PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कंगोको राष्ट्रपतिमा विपक्षी नेता शिसेकेडी विजयी भएको अदालतको घोषणा



कंगोको राष्ट्रपतिमा विपक्षी नेता शिसेकेडी विजयी भएको अदालतको घोषणा
फोटो : REUTERS

किन्सासा :  कंगोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ।

उनका प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए।

संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी भएको जनाइएको छ।

अदालतको आदेशसँगै शिसेकेडीले क‍ंगोमा लामो समय शासन गरेका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ।

फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका थिए।

कंगोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको शुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो, तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो।

अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो।

संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ। फायुलुले पुनः मतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाई छ।

न्यायाधीश नोल किलोम्बाले राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको फैसला सुनाएका थिए।

अदालतको आदेश आश्चर्यजनक मानिएको छैन, किनभने अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीहरुले बनेको बताइएको छ।

अदालतको आदेश लगत्तै राजधानी किन्सासा समेत विभिन्न शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसअघि, निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण आगामी मंगलबारका लागि तोकेको थियो।

निर्वाचन आयोगले जनवरी १० मा गरेको घोषणा अनुसार शिसेकेडीले करिब ३९ प्रतिशत र विपक्षी फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell