PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारसँग सशंकित व्यवसायी, बोल्न समेत त्रसित



पहिलोपोस्ट

सरकारसँग सशंकित व्यवसायी, बोल्न समेत त्रसित

काठमाडौं : सरकारले हतोत्साहित गर्ने नीतिहरु ल्याउन थालेपछि त्यसलाई रोक्न उद्योगी व्यवसायीलाई एकजुट हुन थालेका छन्। सरकारले एकपछि अर्को उद्योग/व्यवसायलाई प्रभावित बनाउने नीति ल्याउन थालेपछि उनीहरु एकजुट हुन थालेका हुन्। 

उद्योगी/व्यवसायीहरुको संगठनले सरकारले ल्याउन लागेका नीति र संसदमा पेश भएका औद्योगिक व्यवसायसँग सम्वन्धित विधेयकमा समान धारणा बनाएर जाने तयारी गरेका छन्। 

समान धारणा बनाएर जाने विषयमा नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सहमत भइसकेका छन्। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले संसदमा पेश भएको औद्योगिक/व्यवसायिक ऐनका बारेमा समान धारणा बनाउन पहल सुरु भएको बताए।

‘परिसंघसँग हामीले छलफल गरिसकेका छौं। एफएनसीसीआईसँग छलफल गर्न बाँकी छ। अहिले नै  उद्योग व्यवसायसँग सम्वन्धित विधेयकमा समान धारणा बनाएर नगए पछि समस्या पर्छ,’ उनले  भने। 

परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायमैत्री वातावरण बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै व्यवसाय गर्ने वातावरण बिगारेर समृद्धि हासिल गर्न नसक्ने बताए। 

‘हामीले सोचे अनुसार व्यवसायिक वातावरण बन्न सकेको छैन। सरकारी नीति नियमहरु अझै व्यवसायलाई बाधा गर्ने खालका आउने देखिएका छन्। त्यसैले हामीले एउटै धारणा बनाएर जानेतर्फ छलफल गरेका हौं,’ उनले भने, 'हाम्रो उद्देश्य सरकारको आलोचना गर्नेभन्दा व्यवसायिक वातावरण बनाएर मुलुकको विकासमा ईँटा थप्ने नै हो।’ 

उनले दक्षिण एसियाली मुलुकलाई हेरेर नीति नियम बनाउनुपर्ने बताउँदै पश्चगामी नीतितर्फ जान खोज्नु राम्रो नहुने बताए। 'हामीलाई अहिले लगानी चाहिएको छ। लगानी बढाउनका लागि आकर्षक नीति नियम चाहिन्छ। तर, हामी पछाडि फर्किएर नीति बनाउन थाल्यौं भने मुलुक अझै अधोगतितिर लाग्छ,’ शर्माले भने, 'हामीले व्यवस्थापिका संसद र सरकारलाई व्यवसायीमैत्री नीति बनाउन सुझाब दिन खोजेका हौं। यसले मुलुक र हामी सबैलाई फाइदा गर्छ।’

संशकित उद्योगी
सरकारले पछिल्लो समय व्यवसायिक क्षेत्रलाई नै प्रभावित हुने गरि नीति बनाउन थालेको छ। सरकारमा रहेका कतिपय मन्त्रीले लोकप्रियता बढाउन भन्दै व्यवसायलाई प्रतिकुल हुने नीति ल्याउन थालेपछि व्यवसायी झन् संशकित बनेका छन्। 

'वामपन्थी सरकारसँग निजी क्षेत्र आफैमा संशकित थिए। अझ विभिन्न मन्त्रीले निजी सम्पत्तिमा धावा बोल्दै निजीकरण गर्ने नीतिको पक्षमा बोलिरहेका छन्,’ एक उद्योगीले भने, 'अहिले धेरै उद्योगी व्यवसायीले दीर्घकालीन लगानीलाई पनि थाँती राखेका छन्। नयाँ लगानी होइन भएकै लगानी जोगाउने चिन्तामा व्यवसायी छन्।’ 

उनका अनुसार, दुई तिहाईको स्थिर सरकारबाट औद्योगिक वातावरण बन्ने आशामा बसेका व्यवसायी थप निराश भएका छन्। 

पछिल्लो समयमा गृह मन्त्रालयले मदिरा बिक्री वितरणमा ल्याउन लागेको कार्यविधि, निजी विद्यालयको सार्वजनिकीकरण गर्ने लगायतका विषयले सरकार वामपन्थी विचारधाराबाट प्रेरित भएर काम गरिरहेको उनीहरुको आशंका छ। 

ती उद्योगीका अनुसार व्यवसाय गर्ने अधिकार नै कुण्ठित हुने गरि नीति तर्जुमा गर्न थालिएको छ। ‘सस्तो लोकप्रियतालाई हेरेर उद्योग/व्यवसायलाई प्रभावित बनाउने नीति किन आइरहेको छ?’ ती उद्योगीले भने, 'सरकारले लगानीकर्ताको विश्वास दिनप्रतिदिन गुमाइरहेको छ।’

चेम्बरमा आईतबार र सोमबार दुई दिनदेखि उद्योगी/व्यवसायीका समस्याका बारेमा छलफल भएको थियो। छलफलमा सहभागी भएका अधिकांश उद्योगी/व्यापारीले सरकारको काम कारवाही व्यवसायिक क्षेत्रको विरुद्धमा रहेको धारणा राखेका थिए। 

‘चेम्बरमा सहभागी भएका विभिन्न क्षेत्रका व्यवसायीहरु कोही पनि खुशी देखिदैन,’ छलफलमा सहभागी एक व्यवसायीले भने, 'हरेक क्षेत्रका व्यवसायीलाई घाँटी न्याक्ने गरि नीति आएको छ। दुई तिहाईको सरकारले झन् व्यवसायीलाई आहत बनाउने काम गरेको छ।’

बोल्न डराउँछन् उद्योगी
सरकारले ल्याएको नीतिका बारेमा सार्वजनिक रुपमा उद्योगी/व्यवसायी बोल्न डराउँछन्। सरकारसँग असिमित अधिकार रहेको र सार्वजनिक रुपमा बोल्दा उद्योग व्यवसाय माथिनै समस्या पर्ने भएकाले आलोचना गर्न डराउँछन्। 

‘सरकारले ल्याएको नीतिको विरोधमा बोल्न मिल्दैन। सरकारको आलोचना गर्यो भने कुनैपनि समयमा सरकारले समस्या खडा गर्न सक्छ’ ती उद्योगीले भने, 'हामी अहिले सबैभन्दा सप्रेस्ड भएर बसेका छौं।’ 

उद्योग/व्यवसायसँग सम्वन्धित मन्त्रीहरु व्यवसायीलाई संरक्षण गर्नेभन्दा आलोचना गर्ने भएकाले पीडा लुकाएर बस्न बाध्य भएको उनले बताए। 

‘अर्थमन्त्री हाम्रो कुरा सुन्नै चाहनुहुन्न। उद्योगमन्त्रीको कामनै व्यवसायीलाई गाली गर्ने मात्रै भएको छ। यस्तो अवस्थामा लगानीकर्ताले कहाँबाट संरक्षण पाउनु? लगानी गर्ने आँट कसरी जुटाउनु?’ ती उद्योगीले भने।

ब्यवसायिक वातावरण बिग्रिँदै गएका कारण पछिल्लो समयमा विश्व बैंकले सार्बजनिक गरेको 'डुइङ बिजिनेस रिपोर्ट' मा नेपालको अवस्था खस्किँदै गएको देखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell