PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कसरी फुक्ला संसदमा गाँठो? देव गुरुङको प्रश्न : ‘बलिको बोका’ कि सत्याग्रही? 



बीपी साह

कसरी फुक्ला संसदमा गाँठो? देव गुरुङको प्रश्न : ‘बलिको बोका’ कि सत्याग्रही? 

काठमाडौं : सोमबार संघीय संसद ठप्पै रह्यो। राष्ट्रिय सभाको दुई पटक बसेको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्‍यो।
सोही प्रक्रिया प्रतिनिधिसभामा पनि दोहोरियो। र, प्रतिनिधि सभाको बैठक पनि दुवै पटक अवरुद्ध भयो।

पहिलो बैठक अवरुद्ध भएपछि सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी र सत्तारुढ दलका नेताहरूबीच पनि छलफल भएको थियो।

तर, छलफलविना निष्कर्ष टुंगिएको थियो।

१६ औं पटक अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीका विषयमा यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको थियो। केसीको माग सम्बोधन गरेर अगाडि बढ्नु पर्ने कांग्रेस सांसदको माग थियो।
तर, सोमबार संसदमा गाँठो अर्को विषयमा पर्योस।

कांग्रेस नेताहरू आफ्नो अडानबाट पछि नहटेपछि संसद ठप्प रह्यो। र, यो प्रक्रिया अझै केही दिन लम्बिन सक्ने सम्भावना छ।
किनभने प्रधानमन्त्री केपी शर्मा ओली हिजोमात्रै स्विट्जरल्यान्ड गएका छन्। उनी नआउँदासम्म मन्त्रिपरिषद्ले आफ्नो निर्णय उल्ट्याउने सम्भावना न्युन छ। 

स्वास्थ्य मन्त्रालयले २०७५ पुस १९ गते स्वास्थ्य सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। जसमा ११ वटा अस्पताल तथा उपचार केन्द्रहरू केन्द्र सरकारकै मातहतमा राख्नुपर्ने प्रस्ताव थियो। तर, ९ वटा अस्पतालहरू केन्द्र सरकारमै रहने निर्णय मन्त्रिपरिषदले गरेको थियो भने जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालको प्रस्ताव फिर्ता पठाएको थियो। जसप्रति कांग्रेसले आपत्ति जनाउँदै आएको छ। 

सोमबार सरकारले बहुमतबाट पारित गर्ने तयारी गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रक्रिया अगाडि बढ्नु अघि नै कांग्रेसले अर्को विषय ल्याएर संसद अवरुद्ध गर्‍यो।

मन्त्रिपरिषद्को निर्णयबाट दुवै अस्पताललाई केन्द्रकै मातहतमा नल्याएसम्म सदन अवरोध जारी राख्ने कांग्रेसले जनाएको छ।
‘हाम्रो कुरा स्पष्ट छ। मन्त्रिपरिषद्बाट निर्णय भएर केन्द्रकै मातहतमा दुवै अस्पताल ल्याउनु पर्छ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले पहिलोपोस्टसँग भने, ‘त्यो निर्णय नभएसम्म हामी संसद अवरुद्ध राख्छौं।’

तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अस्पतालको विषय झिकेर डाक्टर केसीलाई बलिको बोको बनाउन खोजेको दावी गरे।

‘हस्पिटलको कुरा गर्नु भएको छ। त्यो विषयमा सरकारको खासै आपत्ति छैन। अलिअलि परिमार्जित गर्ने हो। यसमा केही फरक पर्ने छैन,’ पहिलोपोस्टसँग गुरुङले भने, 'पहिले कांग्रेसले नै छिटो विधेयक पास गर्नुपर्ने भने पनि अहिले आफैँले अवरोध गरेको छ।' 

तर, केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक अगाडि बढ्नु पर्ने अडानमा आफूहरू कायम रहेको कांग्रेस नेता रिजाल बताउँछन्।

‘डाक्टर केसीसँगको सम्झौता अनुसार विधेयक अगाडि बढ्नु पर्छ। सहमतिको खिल्ली उडाउनु भएन,’ रिजालले भने, ‘पहिले मन्त्रिपरिषद्बाट हुने अस्पताल सम्बन्धी काम अगाडि बढ्नु पर्योभ। चिकित्सा विधेयकको विषयमा हाम्रो अडान कायमै छ। प्रक्रिया अगाडि बढेपछि त्यसका विषयमा हामी पनि अगाडि बढ्छौं।’

तर, प्रमुख सचेतक गुरुङले चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको दोहोरो भूमिका भएको आरोप लगाए।  

‘चिकित्सा शिक्षामा उहाँहरूको दोहोरो रोल हो कि? एकातर्फ चिकित्सा विधेयक संसदमा रोक्ने र केसीलाई अनशनमा बसाइरहने,’ गुरुङले भने, ‘गोविन्द केसीको माग सम्बोधन भइसकेको छ। प्रस्तावको रुपमा अगाडि आएको छ। मेडिकल क्षेत्रको नाममा अर्को नै कुनै एजेण्डा उठाउन खोजेको छ भने त्यसको काम छैन।’

उनले गोविन्द केसीलाई कांग्रेसले बलिको बोका बनाउन खोजेको आशंकासमेत प्रकट गरे।

‘गोविन्द केसीलाई बलिको बोको बनाउन खोजेको हो कि?,’ गुरुङले भने,‘अहिले अन्टसन्ट विषय पनि उठाउनु भएको छ। यो के हो त? राजनीतिक कुरा अगाडि आउँछ।’

तर, कांग्रेस नेता रिजालले सरकारले आफैँले हस्ताक्षर गरेको सहमति पालना नगर्ने र अरुमाथि आरोप लगाउन नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell