PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बुद्ध एयरले वैशाखदेखि कोलकाता उडान गर्ने



पहिलोपोस्ट

बुद्ध एयरले वैशाखदेखि कोलकाता उडान गर्ने

काठमाडौँः निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ।

पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकाता साताको तीन पटक उडान भर्ने कम्पनीले जनाएको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पर्यटकलाई लक्षित गरी कोलकाता उडान सुरु गर्न लागिएको बताए।

उनका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ– कोलकाता उडान गरिनेछ। यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ। यसअघि बुद्धले भारतको वराणसीमा उडान भर्दै आएको छ।

बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ। हाल साताको करिब ८०० उडान गर्दै आएको बुद्धले कोलकातामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले बताए।

कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एसियाका विभिन्न गन्तव्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ। तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ।

पर्यटन प्रवद्र्धनार्थ केन्द्रित हुने कोलकाता उडान सफल भएमा भारतकै अन्य गन्तव्यमा पनि बुद्धले आफ्नो सेवा पुर्यालउने जनाएको छ। बुद्ध एयरका नौ वटा एटीआर विमान पुगेका छन्। यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन्। बुद्धसँग दुई विचक्राफ्ट विमान पनि छन्।

बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले गत असार १५ गतेदेखि भारतको बराणसी सिधा उडान सुरु गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell