PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाइने, यस्तो छ सरकारले प्रस्ताव गरेको विज्ञापन नियमन कानुन


पहिलोपोस्ट

विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाइने, यस्तो छ सरकारले प्रस्ताव गरेको विज्ञापन नियमन कानुन

काठमाडौँः सरकारले विज्ञापन नियमनसम्बन्धी नयाँ कानुनको मस्यौदा राष्ट्रियसभामा दर्ता गरेको छ। सरकारले पेस गरेको विज्ञापन नियमन विधेयक अनुसार अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गर्नु पर्नेछ।

प्रस्तावित विधेयक अनुसार अब विदेशी विज्ञापनलाई डबिङ गरेर प्रसारण गर्न पाइने छैन।

सरकारले प्रस्ताव गरेको विधेयकको दफा ६ मा भनिएको छ ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ ।’

सोही विधेयकको दफा ६(२) थप भनिएको छ ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन ।’

हालसम्म विज्ञापन नियमनको कुनै छुट्टै कानुनी व्यवस्था छैन। छरिएका रहेका विभिन्न ऐनहरूमा जनस्वास्थ्य सरोकारसँग सम्बन्धित विषय भने समेटिएका छन्। विज्ञापन नियमनकै लागि भने कुनै छुट्टै कानुनी व्यवस्था थिएन।

 

हार्डिङ बोर्डको अनुमति स्थानीय तहमा

सार्वजनिक स्थलमा राखिने होर्डिङ बोर्ड राख्न दिने वा नदिने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिन प्रस्ताव गरिएको छ। यस्तो विज्ञापनको अनुमति सम्बन्धित संस्था वा व्यक्तिले स्थानीय तहबाट लिनु पर्नेछ।

स्थानीय तहले प्रचलित कानुनले रोक लगाएको विज्ञापन भएमा होर्डिङ बोर्डका लागि अनुमति पाउने छैन। यस्तै, शहरको सौन्दर्यमा असर पर्ने अवस्थामा पनि बोर्ड राख्ने अनुमति स्थानीय तहले नदिने अधिकार छ।

 

के-के विज्ञापन गर्न पाइन्न?

विधेयकले प्रचलित कानुनले वितरण तथा उपभोगमा रोक लगाएका बस्तु तथा सेवाको विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ। यस्तै, जुवा खेलाउने वा चिट्ठाका लागि प्रोत्साहन गर्न पनि रोक लगाएको छ।

चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधि, हातहतियार, विस्फोटक पदार्थ तथा सुरक्षासँग जोडिएका अन्य वस्तु तथा सेवाको विज्ञापन रोक लगाउने प्रस्ताव छ।

विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकको विज्ञापन पनि गर्न पाइने छैन।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा प्रतिकूल हुनेगरि विज्ञापन गर्न पाइने छैन। राष्ट्रिय झन्डा, राष्ट्रिय गान, विभूतिको अवमूल्यन हुने विज्ञापन गर्न नमिल्ने विधेयकमा प्रस्ताव छ।

राज्यद्रोह, गाली बेइज्जती, अदालतको अपहेलना हुने गरी पनि कुनै विज्ञापन गर्न पाइने छैन। सार्वजनिक शिष्टाचारमा प्रतिकूल हुने गरी विज्ञापन गर्न पाइने छैन।

कुनै समुदायको अवमूल्यन गर्ने, निर्वाचनको स्वच्छतामा असर पार्ने, औद्योगिक सम्पत्तिको हकवालाको अनुमति नभएका विषयमा पनि विज्ञापन गर्न पाइने छैन।

सरकारले विधेयकमार्फत विज्ञापन बोर्ड गठनको पनि प्रस्ताव गरेको छ।

विधेयकको पूर्णपाठ पढ्नुस्-



विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाइने, यस्तो छ सरकारले प्रस्ताव गरेको विज्ञापन नियमन कानुन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट