PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पेट्रोलियम ठगीमा एसोसिएसनकै कोषाध्यक्ष, मैतीदेवी र चुच्चेपाटीको पम्पमा नापतौलले गर्‍यो शिलबन्दी



पेट्रोलियम ठगीमा एसोसिएसनकै कोषाध्यक्ष, मैतीदेवी र चुच्चेपाटीको पम्पमा नापतौलले गर्‍यो शिलबन्दी

काठमाडौं: गुणस्तर तथा नापतौल विभागले लगाएको सिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा शिलबन्दी गरिएको छ।

विभागका कर्मचारीले यी दुई पम्पमा शिल गरेका हुन्। विभागका अनुसार यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो। यो दुबै पम्पका संचालक चर्तुभुज सरिया हुन्। मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन्। विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको आधारमा विभागले शिलबन्दी लगाएको हो।

सरिया नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष हुन्। एशोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो। पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

विभागले पहिलो पटक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको हो।‘हामीले पहिलो पटक विधि विज्ञान प्रयोगशालामा शिलबन्दी जाँच्न पठाएका थियौं। प्रयोगशालामा नक्कली शिल रहेको जानकारी पाएपछि हामीले कारवाही थालेका हौं’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने,’हामीसँग बलियो प्रमाण हुन आवश्यक थियो। अब हामीले अदालतमा मुद्दा हाल्छौं।’ उनका अनुसार कतिपय मुद्दा बलियो हुँदाहुँदै पनि आवश्यक प्रमाण नहुँदा अदालतबाटै पराजित हुनुपरेको थियो।

‘यो पहिलो मुद्दा हो जसमा हामीसँग बलियो प्रमाण छ। उपभोक्तालाई ठगी गर्नेलाई हामी कारवाही गर्न दृढ छौं।’ पुडासैनीले भने,’गुणस्तर र नापतौलमा ठगी गर्नेलाई कारवाही निरन्तर अघि बढ्छ।’ विभागले पम्पमा हुने ठगी नियन्त्रण गर्न देशब्यापी रुपमा अनुगमन गरिरहेको छ। विभागकै अनुगमनमा दुई महिना अघि सफ्टवेयर जडान गरेर उपभोक्तालाई ठगी गर्ने आधा दर्जन भन्दा बढी पम्पलाई कारवाही गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell