PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२५ पटक सर्जरी गरी हटाएका मुसा फेरि पलाएपछि बंगलादेशका 'ट्रि म्यान' अस्पताल भर्ना



 २५ पटक सर्जरी गरी हटाएका मुसा फेरि पलाएपछि बंगलादेशका 'ट्रि म्यान' अस्पताल भर्ना
फोटो: AFP

बंगलादेशका २८ वर्षे अबुल बजन्दार हाल ढाकास्थित ढाका मेडिकल कलेज हस्पिटलमा उपचारका लागि भर्ना छन्। उनी भर्ना भएयता बंगलादेशमा उनको निकै चर्चा हुन थालेको छ। कारण उनको हात र खुट्टामा पलाएका बाँसका चोयाजस्ता ठूला मुसा। 


२८ वर्षे अबुलाई 'ट्रि म्यान सिन्ड्रोम' भनिने पिडरमोडिस्प्लासिया भेररुसिफोर्मिस नामक अन्यन्त दुर्लभ जेनटिक रोग लागेको बताइएको छ। 
हात र खुट्टामा पलाएका मुसाका कारण अबुल रुख जस्तो देखिने भएकाले उनलाई 'ट्रि म्यान' समेत भन्ने गरिएको छ। उनको शरीरमा देखिएका मुसाहरु हटाउन सन् २०१६ देखि २५ पटक सर्जरी भइसकेको थियो। 


सन् २०१७ मा पनि चिकित्सकहरुले उनको सफल उपचार भएको घोषणा गरेको थियो। तर २०१८ को फेब्रुअरीमा उनको शरीरमा फेरि मुसाहरु देखापरेका थिए।  

चिकित्सकहरुले पुन: शल्यक्रिया गरी उनको हात र खुट्टामा पलाएकाका मुसाहरु हटाउन सफल पनि भएका थिए। केही समयअघि उनको शल्यक्रिया सफल भयो भनेर चिकित्सकहरुले घोषणा समेत गर्ने सोचिरहेका थिए। 


तर मुसाहरु पलाउने क्रम फेरि बढेकाले आफूलाई लागेको रोग निको नहुने देखेर मे २०१८ मा अबुल अस्पताललाई कुनै सूचना नदिइ आफ्नो गाउँ भागेका थिए। 


आइतवार अबुल फेरि अस्पताल भर्ना भएका छन्। अस्पतालबाट भागेका उनको अवस्था पहिलाभन्दा बिग्रिदै गएपछि उनलाई पुन: अस्पताल भर्ना गरिएको हो। 


केही समयअघि उनका हात र खुट्टाबाट हटाइएका मुसाहरु धेरै संख्यामा पुन: देखापरेका छन्। 


'अस्पतालबाट भागेर मैले गल्ती गरे। मैले उपचारका लागि अर्को उपायहरु खोजे तर कुनै भेटिएन। मैले यही बसेर उपचार गर्नुपर्ने रहेछ भनेर अहिले बुझैं' उनले भने। अबुल मुसाका कारण हुने पीडाले राती सुत्न नसकेको बताउँछन्।


अस्पतालका प्लास्टिक सर्जन सामन्तलाल सेनका अनुसार हाल र खुट्टामा मात्रै देखिएका मुसाहरु अबुलको शरीरका अन्य भागमा समेत देखिन थालेकाले छिट्टै उनको उपचार पुन: सुरु गरिने बताएका छन्। 


सेनले अबुलको उपचार फेरि पहिलो चरणबाटै गर्नुपर्ने बताएका छन्। सेनका अनुसार विश्वमा करिब आधा दर्जन मानिसमा यो रोग रहेको छ। 
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बजन्दारको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने वाचा गरेको बताइएको छ। 


'ट्रि म्यान सिन्ड्रोम' बाटै ग्रस्त रहेकी एक युवतीको पनि सोही अस्पतालमा सन् २०१७ मा उपचार भएको थियो। 


चिकित्सकहरुले उनको शल्यक्रिया सफल भएको घोषणा गरेका थिए। यद्यपि युवतीका बुवाले भने पछि उनको शरीरमा फेरि छालाहरु धेरै संख्यामा देखापरेको थियो। त्यसपछि युवतीका परिवारले उपचार बीचमै रोकी आफ्नो गाउँ फर्केका थिए।   


पहिलो चरणको उपचारका क्रममा उनी दुई वर्ष अस्पतालको महंगो क्याबिनमा श्रीमती र छोरीसँग बसेका थिए। 


अबुल यसपटक आफूलाई लागेको रोगको सफल उपचार हुनेमा विश्वस्त छन्। भन्छन्' म मेरी आमा अमेना बेगमसँग आएको छु। यसपटक निको हुने आशा लिएको छु।' 

अबुलले आफ्नो लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell