अमितलाई स्वाइन फ्लू
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू भएको छ।
शाहले ट्वीट गर्दै आफूलाई स्वाइन फ्लु भएको जानकारी दिएका हुन्। यस्तै सबैको प्रेम र शुभकामनाबाट आफू छिट्टै स्वस्थ हुने शाहले ट्वीटमार्फत विश्वास व्यक्त गरेका छन्।
मुझे स्वाइन फ्लू हुआ है, जिसका उपचार चल रहा है। ईश्वर की कृपा, आप सभी के प्रेम और शुभकामनाओं से शीघ्र ही स्वस्थ हो जाऊंगा।
— Amit Shah (@AmitShah) January 16, 2019
शाहको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा उपचार भइरहेको भारतीय संचार माध्यमहरुले जनाएको छ। शाहको स्वास्थबारे थप जानकारी सार्वजनिक गरिएको छैन।
भारतीय नेता तथा भाजपा कार्यकर्ताहरुले शाहको स्वास्थ्य लाभको कामना गरेका छन्।
बच्चा हेर्न बिदा
आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलिया सरकारले बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ। विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले बालबालिकाको हेरचाह गर्न उनीहरुलाई पाँच दिने तलबी बिदा व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्।
सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो। सरकारले निजी तथा सार्वजनिक संस्थाहरु तथा कम्पनीहरुलाई पनि त्यस्ता बालबालिका भएका कर्मचारीहरुलाई बिदा दिन पनि आह्वान गरेको छ।
केन्या आक्रमण
केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ । यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह् अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो। आतङ्ककारी समूहले करीब २० घण्टा सो होटेल परिसर कब्जामा लिएका जनाइएको छ।
सिरियामा आक्रमण
सिरियाको उत्तरी शहर मन्बीजमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरीआक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार घटना भएको सो ठाउँ कुर्दिसहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ। सो ठाउँ एलेप्पो प्रदेशमा पर्दछ। घटानाका बारेमा पूर्ण विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्।