 'रौं' नभेट्दा खाग हैन भनेर 'रिजेक्ट' गर्थे। किनकि, सक्कली खाग त आएकै थिएन।

एकदिन गैंडाको खागबाट बनेको 'खगौतो' परीक्षणको लागि आयो। हेर्दा हो जस्तो पनि देखिन्थ्यो, हैन जस्तो पनि। त्यसअघि 'खगौतो' परीक्षणका लागि कहिल्यै आएको थिएन।

समस्या भयो, 'अब कसरी पत्ता लगाउने?' 

त्यतिबेला राष्ट्रिय विधि विज्ञान प्रयोशालाका प्रमुख सेवकराम भण्डारी थिए। भण्डारी भेटेनरी डाक्टर। त्यसअघि चिडियाखानामा पनि काम गरिसकेका। उनले चिडियाखानाबाट एक टुक्रो गैंडाको खाग मिलाइदिए। रिजाललाई ढुंगो खोज्दा देउता मिलेजस्तो भयो। 

त्यो खागलाइ काटेर टुक्रा पारे। ल्याबमा ल्याएर प्रोसेसिङ गरे। 'माइक्रोटोमी सेक्सन' हेरे। रगडेर इन्लार्ज गरे। त्यो सानो टुक्रोबाट गैंडाको खागमा हुने युनिक तत्वहरु पहिचान भयो। र, त्यो खगौतोसँग 'ट्याली' गर्दा मिल्यो। 

त्यही दिन उनले नेपालमा पहिलोपटक गैंडाको खाग पत्ता लगाए।

त्यो सानो गैंडाको खागको टुक्रो रिजालको जीवनमा 'माइल स्टोन' बन्यो। त्यसबाट उनले गैंडाको खाग पत्ता लगाउने 'माइक्रो स्कोपिक' टेक्नोलोजी विकास गरे। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। अहिले त डिएनए प्रविधिबाट नै जनावरका अंगहरु पत्ता लगाउन सुरु भइसकेको छ। त्यो प्रविधि भित्र्याउन पनि उनको महत्वपूर्ण भूमिका छ।

रिजालले काम सुरु गर्ने बेलासम्म जनावरको हकमा होस या मान्छेको पहिचान यसरी नै गरिन्थ्यो। 

एकदिन प्रयोशालामा एउटा बिछ्यौना पहिचानका लागि ल्याइयो। भनिएको थियो, 'कस्तुरीको रौं बाट बनाइएको बिछ्यौना हो, यसलाई पहिचान गर्नुपर्‍यो ।'

रिजाललाई फेरि अर्को आपत् आइलाग्यो। कस्तुरी कहिल्यै देखेका थिएनन्। त्यसको 'रौं' कस्तो हुन्छ थाहा थिएन। तर, काम त जसरी पनि गर्नुपर्ने थियो। 

बिछ्यौनामा भएको रौं घाँस जस्तै खस्रो थियो। नजिकबाट हेर्दा प्वाल देखे। त्यसमा सानो सिन्को छिराए, छिर्‍यो। 'तोइट्! यस्तो नि रौं हुन्छ?' सीधै भने उनले। तर, फरेन्सिक एक्स्पर्ट भएर त्यतिकै पन्छिनु उचित हुन्थेन। बिछ्यौनाको सानो अंश ल्याबमा लगे र सल्काए। सल्काउनसाथ 'रौं' कै गन्ध आयो।

 

उनी आफै चकित परे। झनै फसाद पर्‍यो, अब कसरी कस्तुरीकै 'रौं' हो भनेर पत्ता लगाउने?

न त प्रयोगशालामा कस्तुरीको रौं थियो न देखेका नै कोही थिए। विकल्प एउटै थियो, चिडियाखाना। त्यहाँ जाँदा कस्तुरीको 'रौं' त पाइएन। तर, रौं पाउने संकेत भने मिल्यो - गोदावरी।

गोदावरीमा भर्खरै केही कस्तुरी ल्याएर राखिएको थियो। तर, त्यहाँको कर्मचारीले रौं निकाल्न असम्भव भन्दै फर्काए। उनी निराश भएर फर्कँदै थिए। गेटमा पाले भेटे। पाले फरासिलो रहेछन्। कुराकानी गर्दै जाँदा आफ्नो समस्या सुनाए। पालेले भन्यो, 'कस्तुरीले रुखमा अडेस लगाएर कन्याउँदा केही रौंहरु झारेको थियो। त्यो मैले राखेको छु, सर।'


रिजाललाई फेरि देउतै मिलेजस्तो भयो। पालेसँग मागेर रौं ल्याए। माइक्रोस्कोपमा राखेर हेरे। माइक्रोस्कोपमा एकदमै सुन्दर देखियो त्यो रौं। सर्पको काँचुली जस्तै। त्यसबाट उनले 'स्केल प्याटर्न' हेरे। बिछ्यौनामा प्रयोग भएको रौसँग मिल्न गयो। उनले पहिलोपटक कस्तुरीको रौं पहिचान गरे। अर्को उपलब्धि हात पर्‍यो उनलाई।

'मैले माइक्रोस्कोफिक टेक्नोलोजी डेभलप गरेकै कारण जनावरको अंग र रौं जस्तोसुकै स्वरुप र अवस्थामा आए पनि पत्ता लाग्यो,' त्यतिखेरको सफलता सम्झिँदै रिजालले सुनाए, 'त्यसरी विकास गरेको प्रविधिले धेरै अपराधी पक्राउ परे।'

यो प्रविधि डिएनएभन्दा सस्तो, छिटो र भरपर्दो भएकाले अहिले पनि नहटाएको रिजाल सुनाउँछन्।

यस्ता अनगिन्ति उदारण छन् उनीसँग। भन्छन्, 'सुरुवातको चरणमा त बिजोग नै थियो नि।'

***
रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा टेक्नोलोजी र इक्विपमेन्ट भए पनि स्पेस नभएको सुनाउँछन्। प्रयोगशालाको आफ्नै जग्गा नहुनु दुर्भाग्य ठान्छन्। स्वतन्त्र ल्याबको विकास भवनमा गएर अड्किनु लाजमर्दो बताए। भने, 'केसहरु धेरै आउन थाले। स्पेसको अभावले व्यवस्थित गर्न सकिएको छैन।'

राष्ट्रिय विधि विज्ञान प्रयोशाला अहिले नास्टको जग्गामा छ। नास्टले अर्को भवन बनाउन जग्गा दिँदैन। गर्नुपर्ने कामको सूची लामै भए पनि ठाउँको अभावले ती काम रोकिएको बताउँछन्। भन्छन्, 'जटिल किसिमको केसहरु आउन थालेकाले अनुसन्धान गर्न चुनौती थपिँदो छ। अब डाटा बैंक सिस्टम आवश्यक भइसक्यो तर सरोकारवालाई चासो छैन।'

प्रहरी आफैँ जोडिएका मुद्दामा धेरै डिएनए परीक्षण प्रहरीकै ल्याबमा हुँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने सम्भावना अधिक हुन्छ। त्यसैले, यस्ता प्रकरणमा हुने परीक्षण र नतिजालाई स्वतन्त्र रुपमा पुष्टि भएको नमान्ने जमात पनि छ। त्यसैले स्वतन्त्र फरेन्सिक ल्याबको विकल्प नभएको उनको कथन छ। प्रहरीको बर्दी लगाएर 'बायोलोजिकल नमुना टेस्ट' गर्नु ठीक नहुने उनको तर्क छ। स्वतन्त्र ल्याबबिना न्याय सम्भव नहुने भएकाले यसको व्यस्थित गर्नुपर्ने सुनाउँछन्।

'प्रहरीले नै बायोलोजिकल टेस्ट गर्ने हो भने निर्मलाकै केस जस्तो हुन्छ। गोदामचौरको घटना जस्तै हुन्छ,' उनले भने, 'यस्ता घटना नहुन/नदोहोरिउन भन्नका लागि त स्वतन्त्र ल्याब चाहिने हो।'


त्यसो त ६ महिनाअघि नै रिजालले अवकाश पाएर प्रयोगशालाबाट बाहिर निस्किसके। उनको पालासम्म प्रयोशालाको नाममा अलग्गै बजेट आउँथ्यो। उनी हिँड्ने बेलामा 'रेडबुक'बाट प्रयोगशालाको नाम हटाइयो। नेपाल सरकारको निर्णय भन्दै रेडबुकबाट प्रयोशालाको नाम हटाएको बताइयो। तर, उनको जस्तै अरु संस्थानको नाम त रेडबुकमै थियो।

 

रिजाललाई शंका लाग्यो, 'कतै यो स्वतन्त्र ल्याबलाई 'डिसमिस' गर्ने त हैनन्?'

निर्मला हत्याकाण्डले पाठ सिकाएकाले अब स्वतन्त्र ल्याब डिसमिस नगर्लान् भन्ने पनि लागेको छ। तर, अझै क्लियर भएका छैनन्। 'म नभए पनि स्वतन्त्र ल्याबको विकास होस् भन्ने चाहना हो तर खै?'  रिजालले प्रश्न गरे, 'जहाँ पनि पुलिसलाई नै हात हाल्नुपर्छ। अनि स्वतन्त्र ल्याब बन्द नगर्लान् भन्ने कसरी सोच्नु?'

प्रहरीकै हुन या स्वतन्त्र, फरेन्सिक एक्सपर्ट विवादित नहुन भन्ने चाहन्छन् उनी। प्रहरीले फिंगर प्रिन्टसम्म मात्रै लिनुपर्ने सुनाउँछन्। यस्ता संवेदशील केसको नमुना संकलन र परीक्षण गर्ने छुट्टै स्वतन्त्र टोली हुनुपर्ने तर्क छ। यसको दुईवटा कारण दिन्छन्।


पहिलो कारण - प्रहरीको बर्दी लगाएर फिल्डमा लाठी हान्न जान्छ भने त्यही प्रहरी ल्याबमा बस्न सुहाउँदैन। 


दोस्रो कारण - प्रहरी फिल्डमा लाठी बोकेर नगइकन ल्याबमै बसे पनि उसको ठूलो हाकिम ल्याबमा छिरेपछि सलाम ठोक्नुपर्छ। उसको निर्देशन मान्नुपर्छ। त्यसैले प्रहरीको मातहतमा डिएनए परीक्षण स्वतन्त्र हुँदैन।

त्यस्तै अन्य देशमा प्रहरीलाई डिएनए टेस्ट गर्ने अधिकार नदिएकाले पनि नेपालमा विचार पुर्‍याउनुपर्ने सुनाउँछन्। भन्छन्, 'निर्मलाकै घटनामै देखियो नि पुलिसको ल्याब र स्वतन्त्र ल्याबमा के फरक हुनेरै'छ भनेर?' 


निर्मलाको हत्या हुनु ४ महिनाअघि फरेन्सिक एक्सपर्ट, प्रहरीका अनुसन्धान अधिकृत र  महान्यायाधीवक्ताको मिटिङ थियो। उक्त मिडिङमा रिजालले प्रस्ताव राखे, 'रेप केसको लागि स्पेसल टिम बनाउँ, सिस्टम डेभलप गरौं?'

फरेन्सिक स्याम्पल कलेक्ट र टेस्ट गर्ने सिस्टम बसाल्ने उद्देश्य थियो रिजालको। तर, उनको कुरालाई कसैले वास्ता गरेनन्। 'मेरो कुरा सुनेको भए निर्मलाको केस यो अवस्थामा त आउँदैन थियो नि। स्याम्पल कलेक्सनमा गडबढी भएर त यस्तो भयो?,' निराश हुँदै भने, 'बेलामा निस्किएको बोली नसुनिँदा देशले ठूलो क्षति बेहोर्नुपर्छ। बेहोरिरहेको छ। अझै कति बेहोर्ने हो?'

यो पनि पढ्नुहोस् :

निर्मला प्रकरण : विज्ञहरु भन्छन्- एउटा अपराधीको पछाडि देशै कुद्‍नु पर्दैन, डिएनए डाटा बैँक कानुन बनाऔँ

जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा



ट्रेन्डिङ पोस्ट