PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवसर



पहिलोपोस्ट

जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवसर

काठमाडौँः जागिरेले पनि बैंकबाट बिना धितो ऋण पाउँछन् भन्ने थाहा पाउनु भएको छ? बैङ्क तथा वित्तीय संस्थाले जागिरेलाई बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउँछन्।

तर ऋणका केही सर्तहरु भने छन्।

जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईँले जागिर खाएको कार्यालयको तलबी खाता बैङ्क तथा वित्तीय संस्थामा हुनुपर्छ। नियमित तलब भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैङ्क तथा वित्तीय संस्थाले बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउँछन्।

राष्ट्र बैङ्कले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ। त्यसैका आधारमा बढीमा १५ लाख रुपैयाँसम्म बैङ्क तथा वित्तीय संस्थाले ऋण दिन्छन्।

लगानी सुरक्षाका लागि बैंकहरुले तलबी खाता भएका कम्पनीका कर्मचारीहरूलाई यस्तो ऋण दिइरहेका छन्।

 नेपाल राष्ट्र बैङ्कले आफ्नो सम्पत्ति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भनेर यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैङ्कले जुन बैङ्कमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनुपर्ने बाध्यताकारी व्यवस्था भने गरेको छैन। तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलबी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन्।

 बैंकहरुको यस्तो ऋण दिने आ-आफ्नै सिद्धान्त छ। कुनै बैङ्कले मासिक तलबको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन्। १५ लाख रुपैयाँ दिने बैङ्क भने निक्कै कम छन्। कम्पनीको विश्वसनीयताका आधारमा मात्र कुनै कुनै बैङ्कले निश्चित कम्पनीका कर्मचारीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेका छन्।

बैङ्क तथा वित्तीय संस्थाहरूले पर्सनल ग्यारेन्टीमा यस्तो ऋण दिने गर्छन्। बैंकहरुले नियमित आम्दानी हुनेहरुलाई बिना धितो ऋण दिन थालेकाले तलबी खाता खोल्नेको सङ्ख्या पनि बढ्दै गएको बैंकरहरुको विश्लेषण छ। यस्तो ऋण व्यक्तिगत तथा सामूहिक जमानीमा प्राप्त हुन्छ।

सहरमा घर नभएकै कारण नियमित तलब सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन्। उनीहरूलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैङ्कले निर्देशन दिएको थियो।

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्नेछन्। यस्तो ऋणको किस्ता तथा ब्याज बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell