PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, मुख्यमन्त्रीले शहीद परिवारलाई रोजगारी र घाइतेलाई सहयोग घोषणा गर्ने



राधेश्याम पटेल

प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, मुख्यमन्त्रीले शहीद परिवारलाई रोजगारी र घाइतेलाई सहयोग घोषणा गर्ने

वीरगंज: प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै छ। पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा यो दिवस माघ ५ गते मनाउने गरिन्छ। २०६३ साल माघ ५ गते विद्यार्थी रमेश महतोको हत्या भएको दिन मधेशमा बलिदानी दिवस मनाउने परम्पराअनुसार प्रदेश सरकारले यो दिवस मनाउन लागेको जनाएको छ।

आज शनिवार परेपनि प्रदेश सरकार सार्वजनिक बिदा घोषणा गरी सिराहाको लहानमा वृहत् कार्यक्रम गरी बलिदानी दिवस मनाइरहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए।

सिराहाको लहानमा महतोको हत्या भएपछि पहिलो मधेश आन्दोलन उग्र बनेको थियो। १९ दिनसम्म चलेको पहिलो मधेश आन्दोलनमा मुलुकभरमा गरी ५६ जना शहीद भएका थिए भने ७३ जना गम्भीर घाइते भएको उनले बताए। तर प्रदेश सरकारले ५६ जना शहीदहरुको नाम सङ्कलन गरी शहीद परिवारलाई रोजगारी तथा आर्थिक सहयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ।

शहीद परिवारलाई जागिर दिने पूर्व प्रतिबद्धता अनुरूप बलिदानी दिवसको अवसरमा विशेष प्याकेजअनुसार एक शहीद परिवार एक रोजगारी तथा घाइते ७३ जनालाई शारीरिक अवस्था हेरी रु २५ हजार देखि ३ लाख सम्म नगद सहयोगको घोषणा स्वयम् मुख्यमन्त्री राउतले गर्न लागेको उनले बताए। प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत बनेपछि फागुन ३ गते बसेको पहिलो मन्त्रिपरिषद्को बैठकमा मधेस आन्दोलनका शहीदका परिवार तथा घाइतेलाई आवश्यक क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

तेस्रो  मधेश आन्दोलनसम्ममा प्रदेश २ का अनुसार ५६ जना सहिद भएकोमा दुईजनाको नाम सङ्घीय सरकारले शहीदका रूपमा उल्लेख गरेको छैन। प्रदेश सरकारले भने उनीहरूको नाम पनि आफ्नो सूचीमा राखेको छ।

संविधान घोषणा भएपछि एक युवकले असुन्तुष्टि जनाउँदै महोत्तरीमा झुन्डिएर आत्महत्या गरेका थिए भने सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक महिलाको किचिएर मृत्यु भएको थियो। प्रदेश सरकारले ती दुबैलाई शहीदको सूचीमा राखेको हो। यी दुईजनालाईसमेत शहीद मान्दै उनीहरूको परिवारलाई रोजगारी दिने तयारी गरेको छ।

सहिदका सबैभन्दा नजिकका आफन्तको पहिचान गरी उनीहरूको शिक्षा र दक्षताका आधारमा उचित ठाउँमा रोजगारी दिइने जनाइएको छ। शहीद परिवारका सदस्यलाई प्रदेश २ का विभिन्न सरकारी कार्यालयमा जागिर दिइनेछ शहीद परिवारलाई फेला पार्न र उनीहरूका बारेमा जानकारी सङ्कलन गर्न यादवकै नेतृत्वमा पुस ५ गते तीन सदस्यीय समिति गठन गरी तथ्याङ्क सङ्कलन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell