PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'इन्काउन्टर'ले यसरी अत्यायो लालकाजीलाई : मानवअधिकारवादी खोज्दा प्रहरीकै हिरासतमा



सविन ढकाल

'इन्काउन्टर'ले यसरी अत्यायो लालकाजीलाई : मानवअधिकारवादी खोज्दा प्रहरीकै हिरासतमा

काठमाडौँ : ‘प्रहरीले खोजी गरिरहेको छ। भेट्ने बित्तिकै ठोक्छ रे।'

सिन्धुलीमा एकाएक फैलिएको यो खबरले लालकाजीको मुटु नहल्लिने कुरै भएन। के गर्ने? कसो गर्ने? लालकाजी समूहका मानिसहरूको भेला नै भयो। 

काठमाडौँ जिल्ला अदालतबाट हतकडी सहित भागेर बुधवार राति ससुराली गाउँ सिन्धुली पुगेका 'अपराधी' हुन् लालकाजी तामाङ। 

उनीसँग जोडिएका विभिन्न समूहको भेला बसिरहेको थियो। भेलामा केहीले सल्लाह दिन्थे भागेर भारत (दिल्ली) जाऊ। यस्तो सल्लाह दिनेले उनलाई दिल्ली जाने व्यवस्था समेत मिलाएका थिए। सबै समूहमा उनलाई कसरी सुरक्षित राख्ने भन्ने बहस भइरहेको थियो। 

लालकाजी कुनै भिआइपी व्यक्ति थिएनन्। चोरी, लुटपाट र गुन्डागर्दीमा सामेल सामान्य गुन्डा। २०७३ जेठ २३ गते जिल्ला अदालत काठमाडौँले तामाङ विरुद्ध चोरी मुद्दामा ६ लाख ९० हजार रुपैयाँ र सो जरिवाना बापतको कैद सजाय सुनाएको थियो। तामाङ कैद भुक्तान नगरी फरार थिए। महानगरीय प्रहरी परिसर काठमाडौँले बुधवार पक्राउ गरेर अदालत बुझाएपछि उनी फेरि अदालतबाट नै टाप कस्न सफल भएका थिए।
 
समूहको एउटाले सुनायो- ‘दिल्लीमा त प्रहरीले खोजी गर्नसक्छ। भेट्ने बित्तिकै ठोक्छ। अहिले नेपाल प्रहरीको दिल्लीमा राम्रो छ।'  

त्यसो भए के गर्ने त? 

'होइन, मानवअधिकारवादी कहाँ जानुपर्छ। उनीहरूले इन्काउन्टर हुनबाट बचाउँछन्,' कसैले भन्यो। 

को मानवअधिकारकर्मीकहाँ जाने? 

समूहबाट अर्को एकजनाले भन्यो, ‘मैले चिनेको छु।' 

शनिवार राति त्यही सल्लाह दिने समूहको मानिसले लालकाजीलाई गाडीमा हाले। राति नै गाडी काठमाडौँ ल्याइयो। उनी मानव अधिकारवादीको मा होइन महानगरीय प्रहरी परिसर टेकुमा ल्याइए। उनलाई गाडीमा हालेर ल्याउन कोही थिएनन्। परिसरबाट खटिएको प्रहरी नै थिए जसले मानव अधिकारवादीकहाँ लैजाने भन्दै उनलाई पुग्नुपर्ने ठाउँमा पुर्‍याए। प्रहरीले बिछ्याएको जालमा लालकाजी परे।

कसरी भागे अदालत परिसरबाट लालकाजी?
बुधवार जिल्ला अदालतमा भिडभाड नै थियो। लागत शाखामा एक कर्मचारी कारागार चलानका लागि भर्पाइ भराइरहेका थिए। लालकाजी, उनका काका र एक प्रहरी सँगै थिए। जब वकिल र कर्मचारीले भरपाई भर्न थाले लालकाजीले भने भाग्नका लागि नयाँ योजना बनाए। लालकाजीका काकाले तामाङ भाषामा भाग्न पनि सुझाए। त्यसपछि लालकाजी अदालतबाट फरार। महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होमिन्द्र बोगटीका अनुसार यस्तै मौका छोपेर उनी भागेको अनुसन्धानमा देखिन्छ।

'अदालतमा मानिसको भिड थियो। जाडोमा डम्म परेका लुगा। हातमा लगाएको हतकडी लुकाए। अदालतका अरु कैदीलाई निकाल्न गेट अलिकति खुलेको थियो। त्यही मैकाको फाइदा उठाउँदै उनी भागे। डिएसपी बोगटीले भने, 'अदालतको सिसी क्यामरा फुटेजमा हेर्दा गाडी बाहिरिने गेटबाट बाहिरिएको देखियो।'

काठमाडौँ जिल्ला प्रशासनको गल्ली हुँदै उनी अनामनगर हनुमानथान पुगे। त्यसपछि एउटा ट्याक्सी लिए। प्रहरीको बयानमा लालकाजीले ट्याक्सीमा चढेपछि आफ्नो हातको हतकडी खोलेर हनुमन्ते खोलामा फ्याँकेको बताएका छन्। डिएसपी बोगटीले भने, 'उसको सानो हात रहेछ। हतकडी सहजै खोलिन्छ जस्तो लाग्यो। हतकडी कहाँ खोलेर फ्याले हामी बुझ्दै छौं।'

लालकाजीले ट्याक्सी लिएर काभ्रेसम्म पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ। काभ्रेसम्म ट्याक्सीलाई ३ हजार रुपैयाँ समेत तिरेको बताएका छन् उनले। त्यसपछि उनले ट्रक र बस चढेर ससुरालीसम्मको यात्रा गरे। ससुराली  पुग्दा रातीको २ बजेको थियो। बिहान ससुराले उठेर हेर्दा मात्र ज्वाइँ आएको थाहा पाएको लालकाजीले बताएका छन्। ससुरालीमा पुगेपछि उनको श्रीमतीसँग फोन सम्पर्क भएको देखिन्छ। श्रीमतीसँगको सम्पर्कको आधारमा नै प्रहरीले लालकाजीलाई समाउन सफल भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell