PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'लाउडा काण्ड' छानबिन गरेका सांसद महर्जन भन्छन्, ‘वाइडबडी त त्योभन्दा पनि ठूलो घोटाला’



बीपी साह

'लाउडा काण्ड' छानबिन गरेका सांसद महर्जन भन्छन्, ‘वाइडबडी त त्योभन्दा पनि ठूलो घोटाला’

काठमाडौँ: नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुईवटा वाइडबडी विमानमा अनियमितता देखिएपछि अहिले यो प्रकरण छानबिनमा रहेको छ।


उक्त प्रकरणबारे छानबिन गर्न बनेको संसदीय उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन तयार पारिसकेको छ। तर उक्त प्रतिवेदनमाथि सत्तारुढ दलका सांसदहरूले संशोधनको माग गरेपछि मूल समितिमा रोकिएको छ।

छानबिन समितिले प्रतिवेदन मूल समितिलाई नबुझाएर बाहिर चर्चामा ल्याएको भन्दै यही प्रकरण छानबिनका लागि सरकारले अर्को समिति गठन गरिसकेको छ। सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविबिनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति बिहीबार गठन गरेको हो। यता अन्तर्ष्ट्रिय सम्बन्ध समितिले पनि यसैसम्बन्धमा छलफल गरिरहेको छ। 


यसअघि पनि विमान खरिदमा विभिन्न काण्ड मच्चिएका थिए। जसमध्ये लाउडा प्रकरण, धमिजा काण्ड, चेज एयर काण्ड, चाइनसाउथ वेस्ट काण्ड चर्चित छन्। 


यसैमध्ये लाउडा प्रकरण सबैभन्दा बढी चर्चामा रह्यो।


सबभन्दा पुरानो ‘धमिजा काण्ड’ भए पनि २०५७ सालको ‘लाउडा काण्ड’मा त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनु परेको थियो। जसका कारण लाउडा प्रकरण निकै चर्चित बन्यो।


अहिले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्दैछ। लेखा समितिले बनाएको छानबिन उपसमितिमा छन् ललितपुर क्षेत्र नम्बर दुईवाट निर्वाचित सांसद कृष्णलाल महर्जन। 


महर्जन त्यो व्यक्ति हुन्, जो लाउडा प्रकरणको छानबिन समितिका पनि सदस्य थिए।


लाउडा प्रकरणको छानबिनका लागि तत्कालीन सार्वजनिक लेखा समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उनकाअनुसार समितिमा एक जना सदस्य उपस्थित नै भएनन्। तत्कालीन जनमोर्चाका महासचिव लीलामणि पोखरेलले व्यस्तताका कारण छानबिनमा सहभागी नहुने जानकारी दिएका थिए।


काँग्रेसको पार्टी महाधिवेशन चलिरहेको भन्दै काँग्रेसका कोही सांसद छानबिन समितिमा बस्न मानेका थिएनन्। प्रकरणमा आफ्नै पार्टीका प्रधानमन्त्री नै जोडिएकाले काँग्रेसका सांसदहरू समितिमा बस्न डराएका थिए।


बाँकी थिए काभ्रेका शिवबहादुर देउजा र महर्जन। दुई जनाले छानबिन गरेर रिपोर्ट बुझाएका थिए।


अहिलेको वाइडबडी छानबिन उपसमितिमा सात सदस्य छन्। जसमध्येका एक हुन् महर्जन। 


लाउडा प्रकरणभन्दा पनि वाइडबडीमा ठुलो र सङ्गठित घोटाला भएको महर्जनको दाबी छ।


‘त्योभन्दा ठुलो काण्ड हो यो वाइडबडी खरिद प्रकरण। पहिले यति ठुलो कारोबार भएकै थिएन,’ महर्जन भन्छन्, ‘यहाँ सुरुदेखि नै भ्रष्टाचार गर्ने मनसाय देखिन्छ।’


त्यति बेला विमान किन्न रकम पठाएको र विमान नआउँदै छानबिन समिति गठन भएको उनले बताए। ‘त्यस बेला क्याबिनेटको निर्णयबाट पैसा पठाइ सकिएको थियो। तर, विमान आएको थिएन,’ महर्जनले भने, ‘छानबिनका क्रममा प्रधानमन्त्री कोइरालालाई पनि बोलाएका थियौँ।’

त्यसपछि बाध्य भएर प्रधानमन्त्रीबाट कोइरालाले राजीनामा दिएको महर्जनले बताए। भने, ‘प्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याएका थियौँ। आन्दोलन भएको थियो र प्रधानमन्त्री कोइरालाले राजीनामा गर्नु परेको थियो। वाइडबडीको सुरुवात काङ्ग्रेसकै पालामा भएको हो। अहिलेको प्रधानमन्त्रीका विषयमा केही भन्न सकिँदैन।’


लाउडा प्रकरणको छानबिन गरी कारबाहीका लागि अख्तियारलाई सिफारिस गरिएको उल्लेख गर्दै महर्जन भन्छन्, ‘मन्त्री तारणीदत्त चटौत र जिएम तत्कालै पक्राउ परेका थिए। अदालतले सजाय सुनाएको थियो।’


वाइडबडी खरिदमा प्रकिया नै पुरा नभएको उल्लेख गर्दै महर्जनले थिए, ‘प्रक्रिया पुरा भएको छैन। दलालमार्फत किनेको छ। मन्त्रीले रोक्नु पर्ने थियो। तर मन्त्री पनि सहभागी भएको देखिन्छ।’


महर्जनले यस प्रकरणमा पूर्व पर्यटनमन्त्री जितेन्द्र देवले गलत कदम चालेको र हालका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ढाँटेको आरोपसमेत लगाए।


‘यस प्रकरणको उठानमा काँग्रेसको हात हो। अडर गर्योट, पैसा पठायो। जितेन्द्र देवले गलत पनि गर्नु भयो,’ उनले भने,‘रवीन्द्रले यसअघि सदनमा पटक–पटक बोल्नु भयो, केही कारोबार भएको छैन भनेर। प्रतिवेदन सार्वजनिक गर्छु भन्नु भयो। तर गरेनन्।’


मन्त्रीले महालेखा परीक्षकलाईसमेत ढाँटेर गल्ती गरेको उनको तर्क थियो।


‘उपसमितिमा रवीन्द्रले भने कि, मैले रोक्न सक्थे। रोक्दा प्लेन आउने थिएन। गएको पैसा गुम्ने थियो, रवीन्द्रले महा लेखापरीक्षकको विषयमा पनि छानबिन समितिलाई ढाँटे।’


सांसद महर्जन लाउडा प्रकरण जस्तै वाइडबडी प्रकरणमा मुछिएकाहरूलाई कारबाही हुनु पर्ने बताउँछन्। दोषीलाई राजनीतिकरण गर्न नहुने उनको भनाई छ। उनी भन्छन्,‘दोषी जो कोही भए पनि कारबाही हुनु पर्छ। मेरो पार्टीको वा अरूको पार्टीको भनेर जोगाउन हुँदैन।’


नेपालमा विमान खरिद हुँदा भ्रष्टाचार हुने गरेको इतिहास आगामी दिनमा दोहरिन नदिन पनि कारबाही आवश्यक भएको उनको सुझाव रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell