PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वीपी उद्यान हस्तक्षेप गरी शहीद पार्क शिलान्यास, प्रदेश सांसदले भने, 'वीपीको नाममा प्रदेश २ मा केही पनि बन्दैन'



राधेश्याम पटेल

वीपी उद्यान हस्तक्षेप गरी शहीद पार्क शिलान्यास, प्रदेश सांसदले भने, 'वीपीको नाममा प्रदेश २ मा केही पनि बन्दैन'

वीरगंज: नेपाली कांग्रेस पर्साको विरोधको बावजुद वीरगंजको वीपी उद्यानको जग्गामा शहीद पार्क बनाउन प्रदेश २ सरकारले काम अघि बढाएको छ। पूर्व निर्धारित कार्यक्रमअनुसार आज बिहान १० बजे वीपी उद्यानको १० विघा जग्गामा हस्तक्षेप गरी प्रदेश सरकारले शहीद पार्क बनाउन शिलान्यास गरेको कांग्रेसले आरोप लगाएको छ।

२०६० सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को सरकारले निर्णय गरी ७ कित्ताको १० विघा जग्गा वीपी उद्यान बनाउने भनी निर्णय गरेको थियो। तत्कालिन वीरगंज उपमहानगरको स्वामित्वमा रहने उक्त जग्गा त्यस बखत वीरगंज उपमहानगरले १० करोडको लागतमा नेपाल यातायात संस्थान(रेल्वे)बाट खरिद गरेको थियो। उक्त जग्गामा वीरगंज उपमहानगरले वीपी उद्यान बाहेक कुनै संरचना बनाउन समेत भनेको छ।

कानुनलाई मिचेर प्रदेश सरकार हस्तक्षेप गर्दै वीपी पार्कलाई शहीद पार्क बनाउन लागेकोमा कांग्रेस पर्साले हिजो पत्रकार सम्मेलन गरी कार्यक्रम नगर्न आग्रह गर्दै कार्यक्रम भए मुठभेडको गर्ने चेतावनी दिएको थियो। तर आज कार्यक्रम शान्तिपुर्वक सम्पन्न भइरहदाँ काग्रेसका जिल्ला नेता अन्यत्र व्यस्त देखिए। उनीहरु फोरम–राजपाको नेतृत्व रहेको प्रदेश २ र वीरगंजका नेताहरुसंग डराएर ब्याक भएको अनुमान गरिएको छ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले मधेस आन्दोलनको कारण देशमा संघीयता, गणतन्त्र र समावेशिता जस्ता महात्वपूर्ण उपलब्धि आएकोले त्यसको रक्षा र बलिदानी दिएका मधेसी शहीदको सम्झानामा मधेसको विभिन्न ठाउँमा शहीद पार्क बनाउने प्रदेश सरकारको नीति रहेको बताए। कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले महानगरसँग बिना स्वीकृति पार्क बनाउन लागिएको प्रश्नमा प्रदेश सरकारले सबै नीति नियम अंगालेर पार्कको काम गर्ने बताए। उनले नियम जनताको लागि जनताले बनाउने भएकोले यदि त्यस्तो कमजोरी भएको छ भने संशोधन गरी पार्कको प्रकृया तथा विधि सच्याउने स्पष्ट पारे। अर्का नेता तथा पर्सा क्षेत्र १ का सासद प्रदीप यादवले नेपाली कांग्रेसले आफनो पार्टी सरकारको भएको बखत झुक्याएर वीपी पार्क बनाउन लागे तपानि आजको अवस्था फेरिएकोले वीपीको ठाउँमा मधेसी शहीदहरुको पार्क बनाउन लागेको बताए। उनले मधेस आन्दोलनको केन्द्र विन्दु वीरगंज भएकोले वीरगंज, मलेठ र भारदहमा प्रदेश सरकारले तीन वटा शहीद पार्क बनाउन लागेकोमा शुभकामना दिए। प्रदेश सांसद प्रहलाद गिरीले मधेसमा वीपी, गिरिजा, मनमोहन जस्ता पहाडी शासकहरुको शालिक तथा पार्क अब कहिले पनि बन्न नदिने ठोकुवा गर्दै भने, ‘को वीपी, कहाँका वीपी, मधेसमा मधेसी शहीदहरुको पार्क बन्छ, उनीहरुको कुनै काम छैन, बरु भए गरेको संरचना भत्काउन पर्छ।’

कांग्रेस सभापति भन्छन्, ‘जे भयो गलत भयो’

शिलान्यास सम्पन्न भएसँगै आफनो चेतावनीबाट पछि हटेको नेपाली कांग्रेसका सभापति अजयकुमार द्विवेदीले प्रदेश २ सरकारलाई नेतृत्व गरेको फोरम राजपाले दम्भ देखाई पार्कको शिलान्यास गरेको बताएका छन्। उनले,‘जे भयो गलत भयो, कांग्रेस चुप लागेर बस्दैन, त्यसको लागि पार्टीले वीरगंजवासीसँग समन्वय गरी कानुनी र राजनीतिक लडाँई लडने छ।’ महानगरसँग कुनै किसिमको स्वीकृति पनि नलिएकोले काननी रुपमा प्रदेश सरकारले गल्ती गरेकोले त्यसको हामी सल्लाह गरी अघि बढने बताए। महानगरका मेयर विजय सरावगीलाई निम्तो भए तापनि पार्कको शिलान्यास कार्यक्रममा सहभागी भएका थिएनन्।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा  शहीद पार्क जसरी पनि बनाइ छोड्ने बताएका छन्। उनले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी शहीद पार्क निर्माण गर्ने निर्णय गरिसकेकाले त्यही निर्णयअनुसार अहिले प्रदेश सरकारले कार्यान्वयन गर्न थालेको बताए।

शहीद पार्क निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले भने,’प्रदेश सरकारले अहिले ७५ करोडमात्र विनियोजन गरेको छ, तर यो पार्क निर्माण करोडौं होइन अर्बौ रुपैयाँ लाग्छ भने पनि प्रदेश सरकारले लगाउँछ, शहीद पार्क बनाइ छाड्छौं।’

मधेस आन्दोलनको देनकै कारण मुलकमा संघीयता, गणतन्त्र , समावेशीता जस्ता राजनीतिक उपलब्धीहरु प्राप्त भएकाले मधेसी शहीदहरुको आहूति र बलिदानीको सपना साकार पार्न मधेस आन्दोलनको केन्द्र विन्दु रहेको वीरगन्जमा शहीद पार्क निर्माण गर्न लागिएको उनले बताए।

भौतीक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मधेसी शहीदको सपना साकार पार्न र मधेसी जनताको आकांक्षा पुरा गर्न प्रदेश सरकारले शहीद पार्क बनाउन थालेको बताए। वीरगन्जमा मधेस आन्दोलन चलिरहेका बेला घण्टाघर चोकमा मधेसी दलका नेताहरुले मधेसी शहीद पार्क बनाउने उद्घोष गर्दा हजारौ मधेसी आन्दोलनकारीहरुले ताली बजाएर स्वागत गरेका थिए, मन्त्री सोनलले भने, ’मधेसी जनताको त्यही आकांक्षा पूरा गर्न प्रदेश सरकारले पार्क निर्माण थालेको हो।’

पार्क निर्माण स्थलको जग्गाका लागि महानगरपालिकासंग स्वीकृति नलिइएको प्रसङगमा मन्त्री सोनलले भने,’जग्गा जनताको हुन्छ, संविधान, ऐन कानुन र विधि प्रकृया पनि जनताकै लागि बनाइएको हुन्छ, यदि यी सबै कुरा जनताको हक र हितमा भएन भने त्यसलाई परिवर्तन गर्न सकिन्छ, त्यसैले पार्क निर्माणका विषयमा पहिले भएका कानुन र विधि प्रकृया परिवर्तन गरेर जसरी पनि शहीद पार्क बनाइन्छ।’प्रदेश सरकारले वीरगन्जसँगै सप्तरीको मलेठ र भारदहमा पनि शहीद पार्क निर्माण गर्ने निर्णय गरिसकेको जानकारी पनि उनले गराए। शिलान्यास कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले केही कुतत्वले विरोध गर्दैमा शहीद पार्कको निर्माण कार्य नरोकिने बताए।

वीरगन्जको घण्टारघर छेउमा वीरगन्ज महानगरपालिको स्वामित्वमा रहेको १० बिघा जग्गा। मधेसी जनताको धेरै दिनदेखिको आकांक्षा अहिले प्रदेश सरकारले सम्बोधन गर्न लागेको भन्दै यादवले भने, ’सुनेको छु केही दलले शहीद पार्कको विरोध गरिरहेका छन्, शिलान्यास भए रणभूमि बनाइदिन्छु पनि भनेका छन्, हामी मधेशी आन्दोलनकै लागि जन्मेका हौं, हेर्छौ कसरी रणभूमि बनाउँछन् उनीहरुले, हामी पनि तयारी मै बसेका छौं।’ वीरगन्जको हरेक चोकमा पूर्वराजा रजौटा र पहाडी दलका नेताको मात्र शालिक रहेको भन्दै उनले भने, ’अब हरेक चोकमा मधेसी शहीदका शालिक हुनेछन्, यदि कोहिसँग रोक्ने हिम्मत छ भने आएर देखाओस्।’

कांग्रेसले आफनो सरकारको पालामा चलाखीपूर्ण तरिकाले घण्टाघरको जग्गा, वीपीको नाममा गराएको आरोप लगाउँदै सांसद यादवले भने, ’मधेशको भूमी वीपीको नाममा हुनैसक्दैन, मधेसी शहीदको नाममा नै हुन्छ।’ प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीले पनि वीपी कोईरालाले मधेशका लागि केहि पनि नगरेको भन्दै उनको नाममा मधेशमा कुनै पार्क वा शालिक निर्माण गर्न नदिने चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell