PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५


नमेटिने चोटसँगै एक्लिएको प्रयान : बालापनले यसरी बिर्साइरहेको छ घाउ


स्वेच्छा राउत

नमेटिने चोटसँगै एक्लिएको प्रयान : बालापनले यसरी बिर्साइरहेको छ घाउ

दुईवटा तह भएको कोठा छ। केही खुड्किलो झरेर माथिल्लोबाट तल्लो तहमा पुगिन्छ। त्यहाँ प्रयान जोशी खेलिरहेको भेटिन्छन्। प्रयान, १४ महिने बालक। साथमा हजुरबुबा प्रेमकुमार श्रेष्ठ र हजुरआमा सन्तुमाया श्रेष्ठ छन्। उसलाई भेट्न आउनेहरु माथिबाट नै बोलाउँछन्। 


डाक्टरले इन्फेक्सनबाट बचाउन उसको वरपर नजान सुझाएका छन्। उसलाई आगोको रापले पोलेको हो। हात लगायत शरीरको विभिन्न भागमा घाउ आलै छ। उसलाई देख्ने सबैले उसलाई कति पोलेको होला, दुखेको होला भन्ने अनुमान लगाउँछन्। एकछिनलाई त्यो पीडा आफ्नो सरह बोध गर्छन्। तर, दुखाई भुलेर हाँसी रहेको प्रयान देख्दा लाग्छ कुनै पीडा छैन, कुनै दुखाई बाँकी रहेन। 

त्यस्तो कहाँ हो र? 

घाउ त निकै गहिरो छ, पुरिएला पनि बिस्तारै। तर, प्रयानको शरीरमा लागेको भन्दा ठूलो चोट उसको जिन्दगीमा परेको छ। त्यही आगोको रापले उसलाई टुहुरो बनाएको छ जुन चोट कसैगरे पनि पुरिनेवाला छैन।

***

गएको पुस ७ गते। प्रयानका बुबा पुष्करराज जोशी मर्मत गरेको ग्यास हिटर बोकेर घर फर्किए, चिसो छल्ने उपायसहित।  घरमा पुष्करकी श्रीमती अप्सरा पनि थिइन्।

केही बेरपछि उनीहरुको कोठाबाट एक्कासी ‘गुहार गुहार’को आवाज आउन थाल्यो। जसले छिमेकीहरुको ध्यान तान्यो। त्यसबीचमा उनीहरु के गर्दै थिए, कसरी दुर्घटना भयो, कसैलाई थाहा छैन। 

कोठामा ग्यास हिटर प्रयोग भएको थियो। त्यही हिटरको ग्यास लिक भएर आगलागी भएको प्रहरीको अनुमान छ। अनुमानकै भरमा 'यस्तो भयो होला', 'यसरी भयो होला' भनेर चित्त दुखाउने र चित्त बुझाउने ठाउँमात्र बाँकी छ।  


उनीहरुको कोठाबाट धुँवा आइरहेको देखेपछि छिमेकीहरुले मिलेर उद्दार गरे। एकजना छिमेकीले ब्ल्याङ्केट पानीमा भिजाए र ओढेर ढोका फोडे। त्यसपछि जोशी परिवारलाई बाहिर निकालियो। केही बेरमा कालिमाटीबाट प्रहरीआइपुगे। पुष्कर र अप्सरालाई उनीहरुले नै भ्यानमा राखेर कलंकीको शहीद मेमोरियल अस्पताल पुर्‍याए। 


छोरा प्रयानलाई भने उद्दार गर्न आउनेले नै कलंकीको नेपाल नेशनल अस्पताल पुर्‍याएका थिए। प्रयानलाई आइसियुमा भर्ना गरिएको थियो। उनलाई 'इन्हेलेसन इन्जुरी' नभएको जानकारीले केही राहत दिए पनि ढुक्क कोही बसेनन्।

आफन्तले जलनका लागि उपयुक्त अस्पतालको खोजे। धेरैले कीर्तिपुर अस्पताल सुझाएपछि तिनैजना उतै सारियो। 

कीर्तिपुर पुर्‍याउँदासम्म पुष्कर र अप्सरा दुवै होसमै थिए। अप्सराले आफूहरुलाई आगोले नभएर रापले पोलेको बताएकी थिइन्। उनले पटकपटक छोराको अवस्थाबारे सोधिरहेकी थिइन्। 


'बच्चा लगेपछि उसले जुरुक्क टाउको उठाएर हेरिन्। भाउजु डाइपर चेन्ज गर्दिनु है पनि भनिन्,' कीर्तिपुर पुर्‍याउँदाको अवस्थाबारे अप्सराकी भाउजु प्रभा योञ्जनले सुनाइन्, 'त्यस्तो अवस्थामा पनि उसलाई बच्चाकै चिन्ता थियो।' 


अप्सराको सामान्य ड्रेसिङ भयो। पुष्करको अपरेशन गर्नुपर्ने बताइएको थियो। त्यतिन्जेल पुष्कर पनि होसमै थिए। उनी आफैले ५ बजे खाजा खाएको बताएपछि अपरेशन करिब ३ घण्टा ढिला भएको थियो। 


प्रयान भने अप्सरालाई अन्तिम पटक देखाउनमात्र लगेसरह भयो। कीर्तिपुर अस्पतालमा बच्चाको भेन्टिलेटर रहेनछ। बाल रोग विशेषज्ञ डाक्टर ध्रुव श्रेष्ठ कीर्तिपुर पुगे र उनकै निगरानीमा बच्चालाई भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल लगियो, भेन्टिलेटरमा राख्‍नकै लागि। 

प्रभाले तनहुँ पुगेका अप्सराका बुबा आमालाई घटना लगत्तै फोन गरेकी थिइन्। राती उनीहरु आइपुगे। त्यसअघि कलंकी नै बस्ने पुष्करका काका पूर्व सचिव लालमणि जोशीसहित आफन्तहरु आइसकेका थिए। दुख्यो, पोल्यो भन्दै कराइरहेका जोशी दम्पत्ती देख्दा उपचारपछि ठीक हुने आशामा थिए, आफन्त। 


भोलिपल्ट डाक्टर शंकरमान राईको टोलीले ४० प्रतिशत डिप बर्न भएको जानकारी दिएपछि भने सबैजना आत्तिए। 


'ज्वाइँको केस सिरियस थियो। अप्सरालाई त केही हुँदैन होला भन्ने सोचेका थियौं,' प्रभाको बोलीमा आशा र नैराश्यताको भाव मिसिएको सुनिन्छ।  


किनकि ५ दिनको अन्तरमा पुष्कर र अप्सरा दुवैको प्राण एकएक गरी गयो। 


***

घटना भएको पाँच दिनपछि डाक्टरले पुष्करको किड्नीले काम गर्न छोडेको बताएका थिए। 'हातको नशाका कारण समस्या देखिएको र दुवै हात काटेर फाले, किड्नीले काम गर्ने भनियो,' प्रभाले बताइन्, 'परिवारको सहमतिमै अपरेशन पनि भयो।' 


तर, ठीक हुने आशामा अपरेशन गरिएकै रात, पुस १२ गते बिहीवार पुष्करको निधन भयो। 


त्यसपछि अप्सरालाई पनि त्यहाँबाट मेडिसिटी अस्पताल रेफर गरियो। सर्जरीका लागि डाक्टर शंकरमानको टिम त्यतै आउने प्रतिवद्धतासहित। 


बिहीवार अस्पताल फेरियो। शनिबारको ब्रिफिङमा डाक्टरले अवस्थामा सुधार नभएको बताए। त्यसको केही दिनमै उनको अवस्था गम्भीर बन्यो। डाक्टरले डायलासिस गर्न सुझाव दिए। आइतबार डायलासिस त भयो। तर, सोही दिन अर्थात् पुस १६ गते मध्यरातमा अप्सराको पनि प्राण गयो। 

प्रयान अब एक्लियो। 


उनलाई तीन दिन सिद्धि अस्पतालको भेन्टिलेटरमा राखियो। सिद्धि मेमोरियल अस्पतालको बाल रोग विभाग प्रमुख रहेका ध्रुवका अनुसार सुरुमा उसको अवस्था पनि गाह्रो थियो। तर, अहिले ऊ खतरामुक्त छ। 


'अब उसको हातमा छाला प्रत्यारोपण गर्न मात्र बाँकी छ। अनुहार र पोलेको अरु भागमा बिस्तारै नयाँ छाला पलाउँछ,' डाक्टर श्रेष्ठले पहिलोपोस्टलाई बताए। 


अप्सरा बित्नु केही दिन अघि प्रयानलाई मेडिसिटी मै ल्याइएको थियो। तर, अप्सरा नै होसमा थिइनन्। 

अन्तिम संस्कारका लागि सुदूरपश्चिमबाट पुष्करको आमा धौली र बुबा परमानन्द जोशीलाई बोलाइयो, छोरा बिरामी भएको बहाना गरेर। सिधै दाहसंस्कारका लागि पशुपति पुर्‍याउँदा उनी त्यहीँ बेहोस भए। 


७६ वर्षीय बुबा ३३ वर्षीय छोराको किरिया बसे। छोरालाई दागबत्ती दिएको पाँच दिनपछि बुहारीको पनि दाह संस्कार गर्नु पर्‍यो। 


पुष्कर र अप्सराको किरिया गाभियो। हिजोमात्र प्रयानका बाबु आमाको १३ दिनको कर्म पूरा भयो।

*** 
जोशी दम्पत्ती इन्जिनियर थिए। पुष्कर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मा कन्सल्टेन्ट थिए। गोरखामा रहेर काम गरिरहेका उनी केही महिना अघिमात्र प्रोजेक्ट सकिएर काठमाडौं आएका थिए। अप्सरा सडक विभागमा कार्यरत्। यी दुईको पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह भएको हो। 

प्रयान गत वर्ष भदौ ९ गते जन्मिएको हो।


उनीहरुसँगै अप्सराका आमाबुबा पनि बस्थे। उनीहरु भने घटना हुनु केही दिनअघि पूजाका लागि तनहुँ गएका थिए। घटनाको जानकारी पाएसँगै सोही दिन रातको करिब १२ बजे काठमाडौं आए। त्यस यता प्रयान उनीहरु सँगै छ, भाउजु प्रभा योन्जनको घरमा। 


इन्फेक्सनबाट बचाउनका लागि हर कोसिस भएको छ। भेट्न पुग्नेहरु परैबाट बोलाएर फर्कन्छन्। 


छोरी ज्वाइँ गुमाएको पीडामा रहेका आमाबुबा पनि नातिसँग रौसिँदै खेलिरहेका भेटिन्छन्। भेट्न आउनेहरुलाई नमस्कार, टाटा भन्न निर्देशन दिन्छन्। ऊ पनि ज्ञानी बनेर उनीहरुले भनेजस्तै गर्छ। 


बाइबाइ भन्नेलाई हात ओठमा लगेर 'फ्लाइङ किस' गर्न खोज्छ चोट लागेर ब्यान्डेज गरेको हात र अनुहार ठोक्किँदा आफै झस्कन्छ। पुन: सम्हालेर हात ओठसम्म पुर्‍याउँछ। घाउमा नलाग्ने गरी। अनि थोरै पनि नदुखे जसरी मुस्कुराउँछ।



नमेटिने चोटसँगै एक्लिएको प्रयान : बालापनले यसरी बिर्साइरहेको छ घाउ को लागी २ प्रतिक्रिया(हरु)

Apsara [ 2019-01-09 21:35:30 ]
God bless you prayan! Love you much!!😙😙😙😙

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishnu [ 2019-01-08 09:36:17 ]
तिमी असल र ठूलो मान्छे बन्नु प्रयान । जीवन का घुम्ती हरुमा यस्ता पीडा र चोट कति भेतिन्छ्न कति? कति सहज हुन्छन त कति खप्नै नसकिने । आज तिमिलाइ ठूलो र खप्नै नसकिने पीडा परेको छ र पनि तिमी अबोध भएको ले महसुस गर्न सक्दैनौं । तिम्रा सहज र असहज हर पाइला हरु मा हामी सधै हुने छौ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट