PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली क्रिकेटरको पहिलो आत्मकथा 'एल बी क्षेत्री : कप्तान १९९८' सार्वजनिक



पहिलोपोस्ट

नेपाली क्रिकेटरको पहिलो आत्मकथा 'एल बी क्षेत्री : कप्तान १९९८' सार्वजनिक

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान एलबी क्षेत्रीको आत्मकथा पुस्तक 'एल बी क्षेत्री : कप्तान १९९८' सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, नेपाली पुरुष क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्य, क्रिकेट टिमकै पट्ठर्व कप्तानद्वय पवन अग्रवाल र विनोद दास, महिला टिमका पूर्व कप्तान निरा रजोपाध्याय र पूर्व कप्तान एलबी क्षेत्रीले शुक्रवार संयुक्त रुपमा विमोचन गरे।

यसअघि ओलम्पियन शीर्षकमा सुरेन्द्र हमालकोको पुस्तक निकालिसकेको क्रियटिभ बुक्सले खेलकुद विधाकै अर्को पुस्तकको रुपमा एलबी क्षेत्रीको पुस्तक प्रकाशन गरेको हो।

नेपालको पहिलो राष्ट्रिय टिमको उपकप्तान समेत रहेका क्षेत्रीले सन् १९९८ मा नेपालको कप्तानी सम्हालेका थिए।

नेपालले सन् १९९६ मा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा उपकप्तान रहेका क्षेत्रीले क्रिकेट भएर आफ्नो बारेमा पुस्तक सार्वजनिक गर्न पाउँदा गर्व लागेको बताए। 'यसमा मैले आफूले देखेका, भोगेका, गरेका कुराहरु आफ्नो बुझाईले भ्याएसम्म लिपीबद्ध गर्ने प्रयास गरेको छु।'

उनले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए। त्यही भएर पुस्तकको नाम समेत कप्तान १९९८ राखिएको प्रकाशकले जनाएको छ।

पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्रिकेटर क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन्।

क्रियटिभ बुक्सको पाँचौ प्रकाशनको रुपमा रहेको ‘कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको छ।

नेपालमा महिला क्रिकेटको जन्मदाताको रुपमा समेत चिनिने क्षेत्रीले महिला क्रिकेटको विकासमा ठूलो भूमिका खेलेका छन्।

'म बेंगलोरमा हुर्के, पढे र क्रिकेट खेलेँ। त्यसपछि नेपाल आएर क्रिकेट खेल्दै कप्तान हुँदासम्म, महिला क्रिकेटको सुरुवात गर्दा कति चुनौती भयो भन्ने विषयसहित सबै कुराहरु पुस्तकमा उतार्ने जमर्को गरेको छु।' क्षेत्रीले भने।

भारतको कोलकातामा क्रिकेट सिकेर कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका क्षेत्रीले जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिता खेले भने सक्रिय खेलजीवनपछि क्यानको केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्षको जिम्मेवारी लामो समय क्रिकेटको आधिकारिक जिम्मेवारीबाट बाहिर रहेपनि क्षेत्री अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फबाट सदस्यका हैसियतमा छन्।

यस्तै क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवाल र विनोद दासले पनि क्रिकेटरको पुस्तक प्रकाशन हुनु खुशीको विषय भएको बताए।

क्षेत्रीको पुस्तक प्रकाशक क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोनल खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रकाशन गरेको थियो।

क्रिएटिभ बुक्समा अध्यक्ष टीएस ठकुरीले नेपाली खेलकुदमा अभिलेखीकरण कम छ जस्तो लागेर त्यसलाई अब अभिलेख राख्न सुरु गर्नुपर्छ भनेर नै खेलकुदको पुस्तकतिर बढी ध्यान दिएको बताए। 'अब नेपाली खेलकुदको  पुस्तक अझै धेरै आउनुपर्छ। कप्तान १९९९ मा नेपालको क्रिकेट कथालाई समेट्ने प्रयास गरेका छौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell