PahiloPost

Jun 17, 2019 | २ असार २०७६

यसरी ठडिँदैछ काठमाडौं चिनाउने काष्ठमण्डप : १५ सय वर्ष पुराना काठ भेटियो जस्ताको तस्तै, नयाँसँग पुन: प्रयोग हुँदै

यसरी ठडिँदैछ काठमाडौं चिनाउने काष्ठमण्डप : १५ सय वर्ष पुराना काठ भेटियो जस्ताको तस्तै, नयाँसँग पुन: प्रयोग हुँदै

सहयोग रञ्जित/पहिलोपोस्ट


हनुमानढोकास्थित पहिले महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय रहेको भवन बाहिर करिब २५ फिटका १५/१५ इन्चका काठहरु राखिएका छन्। शिल्पकारहरु राखिएका काठ काट्न व्यस्त देखिन्छन्। दरबार क्षेत्र घुम्न आएका जो कसैको पनि नजर यी दृश्यमा पर्नु अनौठो होइन। 

यती ठूला र धेरै काठ केका लागि? धेरैको प्रश्नसँगै सुझाव हुने गर्छ :  स-मिलमै लगेर काटेको भए पनि त हुन्थ्यो नि।

उनीहरुले दिने सुझावजस्तो सजिलो काम भने यो होइन। यहाँ ल्याइएका काठको जत्रो आकार छ त्यसअनुसारको काट्न सक्ने स मिल नै यहाँ छैन। र, त्यो भन्दा पनि महत्वपूर्ण त काठ जथाभावी काट्न पनि मिल्दैन। 

यी काठ मरु सत: अर्थात् काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै भन्दा महत्वपूर्ण 'प्यंग थां' (चारवटा मूल पिल्लर) बनाउन ल्याइएको काठ हो। यी ठूला काठ बर्दिबासबाट काठमाडौं भित्र्याइएका हुन्।  

प्रहरी परिसर भवनको आँगनमा समेत थुप्रै नयाँ र पुराना काठहरु छन्। कलात्मक शैलीमा बुट्टा भरिएका काष्ठकलाहरुलाई पालले छोपेर राखिएको छ। केही शिल्पकारहरु भने पुराना काठका बुट्टाको चित्र बनाइरहेका छन्। नयाँ काठहरुलाई त्यही शैलीमा बनाउनका लागि उनीहरुले पुरानका कलालाई दुरुस्त उतार्न परेको हो। कति त नयाँ बनिसके पनि। 


केही महिनायता समुदायको निगरानीमा काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिइरहेको छ। अझ पुनर्निर्माणका लागि काठहरु ल्याइएपछि त सबै ढुक्क भएका छन् – अब चाहि बन्ने भयो 'काष्ठमण्डप'।


***


२०७२ साल वैसाख १२ गते गएको भूकम्पमा परी सातौं शताब्दीमा बनेको काष्ठमण्डप ढल्यो। काठमाडौंको पहिचान बनेको यो संरचनामाथि राजनीति पनि धेरै नै भयो। पुनर्निर्माण प्रकिया थालनी नभएको भन्दै सरकारको आलोचना समेत भयो। स्थानीय समुदायले काठमाडौंलाई नाम दिएको काष्ठमण्डपको पुनर्निर्माणका बारेमा धेरै छलफल गरे, निकास निस्केन। 


स्थानीयले जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण हुनुपर्छ भनेर माग राखे। जनसमुदायले पुरानै शैलीमा काष्ठमण्डप बनाउनुपर्ने र कन्क्रिटको प्रयोग गर्न नदिने उनीहरुको अडान थियो। पुनर्निर्माणका लागि जनस्तरमै सुझाव संकलन गरियो। समुदायको आर्थिक सहयोगबाट निर्माण गर्ने कुरा समेत भयो। यद्यपि, त्यसले मूर्त रुप लिन सकेन।


काष्ठमण्डपको 'डिजाइन' र पुनर्निर्माण गर्न प्रयोग गरिने सामाग्रीका बारेमा पनि धेरै विवाद भयो।


अन्तत: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दियो। 


२०७५ जेठमा महानगरपालिकाले जनताको प्रत्यक्ष सहभागितामा काष्ठमण्डप पुनर्निर्माण समिति बनाउने निर्णय गर्‍यो।  


काष्ठमण्डप पुनर्निर्माण समितिको अध्यक्ष बने प्रदेश नम्बर तीनका सांसद राजेश शाक्य। 


समिति गठनलगत्तै काष्ठमण्डप पुनर्निर्माणका लागि सुझाव संकलन गरियो। पुरातत्व विभागले काष्ठमण्डपको नक्सा स्वीकृत गर्‍यो। 
अब काष्ठमण्डपका लागि आवश्यक थियो, काठ।


समिति काठको खोजीमा लाग्यो। रुख नमिलेपछि समय बढी लागेको समितिका अध्यक्ष शाक्यले बताए। 


अन्तत: वन मन्त्रालयको सिफारिसमा २०७५ साउनमा मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको ४०० के बी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डप पुनर्निर्माणका लागि दिने निर्णय गर्‍यो। 


समिति र द टिम्बर कोर्पोरेशन अफ नेपालसँग काठ खरिद गर्ने सम्झौता भयो। महोत्तरीको बर्दिबास टुटेश्वरनाथ साझा वन र गढन्ता साझा वनबाट काठहरु ल्याउने सहमति भयो। 


***


काष्ठमण्डपका लागि काठ उपलब्ध हुने निश्चित भएपछि कस्तो काठ प्रयोग गर्ने भनेर छलफल सुरु भयो। पुराना नक्सा र बाँकी काठहरुको तौल र आकार नापी त्यस्तै काठ ल्याउने तयारी समितिले गर्‍यो। काठ छनौट गर्न समिति अध्यक्ष शाक्य सहितको टोली बर्दिवास पुग्यो। 


करिब एक हप्ता लगाएर रुख र काठ छनौट गरेको र गुणस्तरमा कुनै सम्झौता नगरेको बताउँदै शाक्यले भने,  'काष्ठमण्डप पुनर्निर्माण गर्दा काठ पनि गुणस्तरीय हुनुपर्छ। काठको औशत आयु एक हजारदेखि तीन हजार वर्षसम्म हुने रहेछ। त्यसैले राम्रो काठको छनौटका लागि हामीले काठ विशेषज्ञहरुको सहयोग लियौं। उहाँहरुको सुझावमा काठ र रुख छनौट गरेर हामी फर्कियौं।' 


हालसम्म तीन चरण गरेर बर्दिवासबाट काठ आइसकेको समितिले जनाएको छ। कार्तिक पहिलो साता पहिलो चरणको काठ आइपुगेको समितिका सदस्य शैलेश राजभण्डारीले जानकारी दिए। ती काठहरु सजावट र बुट्टाका लागि प्रयोग गरिने उनले बताए। यस्तै दोस्रोमा पिल्लर र झ्यालका लागि काठहरु ल्याइयो। तेस्रो चरणमा पुस १७ गते सबैभन्दा महत्पवपूर्ण 'प्यंग थां' ( चारवटा मूल पिल्लर) का लागि काठ ल्याइयो। 


समितिका अनुसार पुरातत्व विभागले काष्ठमण्डपका लागि पुराना र नयाँ गरी करिब २७ हजार क्युफिट काठको आवश्यक्ता रहने बताएको छ। शाक्यका अनुसार अझै करिब ३००० क्युफिट काठ आउने प्रक्रियामा छ। 


शाक्यले भने, 'पुराना धेरै काठ काम नलाग्ने अवस्थामा छन्। तर, सक्दो पुराना काठको प्रयोग हामी गर्छौं।'


***


पहिला महानगरीय प्रहरी परिसर काठमाडौं रहेको हनुमानढोकास्थित भवनमा हाल समितिको अस्थायी कार्यालय स्थापना गरिएको छ। काठहरु ल्याएर त्यहीँ राखिएको छ। 


नयाँ काठहरुलाई पुरानो काष्ठमण्डपका काठहरु जस्तै बनाउनका लागि र सजावट गर्न त्यही परिसरमै 'वर्कसप' निर्माण गरिएको छ। काष्ठकलामा राम्रो दक्षता भएका भक्तपुरका शिल्पकार र सिकर्मीहरुले पुरानो डिजाइन अनुसार काठमा आकृति भर्ने काम गरिरहेका छन्।


राजभण्डारीले भने, 'हामीले सक्दो पुरानो काठको प्रयोग गर्दैछौं। भिज्योल स्कयानिङ गरेर नराम्रो काठहरुलाई छुट्याएका छौं। काठको अवस्था पत्ता लगाउने विधि प्रयोग गरेर उचित रहेको काठ पुन: प्रयोग गर्दैछौं।'  


***


पहिला भारत र तिब्बतको व्यापारिक नाकाका रुपमा थियो काठमाडौं, जतिखेर काष्ठमण्डप बनेको थियो। व्यापारका लागि आउने मानिसको आरामका लागि धेरै ठाउँमा सत: (सत्तल) हरु बनाउने कार्य भएको थियो।


त्यही अनुरुप बन्यो 'मरु सत:' । पछि, त्यसको प्रयोग धार्मिक कार्यका लागि हुन गयो। 


नेवार समुदायमा मरु सत: भनेर चिनिँदै आएको सत्तल पछि काष्ठमण्डपका रुपमा चिनियो। 


भूकम्पपछि बेलायतको डुरहम विश्वविद्यालयका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा काष्ठमण्डप उत्खन्न गरियो। उत्खन्नका क्रममा ११–१२ औं  शताब्दीमा बनेको भनिएको काष्ठमण्डप सातौं शताब्दीमै बनेको निष्कर्ष निस्कियो। अझ जग त त्यो भन्दा पुरानो रहेको अनुसन्धानबाट देखियो।  
समिति अध्यक्ष शाक्यले भने, 'सातौं शताब्दीमा बनेको काष्ठमण्डपका काठहरु अहिले पनि राम्रै छन्। १५ सयभन्दा धेरै वर्षसम्म त्यो काठ टिकेकै हो।'


पुनर्निर्माणमा पुराना काठहरु पुन: प्रयोग गर्ने बताउँदै उनले भने, 'नयाँ काठको औसत आयु कम्तीमा तीन हजार वर्ष हुने अनुमान गरेका छौं।' 

***

काष्ठमण्डप परिसरमा पनि जग बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ। पुनर्निर्माणमा सिमेन्ट गिट्टी, कंक्रिटको प्रयोग गरिएको छैन। 
मजदुरहरु माटो र बालुवाको मिश्रण गरी इट्टा छाप्ने काममा व्यस्त देखिन्छन्। बालुवा र माटोको गुणस्तरमा कमी हुन नदिएको समितिको दाबी छ। भूकम्पपछि निकालिएका माटोहरु पुन: प्रयोग गरिएको समितिले जनाएको छ। 


काष्ठमण्डपका लागि चाहिने इट्टाहरु पनि 'विशेष अर्डर' दिएर बनाइएको समितिले जनाएको छ। पुरानो शैलीकै इट्टाहरु बनाउनका लगि भक्तपुरको दक्षिण बाराही इट्टा उद्योगसँग समितिले सम्झौता गरेको छ। इट्टाहरु सम्पदा मैत्री रहेको समितिको दाबी छ।  


काष्ठमण्डप पुनर्निर्माणको सिलसिलामा 'ईःलोंह'  (जगमाथि प्वाल खोपेको ढुंगा) बनाउने प्रयोजनका लागि मजिपाट, चिकंमुगल, कोहिटी, भिमसेन स्थान, रामघाट, मरुहिटी आदि स्थानमा प्रयोग बिहीन अवस्थामा रहेका नौ थान ढुंगाहरु संकलन गरिएको थियो। उत्खन्नका क्रममा 'ईःलोंह' राखेर त्यसमा 'थां' अड्याइएको पाइएको थियो।


योजना अनुरुप काम भए माघ महिनाभित्रै जगमा 'प्यंग थां' ( चारवटा मूल पिल्लर) उठाउने योजना समितिको रहेको शाक्यले बताए। 
पचास लाख रुपैयाँ सहयोगबाट सुरु भएको काष्ठमण्डप पुनर्निर्माणमा कति रकम लाग्छ अहिल्यै भन्न सकिने अवस्था छैन। लागत मूल्य भन्दा बनाउने कामलाई प्राथमिकता दिइरहेको शाक्यले बताए। 


'नेपाल सम्बत ११३९ को पहिलो दिन (कार्तिक २२) गते जगमा सातौं शताब्दीको इट्टा राखेर  सिद्धि पुजा गरी काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गरिएको हो। हामीले तीन वर्षमा सकाउने योजना बनाएका छौं। समुदायसँगै मिलेर हामी यसको निर्माण कार्य सम्पन्न गर्छौं। यसलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ।'



ट्रेन्डिङ पोस्ट