PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफैँलाई कोही किन बेहोस बनाउँछ? जवाफ : ८ लाख कुम्ल्याउन



सविन ढकाल

आफैँलाई कोही किन बेहोस बनाउँछ? जवाफ : ८ लाख कुम्ल्याउन

काठमाडौं : बुधवार दिउँसो प्रहरीमा एउटा खबर आयो- लाजिम्पाटको खोर्सानीटारमा रकम लुटियो। 

महानगरीय अपराध महाशाखाको टोली खोर्सानीटार पुग्यो। प्रहरी घटनास्थल पुग्दा एक युवक अर्थ बेहोस अवस्थामा थिए। प्रहरीले तत्काल ती युवकलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍यायो। बेहोसीको हालतमा थिए- स्याङ्जा नगरपालिका वडा नम्बर ११ घर भइ हाल धापासी हाइट बस्ने २३ वर्षीय तिलकराम अधिकारी।

अस्पतालको रिपोर्टमा देखियो अधिकारीलाई बेहोस बनाउन क्लोरोफर्म सुँघाइएको रहेछ। गोंगबुमा रहेको रियल टाइगर टुर्स एण्ड ट्राभल्सकी डेजिना बस्नेतले ट्राभल्सको आठ लाख पन्ध हजार रुपैयाँ जम्मा गर्न अधिकारीलाई पठाएकी थिइन्। बैंकमा गइरहेको अवस्था केही व्यक्तिले रकम लुटेको भन्ने जानकारी तिलकरामले डेजिनालाई दिएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।

तिलकराम केही महिना अघिमात्र ट्राभलमा काम गर्न पुगेका थिए। ट्राभलका सञ्चालकले एक जना मानिस काम गर्न आवश्यक परेको भन्दै डेजिनालाई भनेपछि उनले नै तिलकरामलाई काम गर्न बोलाएकी थिइन्। उनी काठमाडौं बसेर पढिरहेका छन्।

प्रहरीले लुटेराको खोजी सुरु गर्‍यो। सडकको सिसिटिभी मोनिटरिङ गर्‍यो। अरु उपायहरु पनि लगायो, अनुसन्धानका लागि। तर, अन्तिममा प्रहरीको अनुसन्धानले सबैलाई चकित पार्योु। रकम जम्मा गर्न गएका र अर्ध बेहोस अवस्थामा रहेका तिलकराम नै प्रहरीको पासोमा परे। उनले नै लुटको नाटक गरेको देखियो। महाशाखाका एसएसपी धिरजसिंहले भने, 'बैकमा जम्मा गरेको रकम पचाउने दाउले यस्तो गरेको देखियो।‘

तिलकरामले साथी अमृत डुम्रे मिली लुटको अभिनय गरेको देखियो। प्रहरीले डुम्रेको कोठाबाट लुटेको रकमसमेत फेला पारेको एसएसपी सिंहले बताए। डुम्रले नै औषधि पसलबाट क्लोरोफर्म किनेर ल्याएको प्रहरीको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell