PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कसरी मर्‍यो चन्द्रमामा उम्रेको कपासको विरुवा? 



पहिलोपोस्ट

कसरी मर्‍यो चन्द्रमामा उम्रेको कपासको विरुवा? 

चन्द्रमामा कपासको बीउबाट उम्रिएको विरुवा मरेको छ। 

चीनको अन्तरिक्ष मिसन 'चाङ इ ४' ले पृथ्वीबाट चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर त्यसमा पालुवा पलाउन थालेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मंगलबार जनाएको थियो।

उम्रिएका बीउहरुलाई यानमै एक सिसाको भाँडोमा राखिएको थियो। तर, राति उक्त पालुवाहरुले घटेको तापक्रम सहन नसकेर मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्। 

बन्द भाँडोमा पालुवाहरुलाई जिउँदो बनाइराख्न दिइरहेको बिजुली काट्न वैज्ञानिकहरु बाध्य भएसँगै उक्त पालुवाहरु मरेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।  

यानमा रहेको सोलार सेलको ब्याट्रीले चन्द्रमाको तापक्रमलाई नियन्त्रणमा राख्न नसकेको बताइएको छ। 

'चाङ इ ४' को तौलको सीमाका कारण हामीले ब्याट्रीलाई चन्द्रमामा ल्याउन सकेनौं। तापक्रमलाई नियन्त्रण नगरी मानव वा बिरुवा कोही पनि बाँच्न सक्दैन,' उक्त प्रयोगका निर्देशक लुइ हानलोङले बताए। 

यद्यपि, बिरुवालाई ब्याट्रीबाट मात्रै जिउँदो बनाउन सक्ने भएकाले अतिरिक्त ब्याट्री किन लगिएन भन्नेबारे चाहिँ केही बताइएको छैन। 
अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा पहिले पनि बिरुवा उमारिएका थिए। तर, चन्द्रमामा कुनै प्रकारको जैविक पदार्थ उत्पादन भएको यो पहिलो घटना थियो। 

जनवरी ३ मा चन्द्रमामा अवतरण भएको 'चाङ इ ४' पृथ्वीबाट नदेखिने भागमा अवतरण गर्ने पहिलो यान समेत हो।

बिरुवा उम्रिएपछि चन्द्रमाका विषयमा अध्ययन गर्न र अन्तरिक्ष अन्वेषणमा सहयोग हुने अनुमान गरिएको थियो। वैज्ञानिकहरुले चन्द्रमामा नै बिरुवाहरु उमार्न सक्ने अवस्थाको विकाससँगै लामो दुरीका अन्तरिक्ष यात्राहरु र साढे दुई वर्ष लाग्ने मंगल ग्रहको यात्राका लागि महत्वपूर्ण हुने अनुमान गरेका थिए।

अन्तरिक्षयात्रीहरु खाद्यान्न सकिएको खण्डमा पृथ्वी फर्कने पर्ने अवस्थालाई चन्द्रमामा भएको यो विकासले कम गर्ने अनुमान गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell