PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा



बीपी साह

मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा

काठमाडौं: आइतबार करिब ३ बजे प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको कार्यकक्षमा विवाद भयो।

लगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले आफूलाई मन्त्रीले कुटेको भन्दै आक्रोश व्यक्त गरे। उनी आक्रोशित भएको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा फैलिएको छ।

मन्त्रीको कार्यकक्षबाट आक्रोशित हुँदै बाहिर निस्केका सचिव झाको भिडियो हेर्नुहोस्-

विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालमा मन्त्रीले सचिवलाई कुटेको समाचार प्रकाशनमा आए।

त्यसलगत्तै सचिव झाले मन्त्रालयमा धर्ना दिए। पत्रकार सम्मेलन पनि त्यहीँ गरे। सचिव झाले मन्त्रीमाथि कारवाहीको माग गरे।

लगत्तै सचिव झालाई प्रहरीले नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालय धनुषा लग्यो- जिल्ला प्रहरीमा सोधपुछपछि उनलाई तत्कालै रिहा गरियो।

त्यसपछि सचिव झा जनकपुर अञ्चल अस्पताल पुगे। त्यहाँ आफ्नो जाँच गराए। त्यहाँ उपचार चित्त नबुझेको भन्दै उनी अहिले निजी अस्पतालमा उपचाररत छन्।

‘अञ्चल अस्पतालमा ट्रिटमेन्ट राम्रो नभएजस्तो लाग्यो। त्यही भएर साँझबाट केयर मेडिकल सेन्टरमा उपचार गराउँदै छु,’ पहिलोपोस्टसँग सचिव झाले भने, ‘डाक्टरले केही पेनकिलर पनि दिएको छ।’

सोमबार सचिव झा मन्त्रालयमा उपस्थित भएनन्। अहिले उनी केयर मेडिकलमा उपचाररत छन्।

यसरी भयो घटना

सचिव झाका अनुसार गरिबी निवारणका लागि उद्यम कार्यक्रम अन्तर्गत गैरसरकारी संस्थाहरुको छनोटमा प्रदेश अर्थमन्त्री यादवले सिफारिस गरेको गैरसरकारी संस्था नपरेकाले कुटपिट गरेका हुन्।

सचिव झाका अनुसार मन्त्री यादवले 'सहकार्य नेपाल गोलबजार सिरहा'को नाम सिफारिस गरेका थिए। उक्त संस्था छनोटमा परेको छैन।

तर, मन्त्री यादवले भने उनको आरोपलाई खण्डन गरेका छन्। मन्त्री यादवले पहिलोपोस्टसँग भने, ‘मैले कुन एनजीओलाई कहिले सिफारिस गरें? त्यो प्रमाण आउनु पर्‍यो। मेरो चरित्रहत्या गरिदिने?’

मन्त्री यादवका अनुसार शनिबार साँझ सचिव झाले मन्त्री यादवलाई एक एसएमएस गरेका छन्। जसमा सचिव झाले केही कुरामा मन्त्री यादवसँग माफीसमेत मागेको दाबी गरे।

‘मैले कुनै दबाव दिएको छैन। बरु मलाई बारम्बार फोन गर्नु भएको छ,’ मन्त्री यादवले भने, ‘त्यो म्यासेज पनि उहाँले गर्नुभएको हो।’

एनजीओ फण्डा

केन्द्र सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गतको गरीबी निवारण कार्यक्रमको योजना सञ्चालनका लागि एनजीओहरुको छनौट हुँदैछ, प्रदेश २ मा।

एनजीओ छनौटका लागि सूचना निकाल्दा पनि सचिव झाले 'क्राइटएरिया' निर्धारण गर्दासमेत विवाद भएको थियो। प्रदेश २ का स्थानीय गैरसरकारी संस्था छनोट हुन नसक्ने र काठमाडौंका एनजीओले योजना पाउने खालको क्राइटेरिया बनाएको भन्दै सचिव झामाथि उनकै मन्त्रालयका अधिकारीहरुले आक्रोश व्यक्त गरेका थिए। प्रदेशमा काम गर्न प्रदेशकै एनजीओ हुनु पर्ने उनीहरुको दाबी थियो।

तर, पनि सचिव झाले उक्त 'क्राइटएरिया'कै आधारमा सूचना जारी गरे र करिब दुई सय एनजीओले फारम भरे। जसमध्ये ४० वटा एनजीओको पहिलो चरणमा छनोट गरिएको छ।

छनोटमा परेका ४० एनजीओमध्ये १८ वटा भन्दा बढी एनजीओ प्रदेश २ बाहिरको छ। एनजीओ छनौटको विज्ञापन गर्न स्थानीय पत्रिका जनकपुर टुडेमा पठाइसकिएको थियो। तर, उक्त एनजीओ प्रदेश २ को नभएकोले पुनः छलफल गर्ने भन्दै सरोकारवाला वनमन्त्री रामनरेश यादवले विज्ञापन रोक्न लगाए।

तर पछि २६ गते विज्ञापन प्रकाशित भयो।

वन मन्त्रालयमा परेको उजुरीमा सचिव झाले आफू निकट काठमाडौंका एनजीओ र केही आफन्तको एनजीओलाई मिल्ने गरी क्राइटेएरिया निर्धारण गरेको र उनीहरुलाई छनोट गरेको उल्लेख गरिएको छ।

प्रदेश २ का एक जना मन्त्रीकै छोराको एनजीओ पनि छनौटमा परेको छैन। अन्य, कयौं सांसदहले सिफारिस गरेको एनजीओहरु पनि परेनन्।

 

तर, मुख्यमन्त्रीको स्वकीय सचिवालयले सिफारिस गरेको केही एनजीओहरु परेका छन्।

 

घटना पछि के भयो?

मन्त्री यादवसँग विवाद भएलगतै बाहिर निस्केका सचिव झाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय नेताहरुलाई फोन गरेर आफूलाई मन्त्री यादवले कुटेकाले तत्कालै कारवाही गर्नुपर्ने माग गरे।

 

घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् शनिबार साँझ सचिव झा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेट्न मुख्यमन्त्री निवास पुगेका थिए। आफ्नो विभागीय मन्त्री रामनरेश राय यादव केही दिनदेखि मन्त्रालय आउन नसकेको र निवासमा पनि नभएकाले सचिव झाले उक्त कार्यक्रमका विषयमा मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए।

 

सचिव झाले शनिबार आफू मुख्यमन्त्रीलाई भेट्न गएको स्वीकार गरे। आफ्नो बसाई पनि चुरोट कारखाना नजिकै भएकाले भेट्न पुगेको बताए।

 

‘मुख्यमन्त्रीको पीए जितेन्द्रजीले फोन गरेर मुख्यमन्त्रीजीले भेट्न खोज्नु भएको बताउनु भयो। त्यही भएर बिदाको दिन भए पनि म साँझ मुख्यमन्त्रीको निवास पुगेको थिएँ। सुरक्षाकर्मीले मुख्यमन्त्रीजी बाहिर गएको जानकारी दिनु भयो। अनि म फर्केँ,’ उनले भने।

 

कसरी भयो कुटपिट?

सचिव झाका अनुसार मन्त्री यादवले वन मन्त्रालयमा आफ्ना मान्छे पठाएर अर्थ मन्त्रालय बोलाएका थिए। एनजीओकै विषयमा छलफल गर्न आफूलाई बोलाएको उनको दाबी छ।

अर्थमन्त्रीले बोलाएपछि सचिव झा केही समयमै अर्थमन्त्रीको कार्यकक्ष पुगे।

एउटा कार्यक्रमबाट फर्केर सभामुख सरोज यादव, केही सांसद र केही पत्रकारहरु अर्थमन्त्री यादवको कार्यकक्षमा बसेका थिए। उनीहरु चिया खाँदै थिए।

सचिव झा पनि मन्त्रीको कार्यकक्षमा प्रवेश गरे। र, सभामुखकै छेउमा बसे। सचिव झालाई पनि चिया दिइयो।

 

सचिवको बसाई अर्मादित देखिएको भन्दै मन्त्री यादवले एकछिन बाहिर बस्न सचिव झालाई आग्रह गरे। सचिव झाले चिया बोकेरै मन्त्रीको सचिवालय भएको कोठामा पुगेका थिए। त्यहाँ उनले दुई जना व्यक्तिसँग कुरा गरे।

त्यसपछि पुनः सचिव झा आएर मन्त्री नजिकैको कुर्सीमा बसे।

 

मन्त्रीको कार्यकक्षमा उपस्थित राजपाका सांसद उपेन्द्र महतो भन्छन्, ‘सचिवज्यू मर्यादित देखिनु भएन। मन्त्री, सभामुख र अरु साथीबीच कुराकानी भइरहँदा सचिवज्यूलाई बाहिर पठाउनु भएको थियो। तर उहाँ पुनः आएर अशोभनीय तरिकाले मन्त्रीको छेउमा बस्नुभयो।’

 

महतोका अनुसार मन्त्री यादवले सचिव झालाई पुनः बाहिर जान भनेका थिए। त्यसपछि सचिव झाले आफूसँग रहेको फाइल–डायरी मन्त्रीको टेबुलमा फाल्दै आक्रोशित भएको महतोले बताए।

 

मन्त्री र सचिव नजिकै भएकाले हात हालाहालको स्थिति भएको महतोको भनाई छ।

 

सभामुख सरोज यादवले कुटाकुट भएको कुरा कुरा अस्वीकार गर्दै हात हालाहाल सम्मको स्थिति भएपछि आफूहरुले दुवैलाई शान्त गराएको बताए।

तर, सचिव झाले मन्त्री यादवले आफूलाई नजिक बोलाएर थप्पड हानेको र ढाडमा एक लाती हानेर निकालेको दाबी गरेका छन्।

 

छानविन समिति गठन

घटना बाहिर आएलगत्तै मुख्यमन्त्री राउतले सक्रियता देखाए। मुख्यमन्त्रीले आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्व छानविन समिति गठन गरे। समितिले सातदिन भित्र प्रतिवेदन बुझाउने छ।

 

मुख्यमन्त्रीले छानविन समिति गठन गरिरहँदा कर्मचारीहरुले प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्। सोमबार मुख्यमन्त्री राउतले मन्त्रालयका सचिव र उपसचिवहरुसँग छलफल गरेका छन्।

यता कर्मचारीसँग सम्बन्धीत विभिन्न संगठनले मन्त्रीलाई कारवाहीका लागि २४ घण्टे अल्टिमेटम दिएको छ।

 

छलफलमा मुख्यमन्त्री राउतले दोषीलाई कारवाही गर्ने जानकारी दिँदै कर्मचारीहरुलाई मनोवल नगिराउन आग्रह गरेका हुन्।

 

समाजिक सञ्जालमा जात विवाद

मन्त्री यादव र सचिव झाबीचको विवादबारे समाजिक सञ्जालमा निकै बहस भइरहेको छ। यस घटनामा जातीय हिसाबले विवाद बढ्दै गएको देखिन्छ।

 

तर, जनकपुरका स्थानीय पत्रकार पनि विभाजित छन्। जनकपुरका अधिकांश पत्रकारहरुले लेखेको समाचार एकतर्फी भएको भन्दै समाजिक सञ्जाल तातेको छ।

 

यसैबीच सचिवलाई केन्द्र फिर्ता पठाउने तयारी भइरहेको छ।

यसअघि यदुवंश झा केन्द्र सरकारको वनमन्त्री हुँदा पनि उनी कुटिएका थिए। त्यतिबेला उनी महोत्तरीमा डीएफओ थिए। स्थानीयले सचिव झालाई कालोमोसो पनि दलेका थिए। त्यसैगरी यसअघि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासँग पनि सचिव झाको विवाद भएपछि फिर्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell