PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कचहरी नाटकको प्रभाव कस्तो? मोरङमा गरिएको अध्ययनले भन्छ, 'नतिजा सकारात्मक'



कचहरी नाटकको प्रभाव कस्तो? मोरङमा गरिएको अध्ययनले भन्छ, 'नतिजा सकारात्मक'

काठमाडौंः पछिल्लो समय गाउँगाउँमा कचहरी नाटक प्रदर्शनी बढेको छ। मानव वेचबिखनदेखि विभिन्न विषयलाई सचेत पार्नका लागि यस्ता नाटकहरु प्रदर्शनी हुँदै आएको छ।


यस्तो नाटकबाट समुदायमा कस्तो प्रभाव पार्छ त? ‘सकारात्मक प्रभाव पर्ने देखियो’, यसै विषयमा हालै गरेको एक अध्ययनले यस्तो उल्लेख गरेको छ।

लिनियस विश्वविद्यालय स्वीडेन, काठमाडौं मेडिकल कलेज काठमाडौँ र एक्टर्स स्टुडियो काठमाडौंको सहकार्यमा मोरङमा गरिएको यो अध्ययनको गरिएको थियो। अध्ययनको प्रतिवेदनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै ती संस्थाहरुले अध्ययनको मुख्य उद्देश्य लैंगिक हिंसा एवं चेलीबेटी बेचबिखन न्युनीकरण रहेको जनायो। दुई वर्ष लगाएर गरिएको अध्ययनमा २ हजार व्यक्तिहरू सहभागी थिए।

अनुसन्धानको निम्ति नमुनाको रुपमा छानिएका मोरङका १० साविकका गाविसमा नाटक मञ्चन गरिएको एक्टर्स स्टुडियोका देव न्यौपानेले बताए। नाटकको कथावस्तु तयार पार्न पनि सोही स्थानमा भएगरेका महिला हिंसाका विभिन्न घटनाहरूबारे अध्ययन गरिएको थियो। यसरी विभिन्न चरणको छलफलबाट तयार पारिएको नाटकको कथावस्तुमाथि अनुप बरालको निर्देशनमा कचहरी नाटकहरू तयार पारी मञ्चन गरिएको न्यौपानेले जनाए।

नाटक मञ्चन भएका दश गाउँ र मञ्चन नभएका दश गाउँ बीचमा दाँज्ने काम पनि भएको लिनियस विश्वविद्यालयका तर्फबाट अनुसन्धान गरिरहेको प्रणव दाहालले बताए।


दीया मास्के, सुरज मल्ल, मनिष निरौला लगायतका दर्जन बढी कलाकारले अभिनय गरेको यी कचहरी नाटकहरू भवसागर घिमिरेले लेखेका हुन्। प्रारम्भिक अध्ययनमा सहभागी भएकामध्ये लगभग ९४ प्रतिशत मानिसहरू कचहरी नाटक हेरिसकेपछिको थप अनुसन्धानमा सहभागी भएको बताइएको छ।

अध्ययनको प्रारम्भिक नतिजाले लैंगिक विभेद र असमानताका कारणबाट उब्जिएका समस्याहरु जस्तै महिला हिंसा र चेलीबेटी बेचबिखनका समस्याहरुमा कमी ल्याउन कचहरी नाटकको उपयोगिता र प्रभावकारिताका निक्कै महत्वपूर्ण देखिएको दाहाल बताउँछन्। स्थानीय व्यक्तिहरुको लैंगिकताका बहुआयामिक पक्ष जस्तै कानुनी, सामाजिक, सांस्कृतिकसम्बन्धी बुझाईलाई कचहरी नाटकले अझै फराकिलो बनाएको प्रारम्भिक नतिजाले देखाएको छ। तथ्यांकहरुको बिश्लेषण जारी रहेको र केही समयपछि यस अध्ययनको पूर्ण विवरण आउने दाहालले बताए।

कचहरी नाटकमाथि वैज्ञानिक अनुसन्धान बिरलै हुने गरेको र यस्तो नतिजाले आफूहरूलाई उत्साहित पारेको निर्देशक अनुप बरालले बताए। कचहरी नाटकको माध्यमबाट स्थानीय समस्याहरूको बैकल्पिक तर अचुक समाधानहरूबारे स्थानीय मानिसहरूलाई नै सूसुचित गर्न पाइने भएकाले नै यो प्रभावकारी हुने बराल बताउँछन्। ‘यसैले नै यो माध्यम सामाजिक मुद्धाहरूमा छलफलको निम्ति अझ महत्वपूर्ण छ,’ बरालले भने। 

काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा. सुनिल कुमार जोशी अनुसन्धानको प्रारम्भिक नतिजाले निक्कै खुशी बनाएको बताउँछन्। ‘एक त हाम्रा कला तथा संस्कृतीको जगेर्ना पनि हुने अर्को यसले समाजमा सकारात्मक छाप पनि छाड्न सक्ने भएकाले कचहरी नाटकको निक्कै महत्व देखियो, यसको अझै धेरै आवश्यकता छ,’ डा जोशीले भने। 

लिनियस विश्वविद्यालयका प्रा. डा. कट्रिना स्व्हनबर्गले लैंगिक हिंसा र समानताका बिषयहरु नेपालका लागि अत्यन्त महत्वपुर्ण रहेको तर अनुसन्धानको कमीले ठयाक्कै यसै भन्न सकिन अवस्था नरहेको बताउँछिन्। नेपालमा रहेको महिला पुरुष बीचको असमानताका कारणहरूमा सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थाहरू र यसमा सबै समुहको समान पहुँच नहुनु मुख्य रहेको प्रा. डा. स्व्हनबर्ग बताउँछिन्।

काठमाडौंमा हालै भएको लैंगिक हिंसा र चेलीबेटी बेचबिखनबारे एक दिने गोष्ठीमा यो अध्ययनका प्रारम्भिक नतिजाबारे प्रकाश पारिएको थियो। गोष्ठीमा राजशाही विश्व विद्यालय, बंगलादेशका डा. रयाबीउल करीमले बंगलादेशका स्थानीय आदिबासी समुदायमा आधारित महिला विरुद्धका हिंसा रोकथामबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सोहि अवसरमा एक्टर्स स्टुडियोद्वारा कचहरी नाटक, अक्सफाम नेपाल र कम्युनीटी एक्सन सेन्टर नेपालद्वारा लैंगिता सम्बन्धि कार्यपत्र प्रस्तुत गरिएको थियो। गोष्ठीमा एक्टर्स स्टुडियोको कचहरी नाटकसँगै यसबारेमा गरिएको अनुसन्धानको बारेमा तयार पारिएको छोटो बृत्तचित्र समेत देखाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell