PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्ट्रेलियाको सपनामा डिपेन्डेन्ट भिसाको आशा: पैसा त गुम्यो गुम्यो अंश नै खोसिने पीर



सविन ढकाल

अस्ट्रेलियाको सपनामा डिपेन्डेन्ट भिसाको आशा: पैसा त गुम्यो गुम्यो अंश नै खोसिने पीर

‘तिमीलाई हङकङ पुर्‍यायो आइडी कार्डैले
मलाई घाइते बनायो तिम्रै आइडीले।'

झन्डै दुई दशक अगाडि गायिका सत्यकला राईले गाएको यो गीत जीवन श्रेष्ठ (परिवर्तित नाम) को जीवनसँग ठ्याक्कै मेल खाएको छ यतिखेर।

'गीत त ठ्याक्कै मिलेजस्तो छ त?' प्रहरीले सोधे।

३२/३३ वर्षका देखिने जीवनले भने - 'त्यस्तै भयो सर के गर्ने?' 

जीवन काठमाडौँको रैथाने। बालाजुमा घर। 

गीतको प्रसंग कुनै दोहरी वा रेस्टुराँमा उठेको होइन। दृश्य थियो - महानगरीय प्रहरी परिसर काठमाडौँ, टेकुको।

हातमा केही कागजपत्र र निराश अनुहारमा थिए जीवन। उनी त्यहाँ न गीतको रचना गर्न वा गाउन नै पुगेका थिए। उनी त प्रहरीमा उजुरी दिन पो गएका रहेछन्। 

आखिर जीवनलाई गीतमा भने झैँ मलाई घाइते बनायो तिम्रै आइडीले... चाहिँ कसरी भएको रहेछ? 

 

अष्ट्रेलियन आइडीको कथा …

‘मलाई अंश चाहियो। अब सँगै बस्न सक्दिन।'

केही दिनअघि  वारेससहितको कागज जीवनको हातमा परेपछि उनको होस् हवास् नै उडेको रहेछ। पत्र उनलाई उनकै पत्नी रीता महर्जनले अष्ट्रेलियबाट सबै कानुनी प्रक्रिया पूरा गरेर पठाएकी थिइन्। किन अष्ट्रेलियबाट पत्नीले अंश मागिन् त?

जीवन भने रीता आफ्नी श्रीमती नै नभएको प्रहरीसँग बताउँदै थिए। अनुसन्धान खटिएका एक प्रहरी अधिकृतले भने, 'यिनी रीता भन्ने केटीले मलाई फसाएको भन्दै उजुरी दिन आएका हुन्। कानुनी रूपमा बिहे गरेको देखिन्छ। तर, ठगी गर्ने नियत छ।'

कानुनी रूपमा बिहे? अनि ठगी कसरी भयो त?  विषय झनै गोलमाल भयो। 

रीता चार वर्षदेखि अष्ट्रेलियमा बस्दै आएकी रहिछिन्। रीता र जीवनको चार वर्ष अघि नै कोर्ट म्यारिज भएको रहेछ। विवाहपछि रीता अस्ट्रेलिया उडिन्। जीवन यतै। 


अनि अहिले एक्कासी कसरी अंश?

जीवन फ्लासव्यकमा फर्किए। प्रहरीलाई आफ्नो घटना सुनाए। 

- रीता र जीवनको घर काठमाडौँमा नै हो। उनीहरूको सामान्य चिनजान थियो। रीता अस्ट्रेलिया जाने योजनामा थिइन्। आइएलटिएस पास गरिन्। अरु सबै प्रक्रिया पनि। 

अस्ट्रेलियाको भिसा पनि लाग्यो। रीता र जीवनको विवाह भयो, सांस्कृतिक रूपमा होइन - कागजी मात्र। कोर्ट म्यारिज गरे दुवैले। उनीहरूको एउटा अर्को सम्झौता भयो- ‘कोर्ट म्यारिज अस्ट्रेलिया जाने बाटो मात्र।‘

उनीहरूबीच अस्ट्रेलिया जानका लागि जीवनले १३ हजार डलर तिर्ने सहमति भयो। १० लाख रुपैयाँभन्दा बढी रकम तिर्न उनी सहमत भए। जीवनले कलेज भर्नाका लागि रीतालाई रकम दिए पनि। अनि रीता अस्ट्रेलिया उडिन्। 

जीवन रीताको डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने तयारीमा थिए। रीता डिपेन्डेन्ट बनाउने प्रक्रियामा थिइन्। ६ महिनापछि जीवनलाई एउटा म्यासेज आयो - थप १३ हजार डलर पठाउनु होला। अष्ट्रेलिया जान रीनासँग कागजी सम्बन्ध समेत बनाएका जीवन त्यो थप १३ हजार डलर तिर्न राजी भए।

हातमा पैसा थिएन। भएको एउटा घर धितो राखे। दिन बित्दै गए। तर, जीवनको अस्ट्रेलिया उड्ने दिन आएन। बरु चार वर्षपछि उल्टै अंश दाबीको कागज आयो।

जीवन भन्दै थिए- यसको काम नै ठगी गर्ने रहेछ। 

अब के गरुन्? ठगीमा मुद्दा दर्ता गर्नुबाहेक के नै थियो र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell