PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ट्रम्पको प्रतिस्पर्धी बन्न हिन्दु अमेरिकी महिलादेखि ओबामाका मन्त्रीसम्म आकांक्षी



ट्रम्पको प्रतिस्पर्धी बन्न हिन्दु अमेरिकी महिलादेखि ओबामाका मन्त्रीसम्म आकांक्षी

हिलारी क्लिन्टनलाई पराजित गर्दै 'बिजनेसम्यान' डोनाल्ड ट्रम्पले जनवरी २०, १०१७ मा राष्ट्रपतिका रुपमा शपथ लिए। डेमोक्रेटबाट राष्ट्रपति बनेका बाराक ओबामालाई रिपब्लिकन ट्रम्पले पदस्थापन गर्ला भनेर धेरैले विश्वास गरेका थिएनन। तर, अन्तत ट्रम्प राष्ट्रपति बने। 


'मेक अमेरिका ग्रेट अगेन' भन्दै आप्रवासीहरुमाथि कडाइ गर्ने नीति ल्याएका ट्रम्पले अर्को वर्ष २०२० मा फेरि राष्ट्रपति पदका लागि डेमोक्रेटविरुद्ध निर्वाचन लड्नुपर्नेछ। 


निर्वाचन अर्को वर्ष हुने भएता पनि डेमोक्रेटहरुबीच ट्रम्पविरुद्ध प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइसकेको छ। 
उम्मेदवारी घोषणा गर्नेमा अमेरिकाकी प्रथम हिन्दु सांसददेखि पूर्व राष्ट्रपति बाराब ओबामाको मन्त्रिपरिषदका मन्त्रीसमेत छन्। उनीहरुमध्ये एक जनालेमात्रै ट्रम्प विरुद्ध लड्न पाउनेछ। त्यसका लागि उनीहरुले पार्टीभित्र धेरै संघर्ष गर्नुपर्नेछ।   

अमेरिकाकी ३७ वर्षीया तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन्। 
२१ वर्षमै अमेरिकामा सबैभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बनेकी गबार्ड अमेरिकी तल्लो सदन कंग्रेसमा निर्वाचित हुने पहिलो हिन्दुसमेत हुन्। 


इराक युद्धका भेट्रान रहेकी गबार्डले आफ्नो उम्मेदवारका क्रममा युद्ध र शान्तिको विषयलाई प्राथमिकता दिने बताएकी छिन्। उनी एक वर्ष राष्ट्रिय हवाई सेना गार्डका रुपमा इराक युद्धमा सामेल भएकी थिइन्। 


२०१५ मा उनी अमेरिकी सेनाको मेजर बनेकी तुलसी सिनेटर माइक गबार्डकी छोरी हुन्। 


उनले राष्ट्रपतिका लागि उम्मेदवारी दिने घोषणा गरेपछि भारतमा उनको चर्चा सुरु भएको छ। यद्यपि उनको भारतसँग कुनै नाता छैन। तुलसीका बुवा आमा समेत भारतीय मूलका होइनन्। 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थकका रुपमा रहेको र हिन्दु भएकोले उनको समर्थन र चर्चा भइरहेको विश्लेषण गरिएको छ। हिन्दुहरुविरुद्ध गरिने टिप्पणीमाथि तुलसीले आवाज उठाउँदै आएकी छिन्।  गुजरातमा भएको हिंसाका कारण त्यसबेला गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका प्रवेशमा रोक लगाइँदा उनले अमेरिकी प्रशासनको विरोध गरेकी थिइन्।


२०१७ मा सिरियाका राष्ट्रपति बशर अल असादसँग भेट गरेको विषयमा उनी विवादमा फसेकी थिइन्। शान्तिका लागि सिरियाका सबै पक्षसँग भेट गर्ने बताएकी तुलसीको विपक्षीहरुले विरोध गरेका थिए। 


डेमोक्रेटबाट राष्ट्रपति निर्वाचनमा सजिलै प्रतिस्पर्धा गर्न भने तुलसीलाई सजिलो छैन। डेमोक्रेटबाट धेरै नेताहरु राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्। 


बाराक ओबामा राष्ट्रपति भएका बेला भवन तथा शहर विकास मन्त्री रहेका जुलियन क्यास्ट्रोलेसमेत राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। सन् २०१४ देखि २०१७ को ओबामा क्याबिनेटका उनी कान्छा सदस्य थिए।


टेक्ससको सान एन्टिओमा उम्मेदवारीका लागि प्रतिस्पर्धा गर्ने घोषणा गर्दै उनले हाल अमेरिका राजनीतिक नेतृत्वको संकटमा रहेको बताएका थिए। अमेरिका एक महान् राष्ट्र भएको तर ट्रम्पले यसको सम्मान गर्न नसकेको उनले बताएका थिए। २००९ देखि २०१४ सम्म टेक्ससका मेयर रहेका क्यास्ट्रोलाई पार्टीभित्र उर्जाशील युवा नेताका रुपमा लिने गरिन्छ। 


४४ वर्षीय क्यास्ट्रोले ट्रम्पको आप्रवासी नीति र सीमामा अभिभावक र सन्तानलाई छुटाउने अभियानको विरोध गर्दै आएका छन्। यस्तै उनले अश्वेत अमेरिकीहरु प्रति ट्रम्प प्रशासन नकारात्मक रहेको आरोप लगाउँदै आएका छन्। 
क्यास्ट्रोलाई पूर्व राष्ट्रपति ओबामाले समर्थन गरेको बताइएको छ। 

क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपतिसमेत हुनसक्ने अनुमान गरिएको छ। 

आप्रवासन र सीमा सुरक्षाका विषयमा आक्रामक छलफलहरु भइरहेका बेला देशको विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ छ। 

सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भने, “म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु।” 

मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरुको परम्परा तथा मर्मका बारेमा धाराप्रवाह मन्तव्य राखे। 

क्यास्ट्रोलाई डेमोक्र्याटिक पार्टीमा उदाउँदो ताराका रुपमा चिनिन्छ। 

आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी गरिएको छ। 

ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको समाचारमा उल्लेख छ। 

यस्तै सिनेटर एलिजावेथ वारेनले समेत डेमोक्रेटका तर्फबाट २०२० राष्ट्रपति निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। 
६९ वर्षीय हाइ प्रोफाइल डेमोक्रेटिक सिनेटर एलिजावेथ वारेनले डिसेम्बरमा नै २०२० का लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी थिइन्। ट्रम्पले वारेन अमेरिकी नभएको भन्ने प्रतिक्रिया दिएपछि उनले डीएनए मार्फल आफू 'नेटिभ अमेरिकन' रहेको पुष्टि गरेकी थिइन्। अमेरिकामा बसोबास गर्ने सबै मानिसहरुलाई समान अधिकार दिलाउन आफू राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताएकी थिइन्। 

यस्तै २०२० मा हुने निर्वाचनका लागि ट्रम्पलाई टक्कर दिनका लागि पूर्व उपराष्ट्रपति जोए विडेन, म्यारी ल्यान्डका कंग्रेसम्यान जोन डेलाने,  डेमोक्रेट नेताहरु कमला ह्रयारिस, टिम र्‍यान, अर्बपति व्यापारी माइकल ब्लूमबर्ग पनि दौडमा छन्। 


अमेरिकी सरकारी कार्यालयहरु २३ दिनदेखि बन्द रहेको अवस्था, सिरियाबाट सेना फिर्ता बोलाउने निर्णय,मेक्सिकोमा पर्खाल लगाउने अडान, आप्रवासी नीति, बन्दुक राख्न पाउने नियम लगायतका ट्रम्प प्रशासनका निर्णयहरुका विरुद्ध डेमोक्रेटहरुले २०२० को मोर्चा सुरु गर्ने अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell