PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण



सागर बुढाथोकी

जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण

काठमाडौं : २०७५ साल साउन ४ गते जुम्ला। डाक्टर गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक। सरकारले डाक्टर केसीलाई बारम्बार काठमाडौँ ल्याउन निर्देशन दिँदासमेत उनी मानेका थिएनन्। उनी भनिरहेका थिए, 'यही मर्छु तर माग पूरा नगरिकन काठमाडौं जान्न।' 

उनी सजिलै काठमाडौं नआउने भएपछि उनको जीवन रक्षाका लागि सरकारले सेनाको हेलिकप्टर पठायो। बिहानको साढे ९ बजे कर्णालीमा हेलिकप्टर ल्याण्ड हुनासाथ त्यहाँ तनाव हुन सुरु भयो।

डाक्टर केसी जुम्ला पुगेदेखि नै तनाव सुरु भइसकेको थियो। अनशनस्थलको लफडादेखि अस्पताल सार्दा प्रहरी धरपकडले गर्दा उनी मिडियामा सुरुदेखि छाइरहेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी तथा त्यहाँका स्थानीयले उनलाई साथ दिइरहेका थिए। हरेक दिन उनको पक्षमा र्याली निस्कन्थ्यो। अस्वस्थ केसीको जीवन रक्षाका लागि सरकारलाई कर्णालीबासीले दबाब दिइरहेका थिए।

हेलिकप्टर पुगे पनि डाक्टर केसी काठमाडौं आउन तयार भएनन्। उनका समर्थक पनि डाक्टर केसीको माग पूरा नगरी लैजान दिन्नौं भन्दै अडिग रहे।

दुवै पक्षको आफ्नै अडानका कारण स्थिति तनावग्रस्त बन्न पुग्यो।

सेना पुगेपछि त्यहाँ धेरै महिला र युवा भेला भए। प्रहरी देखेर मानिसहरू थप आक्रोशित भए। माहोल त्यतिकै तातियो। नाराबाजी सुरू भयो। प्रहरीले अस्पतालभित्र रहेका विद्यार्थीलाई मेन गेट बन्द गरेर थुन्यो। डाक्टर केसीलाई भेट्न पुगेका मूख्यमन्त्री भित्र छिर्न पाएनन्।

बिस्तारै समर्थकहरु आक्रोशित भए। प्रहरी आएर विद्यार्थीहरुलाई लाठी बर्साउन थाले।

प्रहरीले विद्यार्थीलाई कुट्न थालेपछि भागाभाग भयो।  विद्यार्थीहरू धेरै घाइते भएपछि उनीहरू पनि आक्रोशित भए। प्रतिकार गर्न थाले। डेस्क बेन्चले हान्न थाले। घाइते विद्यार्थीहरूलाई टप फ्लोरमा राखिएको थियो। अरू विद्यार्थी लुक्ने ठाउँ खोजिरहेका थिए। त्यतिकैमा प्रहरीले माइकिङ गर्योु, 'हाम्रो जवानको झडपमा परेर मृत्यु भयो।'

तर, त्यो डाक्टर केसीविरुद्धको 'प्रोपागान्डा' थियो, प्रहरीले नै गरेको। उनीहरु जसरी पनि केसीलाई काठमाडौँ ल्याउन चाहन्थे।

किनकि, डिएसपी तपन दहालले डाक्टर केसीलाई लैजान नदिए जे पनि हुन सक्छ भनेर माइकिङ गरेका थिए। अश्रु ग्याँस प्रहार गरिएको थिए। त्यसपछि झनै भागाभाग भयो। त्यतिबेला ३ जना डाक्टर पनि घाइते भए। ५ जना स्थानीयलाई इमर्जेन्सीमा उपचार गरियो। पुलिसले विद्यार्थी छानीछानी लाठी हानेको थियो। त्यसपछि डाक्टर केसीलाई अस्पतालबाट निकालियो। जुम्लाबासीले उनलाई लैजान नदिने अडान राखेका थिए। तर, उनको आग्रह र प्रहरीले ज्यादती गरेपछि जुम्लावासीले उनलाई त्यही राख्न सकेनन्। 

यसरी काठमाडौँ ल्याइएको एक सातापछि अर्थात् अनशनको २७ दिनपछि सरकारले उनीसँग सम्झौता गर्यो। सम्झौता गरेको ४ महिनामा डाक्टर केसी फेरि अनशन बस्न बाध्य भए। 

यी चार महिनाको बीचमा डा केसी चुप बसेनन्। सरकारलाई माग पूरा गर्न घच्घच्याइरहे। प्रम ओलीसँग बालुवाटारमा भेट गरे। भेटमा ओलीले आश्वाशन दिए- 'तपाईँको माग पूरा हुन्छ ढुक्क हुनुस्।'


केसी ढुक्क भए तर ओलीले आश्वाशन पुरा गरेनन्। त्यसपछि आक्रोशित केसीले अनशनको विकल्प देखेनन्। अनशन बस्न पूर्वी पहाडी जिल्ला इलाम पुगे। उनलाई जसरी १५ औं अनशनमा कर्णालीमा स्वागत र समर्थन  भएको थियो, त्यसरी इलाममा भएन। कर्णालीवासीले झै उनको मागलाई इलामवासीले समर्थन गर्न सकेनन्।

१५ औं अनशनमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले डाक्टर केसीको अनशनलाई खुलेर समर्थन गरेका थिए। उनी लगायत उनको पार्टी माइतीघर मण्डलमा डाक्टर केसीलाई समर्थन गर्दै आएको थियो। भट्टराई स्वयम् डाक्टर केसीको पक्षमा भाषण गर्दै हिँडेका थिए। यसपटक उनी मौन छन्। डाक्टर केसीको अनशनको बारेमा उनको बोली सुनिएको छैन।

डाक्टर केसीको अनशनको ५ नम्बर बुँदामा द्वन्द्वकालीन मुद्दा उठाएकाले धेरैलाई मौन बनाएको छ। कम्युनिष्ट किल्ला मानिएको इलाममा यही मागका कारण उनलाई समर्थन जुट्न नसकेको एक थरीको तर्क छ। उनीहरु भन्छन्, 'कर्णालीवासीले त्यत्रो समर्थन गरेका डाक्टर केसीलाई यसपाली इलामवासीले समर्थन गर्न नसक्नु भनेकै द्वन्द्वकालीन मुद्दाले हो।'

तर, अभियन्ताहरु यो तर्कमा सहमति जनाउँदैनन्। 

त्यसो त, १५ औं अनशनको जस्तो अवस्थामा छैनन् अहिले डाक्टर केसी। उनी अनशन बस्नुअघि नै अस्वस्थ थिए। मुटुको बिरामी उनलाई गत मंसिर तीन गते मनमोहन सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको थियो। त्यसयता उनले मुटुको औषधि सेवन गर्दै आएका छन्। चिकित्सकहरुले उनलाई जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै चेतावनी दिइरहेका छन्। २१ दिनसम्म कर्णालीमा टिकेका केसी यसपटक इलाममा १० दिन टिक्न नसक्नुको कारण पनि उनको खस्कँदो स्वास्थ्य अवस्था हो।

आफ्नो स्वास्थ्यको बारेमा जानकार छन् डाक्टर केसी। आफूलाई केही तलमाथि भइदिए अहिलेसम्मको उपलब्धि गुम्नेमा पनि सचेत छन्। त्यसैले उनी यसपाली इलामबाट काठमाडौँ आउदिन भनेर अडान राखेनन्। 

त्रिवि शिक्षण अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरुले भनिरहेका छन्- 'यसपटक पहिलेको जस्तो अवस्था छैन, जे पनि हुनसक्छ।'

डाक्टर केसी पहिलेजस्तो स्वस्थ भएको भए यतिबेला आइसियूमा हुँदैनथे। अर्थात्, यतिबेला इलाममै बसेर भनिरहेका हुन्थे, 'मर्छु बरु माग पूरा नगरी काठमाडौं जान्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell