PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुद्धिसागरको 'गैंडा टाइम्स' अब नाटकमा, गैँडाको संघर्ष झापाको मञ्चमा उतारिँदै



स्वेच्छा राउत

बुद्धिसागरको 'गैंडा टाइम्स' अब नाटकमा, गैँडाको संघर्ष झापाको मञ्चमा उतारिँदै

प्रिय काठमाण्डू, 

म ठस्स गनाउँदै पाको खाग खोज्न काठमान्डु आएको थिएँ। तर, शहरको रमझममा मैले पाको खाग र जंगलको सौन्दर्य बिर्सिएँ। पसिनाजीवी स्वयम् खागतस्कर रहेछन्। जंगलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रै’छ। पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रै’नछ। मलाई लाग्थ्यो - इमान भनेको मान्छेको मुकुट हो। तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रै’छ। 

असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठीक लाग्यो। 

गुडबाइ काठमाण्डु। 


साहित्यकार बुद्धिसागरको कथा 'गैंडा टाइम्स' गैंडाले काठमाण्डुलाई लेखेको त्यही चिठ्ठीमा पुगेर टुंगिन्छ। कथा टुंगिनुअघि गैंडा काठमाडौं गएको हुन्छ। आफ्नो बुबाको तस्करी भएको अंग खोज्न। तर, ऊ काठमाण्डुमा अल्मलिन्छ। खाग खोज्न गएको ऊ रित्तो हात र भारी मन लिएर फर्कन्छ। 

अखबारमा लेखिएको करिब ६ वर्षपछि यो कथामा नाटक बन्ने भएको छ। नाटकलाई सिजन दाहालले निर्देशन गर्दैछन्। केही समय अघिसम्म काठमाडौंमा नाटक, फिल्मको कथा लेखनमा व्यस्त उनी नाटककै लागि दमक पुगेका छन्। 

दमकमा बन्दै गरेको रेडक्रस भवनको छतमा रिहर्सल हुँदैछ। किनकि दमकमा नाटकघर छैन। खाली ठाउँ जहाँ भेटिन्छ त्यहाँ नाटकको काम गर्नुपर्ने बाध्यता छ। 

'कहिले बन्दै गरेको भवनमा त कहिले पार्टी प्यालेसमा रिहर्सल गर्दैछौं,' तयारीबारे सिजन सुनाउँछन्,'यसरी ठाउँ खोज्दै काम गर्न गाह्रो छ। तर, मजा पनि उत्तिकै। आफूले चाहेको काम हुँदैछ। गैंडा टाइम्समाथि नाटक बन्दै छ।' 

***

दमकका सिजन विराटनगरको गुरुकुल नाटकघर पुगेर नाटक हेर्न थालेपछि रङ्गमञ्चतर्फ आकर्षित भए। 

'स्कूलमा पनि नाटक बनाउँथ्यौं। नाटकघर पुगेपछि लाग्यो, यहाँको नाटक त फरक हुने रहेछ,' सिजनले भने,'त्यसपछि मलाई गुरुकुलमा जस्तै नाटक गर्न मन लाग्यो।' 

२०७० मा काठमाडौं आए, नाटक सिक्न। सिकेर झापा फर्कने र नाटक मञ्चन र रङ्गमञ्च निर्माण लागि काम गर्ने उद्देश्य लिएर। मण्डला थिएटरको चौथो ब्याचमा भर्ना पनि भए। 

'नाटक हेर्दा र सोच्दा जस्तो सजिलो कहाँ रहेछ र? ', उनी सुनाउँछन्,'सिक्दासिक्दै दुई वर्ष बित्यो। यहाँ कामहरु पनि राम्रै हुँदै गए। म काठमाडौंमै अल्झिएँ।' 

उनी झापा फर्कने योजना बनाउँदै थिए। २०७२ सालमा भूकम्प गयो। भूकम्पको असर अनि त्यसको परकम्प, डरले धेरैलाई काठमाडौंबाट आफ्नै गाउँ, शहर पुर्यापयो। उनको भने दमक फर्कने योजना नै पर सारिदियो। गैर सरकारी एवं विभिन्न संस्थाहरुमार्फत् नाटक लेखन तथा निर्देशन सम्बन्धी कामहरु आउन थाले उनलाई। 

'प्रोजेक्टहरु सिकाई र कमाई दुवै हुन्। पैसा पनि हुने र लेखनमा सुधार गर्ने अवसर पनि। त्यसपछि झन् यतै यतै भएँ हौ,' उनी हाँस्दै सुनाउँछन्,'राम्रो मौकाबाट किन टाढिनु भनेर।' 

त्यसयता उनी नाटक लेखन, अभिनय र निर्देशनमा साथै फिल्म लेखनमा पनि सक्रिय रहे। राजन खतिवडासँग उनको संयुक्त लेखन रहेको नाटक 'आधा सत्य' किताबको रुपमा पनि सार्वजनिक भयो। 

गत भदौमा पोखरामा 'प्ले मेकिङ वर्कसप' भएको थियो। उनी पनि सहभागी भए। त्यताबाट फर्किए लगत्तै सिजनलाई नयाँ नाटक निर्देशनको हुटहुटीले छोयो। यसअघि प्रेमकथामा आधारित नाटक 'को १ छ छ १ छ', सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य गर्ने नाटक 'क्लब सेभेन' लेखेका उनलाई यसपटक आफ्नो अनुभव नाटकमा उतार्न मन थियो। जसका लागि धेरै कथा पढे। आफै लेख्ने बारे पनि सोचे। त्यस्तैमा सम्झिए- बुद्धिसागर लिखित कथा 'गैंडा टाइम्स'।

कथा उनले एक वर्षअघि पढेका थिए। कवि नविन प्राचिनले उनलाई कथा सुझाएका थिए। 

'मैले पढेँ, दामी लाग्यो,' उनले सुनाए,'दिल दिमाग छोएको त्यही कथा मैले चाहेजस्तो नाटक गर्न काम लाग्ने भयो।' 

सिजन बताउँछन्, उनलाई बुबाको खाग खोजेर निकुञ्ज फर्कने उद्देश्य लिएको गैंडा र रङ्गमञ्च बुझेर दमक फर्कने उद्देश्य लिएको आफू उस्तै लाग्यो। दुवैको अवस्था उस्तै- काठमाडौंमा अल्मलिएको। 

'त्यसमाथि गैंडा टाइम्स संदेशसहितको बलियो कथा हो। यसले जनावर अधिकारको विषय उठान त गर्छ नै सँगसँगै मानव प्रवृत्तिमाथि व्यङ्ग्य पनि छ,' उनी नाटकका लागि कथा चयनको कारण सुनाउँछन्।

*** 

मण्डलामा नाटक सिक्न थाल्दाको पहिलो दिन उनी अझै सम्झन्छन्। दयाहाङ राईले भनेका थिए- 'संसार एकातिर छ भने तिमी अर्कोतिर रहेर दुनियाँलाई ढाँट्न सक्छौ। तर आफूले आफूलाई ढाँट्न सक्दैनौ। आफैलाई ढाट्नु चाहिं इमान्दार नहुनु हो। आफैसँग इमान्दार नहुने मान्छे कुनै काममा पनि इमान्दार हुन सक्दैन।'

'उहाँको यो कुरा म कहिल्यै बिर्सन्न। आत्मसात् गर्ने कोसिस पनि सधैं रहन्छ। इमान्दारिताको वकालत मैले गैंडा टाइम्समा पनि पाएँ,' उनले सुनाए।

कथामा खागलाई गैंडाको मुकुट मानिएको छ। जुन खाग तस्करी भएपछि पा गैंडाको इमान बाँकी रहँदैन। ऊ मुखिया भइरहन अयोग्य ठहरिन्छ। कथामा नै गैंडाले इमानलाई मान्छेको संज्ञा दिन्छ। जुन इमान उसले काठमाडौंमा भेटिएका मान्छेमा पाउँदैन। र, निराश भएर फर्कन्छ। 

'एउटा कथामा धेरैवटा गम्भीर विषयको उठान गरिनु नै नाटक बनाउनुको मुख्य कारण हो,' सिजनले सुनाए। 

उनले कथाको नाट्य रुपान्तरणका लागि कथाकार बुद्धिसागरसँग अनुमति लिए। बुद्धिसागर पनि सकारात्मक सुनिए। 

कलाकार प्रवीण खतिवडा र सिजन दाहाल मिलेर कथाको नाट्य रुपान्तरण गरे। 

'उहाँहरुले नाटकको लागि तयार पार्नु भएको स्क्रिप्ट पढेँ। परिवेश र अवस्था मिल्दो बनाउन केही कुरा परिवर्तन गर्नुभएको छ। मलाई मन पर्‍यो', आफ्नो कथा नाटक बन्ने बारे लेखक बुद्धिसागर बोल्छन्।

उनले नाटकको लागि आफू उत्साहित रहेको सुनाए। भने, 'बर्दिया राष्ट्रिय निकुञ्जमा आर्मीले चलाएको गोली लागि घाँस काट्न गएका युवतीहरुको मृत्यु भयो। खागका लागि गैंडा तस्करीको खबरहरु पनि आइरहन्थे। त्यही बेलामा लेखेको कथा हो। उहाँहरुले नाटकको लागि मन पराउनु भयो।'

निर्देशक दाहाल उत्साहित छन् नाटक मञ्चनका लागि। उनीसँगै १५ जनाको टिम तयार छ माघ १० गतेदेखि गैंडा टाइम्सले दिएको चरित्र बाँच्न। टोली हर कोसिस गर्दैछ फेब्रुअरी २५ देखि काठमाडौंमा हुने ’नेपाल इन्टरनेशनल थिएटर फेस्टिभल’मा मञ्चनका लागि चयन हुन।

कलाकारहरु कसैको बिहान कलेज कसैको दिउँसो स्कूल। त्यसैले रातको समय सदुपयोग गरेका छन्।

‘उत्साह र डर मिसिएको छ’, निर्देशक भन्छन्।

उनी दमक गए। कथाको गैंडाजस्तो निराशा बोकेर पक्कै होइन। तर, जुन जोस लिएर गए त्यसले मात्र पुग्नेवाला पक्कै छैन। चुनौती प्रशस्त छन्। छतमा तयारी गर्नु बाहेकका।

कलाकार धेरै पहिलोपटक अभिनय गर्दैछन्। उनीहरुमार्फत आफूले चाहे जसरी कथा देखाउनु उनको पहिलो चुनौती हो। ‘उहाँहरुमाथि विश्वास छ। तर ढुक्क बस्न सक्दिन किनकि टिमवर्क हो। एउटा पक्ष खस्किदा अर्कोलाई असर गर्छ।’ 

गैंडा काठमाडौंमा भौतारिएजस्तै सिजन दमकमा भौतारिंदै छन्। अप्ठ्याराहरुको सामना गर्न। नाटक सामान्य हलमा मञ्चन गराउनु छ। जहाँ आवश्यक बत्तीहरु सेट गर्नु कठिन काम हो। सेट त जसोतसो होला। सामान नै पाउन नसकिने डर अर्कोतिर। भन्छन्,’यी अप्ठ्याराहरुले पनि सिकाउँदैछन्। म सिक्दैछु।’ 

प्रप्स र कस्ट्युमको तयारीका लागि अनुभवी मान्छे छैनन्। सेट डिजाइनिङ अर्को महत्वपूर्ण काम बाँकी छ। ‘समय र पैसा काठमाडौंमा भन्दा दुई गुणा बढी चाहिन्छ। त्यो कुरा छँदैछ। दमकमा नाटक गर्दैछु भन्ने सोच्दाको खुशी बेग्लै।’ 

झापाको लागि नाटक नौलो विषय होइन। काँकरभिट्टामा परिवर्तन थिएटरको आफ्नै हल छ। दमकबाट ५३ किलोमिटर टाढा। जहाँ नाटक भइरहन्छन्। दमकमा नाटकघर नहुनुको कारण दर्शक धेरै नभएको कथन छ दाहालको।

चिन्ता व्यक्त गर्छन्,’नाटक त देखाउने तर कसले हेर्ने?’ 

उनी आफै बुकिङ सोका लागि स्कूल, कलेज र विभिन्न संस्थाहरु धाई रहेका छन्।

*** 

कथामा गैंडाको संघर्ष र यथार्थमा सिजन लगायतको टिमको संघर्ष, एकसाथ मञ्चमा देखिदैछ। कदम थिएटरले दमकमा चालेको यो कदम काठमाडौंसम्म आइपुग्ने प्रयास हुँदैछ।थिएटरले गत वर्ष नै उपेन्द्र सुब्बाको कथा ‘मरिचेको चुप्पी दमकमा ५ दिन मञ्चन गर्यो। यो पटक अलि बढी गर्नु छ। ईलाममा भएको राष्ट्रिय नाटक महोत्सवमा सहभागी भयो, यो पटक अन्तर्राष्ट्रिय महोत्सवमा आउनु छ।

‘गैंडा टाइम्स’ माघ १० गते देखि १४ गतेसम्म नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभा हलमा नियमित मञ्चन हुनेछ। नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा “खुशी”, विकास राना, किरण भेटवाल, दिवेश लामिछाने, दिपक खरेल, सुवास खरेल, प्रवीण मगर, याङसाङ मुकारुङको अभिनय रहनेछ।

नाटकमा प्रयोग हुने प्रत्यक्ष संगीतमा सुजन भण्डारी, याङसाङ मुकारुङ, दिवेश लामिछानेले काम गर्दैछन्। जसका लागि गीत संयोग गुरागाँईले लेखेका हुन्।

सम्बन्धित लिङ्क
बुद्धिसागरको गैँडा टाइम्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell