PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


मोक्तानहरुको किपट भूमि अन्दर्बुङका किस्सा: पानी निकाल्ने फुर्वा, रानीको हत्यादेखि पहरीको आक्रमणसम्म


नेत्र तामाङ

मोक्तानहरुको किपट भूमि अन्दर्बुङका किस्सा: पानी निकाल्ने फुर्वा, रानीको हत्यादेखि पहरीको आक्रमणसम्म

अन्दर्बुङ(हाल नेपालीकरण भएर अत्तरपुर) मोक्तानहरुको किपट भूमि। त्यही स्थानमा जान पाउने भएपछि खुसी नहुने कुरै भएन।

तामाङ भाषाको संवर्द्धनमा लागेको संस्था तामाङ डाजाङको आयोजना र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा २ को सहयोगमा दुई दिने(माघ १० र ११ गते) कार्यक्रममा सहभागी हुने क्रममा यही किपट पुग्ने मौका पाएँ। तीन दर्जन साहित्यकार विभिन्न गाउँमा छरिँदा संयोगवश म अन्दर्बुङमै बस्न पाएँ।

मोक्तान तामाङ जातिभित्रको एक थर हो। म पनि यही थरकै। सिन्धुपाल्चोकस्थित लिसंखुपाखर गाउँपालिकामा रहेको वडा ४ यही थरको आदिम थलो मानिन्छ।

मोक्तानहरु कसरी आइपुगे त अन्दर्बुङ?

मोक्तानहरुको किपट मानिने यस ठाउँको पहिलो व्यक्ति को त? यही प्रश्न बोकेर हामी गाउँ पस्यौं। सेम्छ्यु रिम्पोछे यस स्थानमा आइपुग्ने पहिलो व्यक्ति भएको स्थानीय बुद्धिजीवीले हाम्रो टोलीलाई जानकारी गराए। हाम्रो टोलीमा मसँगै कवि तथा साहित्यार मुक्तान थेबा, चन्द्री मोक्तान र तेज योञ्जन थियौं। वडा ४ का अध्यक्ष कुमार मोक्तान र स्थानीय धनबहादुर मोक्तानले हामीलाई यसबारे सूचना संकलन गर्न साथ दिए।

यसै विषयमा सोधखोज गर्न हामी पुग्यौं ८६ वर्षे गान्बा/तम्बा(वृद्ध माननीय/पुर्ख्यौली इतिहासकार) ङिमादोर्जे मोक्तानकहाँ।

हाम्रो पहिलो प्रश्न: सेम्छ्यु रिम्पोछे यहाँ कसरी आइपुगे त?

गान्बा ङिमादोर्जेले सुनाएको कथा यस्तो छः

बोइ(तिब्बत)बाट मुकु ग्याल साला (हालको मुगुमा) हुँदै म्हेमे खेङा आइपुगे। बाआमा र पाँच जना छोरा। पाँच दाजुभाई भएकाले उनीहरुलाई खेङा म्हेमे भनियो। उनीहरुमा मोक्तान, योञ्जन, घिसिङ, दोङ र ब्रोक्चन थिए। त्यतिबेला खानेकुरा करु(जौको प्रजाति) र आलुमात्र हुन्थ्यो। उब्जनी कम भएपछि त्यहाँ नबस्ने भनेर सल्लाह गरे। पाँचौमध्ये कान्छा ब्रोक्चनहरु चीनतिर लागे र उनीहरु चीनमै शक्तिशाली भएर बसेका छन् भन्ने कुरा छ।

मोक्तान, योञ्जन, घिसिङ र दोङ चारभाई सपरिवार त्रिशुली नदीमा आइपुगे। उनीहरु बोइबाट करुको पिठो र आलुको चना(काटेर सुकाइएको आलु) बोकेर आएका थिए। त्यहाँबाट छोङ्दी छेरोला गब्बारी(तिब्बतमुनि खासा वरपर) भन्ने ठाउँमा आइपुगे। त्यहाँ ५० जना भन्दा बढी मानिस अट्ने ओडार छ भनिएको छ। त्यही चार दाजुभाई र उनीहरुको परिवारको बास भयो। पिठो र आलु खाए। पानी भने थिएन। उनीहरुलाई तिर्खा लाग्यो। त्यसपछि पानीको खोजी भयो। पहरोभित्र पानी खसिरहेको आवाज जेठा सेम्छ्युले सुने। उनले सुनको बार्सा(फुर्वा)ले पहरामा प्रहार गरे। नभन्दै पानी निस्क्यो। पानी थाप्नुपर्ने, कुनै भाँडा थिएन।

योञ्जनले पानी थाप्नका लागि डोको बुने। डोको तयार भयो। पानी थापेपछि थाह भयो। डोकोमा पानी आट्दैन। योञ्जन लाज र रिसले चुर भएका थिए। उनले डोको हुर्‍याएर फाले। त्यहीबेला दोङ रिम्पोछेले दर्शन ढुंगाबाट आगो निकाले र पकाएर खाने बन्दोबस्ती मिलाए।

त्यहाँबाट उनीहरु अझै तल झरे ’न्हाक्पा च्यात’मा। उक्त स्थान हालको बाह्रबिसेभन्दा माथि पर्छ। त्यहाँ माछाको मुल नै थियो। जमिनबाट माछा निस्कन्थ्यो। उनीहरु बस्न थालेपछि माछा निस्कने क्रम घट्यो। त्यहाँबाट उनीहरु बाह्रबिसे(सिन्धुपाल्चोककै) फर्के र १२ दिनसम्म त्यही बसे।

फेरि सुनकोशी नदीमा लागे। सुनकोशीमा गाईको छाला र मृगको छालामा सुन सुकाई बसेको बेला सबै सुन हुरीबतासले उडाइदियो। त्यहाँबाट सेम्छ्यु रिम्पोछे पूर्वतिर लागे। दोलखाको एक गाउँ पुगे।

त्यतिबेला सेम्छ्यु नामी शिकारी भइसकेका थिए। त्यस ठाउँकी रानी थिइन् तीसै दिनमा तीस थरीको मासु चाहिने। रिम्पोछे हरेक दिन शिकार खोज्न जान्थे। वनबाट किसिमकिसिमका चरा र वन्यजन्तुको शिकार गरी ल्याउँथे। एक दिन रिम्पोछेले कुनै शिकार भेटेनन्। त्यस दिन रानी पनि शिकारको खोजीमा लागे। संयोगबश भंगेरा रानीकै काँधमा बस्यो। रानीले भंगेरालाई मारिहाल्न रिम्पोछेलाई आदेश दिइन्। सेम्छ्युले भंगेरालाई ताकेर हान्यो। दुर्भाग्यवश तीर रानीको मुटुमा लाग्यो र त्यही देहान्त भयो। सेम्छ्यु ज्यानमारा ठहिरए। त्यस घटनापछि रिम्पोछे उक्त स्थानबाट लखेटिए। त्यतिबेला दण्ड सजाय र जेलनेलको व्यवस्था थिएन। रानी मारेको आरोपमा उनलाई त्यस ठाउँबाट निकाला गरियो।

त्यसपछि उनी पश्चिम लागे। जंगलमा रात पर्यो। त्यही ओडारमा आगो बालेर बसे। त्यतिबेला त्यतै नजिकै केही माथि गोल्मो राजाको दरबार रहेछ। राजाले जंगलमा धुवाँ देखेपछि सोधपुछ गर्न पठाए। सेम्छ्युले आफु दण्डित भएको कुरा सुनाए। कुरा सुनेपछि उनलाई दरबार बोलाइयो। राजाले आफ्नी छोरी सेम्छ्युलाई बिहे गरिदिए।

सेम्छ्यु राजकुमारीसँगै धनदौलत दिएर ह्यु गङमा बसोबास गर्न पठाए। साँझ पर्दा अन्दर्बुङको ह्यु गङमा आइपुगे र त्यही घरजम गरी बसे। ह्यु भनेको आँगन र गङ भनेको डाँडा हो। अन्दर्बुङको भूमेथान अर्थात देवता थान यही नजिकै रहेको छ।

 

अहिलेको ह्यु गङ

हाल ह्यु गङ चौरमा परिणत भएको छ। यहाँ उत्खनन गरेमा पुराना ढुंगा अझै भेटिने स्थानीयले बताएका छन्। त्यही सेम्छ्यु रिम्पोछेले घोडा बाँध्ने गरेको स्थान पनि रहेको छ। यसैगरी ह्यु गङको केही परपर त्यतिबेला बनेका अम्लुङ म्हानेका अवशेष र लुन्डु म्हानेको पनि रुपमा रहेको छ।  अम्लुङ म्हाने भत्किएको अवस्थामा त्यस म्हानेका केही अक्षर कुँदिएका ढुंगाहरु त्यहाँ अझै सुरक्षित छन्। त्यही म्हानेलाई परम्परागत शैलीमा बनाउने प्रयास भइरहेको वडाध्यक्ष कुमार मोक्तान बताउँछन्। अम्लुङ म्हाने पुर्नस्थापनका लागि केही समयमै डिपिआर शुरु गरिने उनले बताए। 

अम्लुङ म्हाने र लुन्डु म्हाने

ह्यु गङमा बसाईपछि त्यहाँ बस्ती फैलियो। पछि स्मारक म्हाने बनाउने योजना तय भयो। तर म्हाने बनाउने भनिएको वर्षमै नुन सकियो। केही मानिसहरु नुन लिन तिब्बत लागे भने बाँकी म्हाने बनाउनतिर लागे। नुन नआइ पुग्दै म्हाने बन्यो। नुन नखाईकन बनाएको हुनाले उक्त म्हानेको नाम नै अम्लुङ म्हाने(अलिनो माने) राखियो। त्यस्तै ह्यु गङ भन्दा केही तल ’लुन्डु म्हाने’ पनि रहेको छ। म्हाने बनाउँदा बनाउँदै आयोजकको निधन भएकोले उक्त म्हानेको निर्माण कार्य पुरा हुन सकेन। उक्त स्थान अहिले वनमारा र झाडीले छोपिएको छ।

पहरीसँगको लडाई र पहरीको देवतालाई पूजा

ह्यु गङमा देशान अर्थात महामारी लागेपछि मोक्तान अलि तल पङ्च्योतमा सरे। त्यही मौकामा केही पहरीहरु ह्यु गङमा आएर बसेको हुनसक्ने स्थानीय तम्बा गंगाबहादुर मोक्तानले बताए। उनकाअनुसार पहरीहरु शिकारी स्वभावका थिए र लुकेर बसेका थिए।

पहरीहरुले मोक्तानहरुले लगाएका बालीनाली चोरी खाने र  तिब्बतमा नुन लिन जाँदा धेरैजसो बालबालिका शिकार गरेका थिए। बच्चाहरु पहरीको शिकारीमा परेपछि गाउँका सबै मोक्तान भेला भए। र पहरीको क्रियाकलापमाथि निगरानी थाले। पहरी जाति वाण बोकेर शिकार गर्न हिड्थे। तर मोक्तानहरुसँग कुनै हतियार थिएन। त्यसैले मोक्तानहरुले मुख्य पहरीको हतियार र उनको शक्तिबारे बुझे।

‘थना गाई(राख्ने), मना गाई(पठाउने)’

मुख्य पहरीले यसो भनेर तीर निकालेको देखेपछि पत्ता लाग्यो धेरै शक्ति रहेनछ। एउटैमात्र तीर निकाल्दै थना गाई, मना गाई भनेको देखेपछि मोक्तानहरुले उनलाई उचित दिन पर्खेर आक्रमण घेरे। मुख्य पहरीले मोक्तानहरुमाथि वाण प्रहार गरे। उक्त वाणले कसैलाई लागेन। पहरी भागे।

मोक्तानहरुले मुख्य पहरीलाई लखेटे। लखेटिएका मुख्य पहरी एउटा काटिएको रुखमा उनिए र उनको प्राण त्यही गयो। त्यसपछि मोक्तानहरुले अन्य पहरीलाई पनि उक्त स्थानबाट लखेटे। उक्त स्थानमा भूमे डाँडामा पहरीले मान्ने देवीस्थान रहेको छ। उक्त स्थान कब्जामा लिएपछि मोक्तानहरुले पहरीको देवतालाई पनि मान्न थालेको बताइन्छ। उक्त स्थानमा पूजा गर्दा पहरी भाषा प्रयोग गरिने बताइन्छ।

किन रोजियो त अन्दर्बुङ?

नुन लिन नजिक परेकोले यही ठाउँ बसोबासका लागि रोजेको हुन सक्ने बताइन्छ। त्यतिबेला नुन लिन छोङ्दी पुग्नुपर्थ्यो। छोङ्दी खासाभन्दा केही माथि भएको उनीहरुहरुले बताए। नुन लिन नजिक पर्ने भएकाले अन्दर्बुङ वरपरको बस्ती नै उपयुक्त ठानेर बस्ती बसालेको उनीहरुको अनुमान छ। यद्यपि नुन लिएर तिब्बतबाट आइपुग्न १५ दिन लागेको गान्बा गंगाबहादुरले बताए। हाल विभिन्न ठाउँमा मोक्तानहरु यहीबाट छरिएको उनीहरुको दाबी रह्यो।

मिल्न आएको कुरा, नमिलेको कुरा

दुई वर्षअघि मैले मेरै ८५ वर्षे हजुरबुवा रामबहादुर तामाङलाई मोक्तानहरु कसरी यहाँ आइपुगे भनेर सोधेको थिएँ। हामी सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकास्थित नवलपुरको थाकनका मोक्तान। हजुरबुवाले पनि बोइबाट नै मुगु ह्युल्सा हुँदै आइपुगेको बताएका थिए। मुगुमा आएको कुरा धेरै पछि भएको कुरा हजुरबुवाको तर्क थियो। त्यताबाट भने काठमाडौंको गागलफेदीबाट छरिएको बताए। मुगुमा राजासमेत मोक्तान रहेको र लडाईमा लखेटिएपछि गागलमा आइपुगेको हजुरबुवाको भनाई थियो। मुगुबाट आएकाले मोक्तान लेख्न थालेको तर्कसमेत हजुरबुवाको थियो।

इतिहासको उत्खनन् हुने क्रम जारी छ। हालसम्म तामाङहरुको कुनै लिखित इतिहास सुरक्षित नरहेको र तामाङ सम्बन्धी अध्ययन अनुसन्धान कम रहेको छ। यसैले पनि मौखिक आधारमा आफ्नो इतिहास वर्णन गर्दै आएका छन्।  तामाङ भाषाविद् एवं अध्येता/अनुसन्धानकर्ता अमृत योञ्जनले अन्दर्बुङबाट मोक्तानहरु छरिएको र यो नै उद्गम थलो मान्दै आएको पुष्टि गरे। मोक्तानहरुको बिस्तारबारे क. सन्तवीर लामा(पाख्रीन)को किताब तम्बा काइतेन ह्वाई रिमठिम(तामाङहरुका पुर्ख्यौली रीतिथिति र गीत किताब)को तृतीय अध्यायको १३ नम्बरमा यस्तो लेखिएको छ।

मोक्तान

मुकु ग्याल साला मोक्तान बब

रुइगी फोला डाप्ला मि

याप्जे ला ग्याल्मो तेन

ङिली छेमन ग्याल्मो तेन

गप्पचन छिप्चन ग्यालबो तेन

२०५८ मा प्रकाशित चौधौ संस्करणको यस किताबको रुइछेन च्योपगे ला ह्वाई शीर्षकको अध्यायमा उल्लेख गरिएको गीतबाट मोक्तानहरु मुगुबाट फैलेको स्पष्ट हुन्छ।

यसैगरी परशुराम तामाङको ’तामाङ वंशावली(२०६२)’ मा पनि यसै विषयलाई पुष्टि गरेको छ। यस किताबमा पहिलो तामाङ लेखक बुद्धिमान तामाङको किताब जिक्तेन ताम्छ्योईलाई आधार मानी मोक्तानहरु मुगुबाट काठमाडौं हुँदै विभिन्न स्थान पुग्दै अन्दर्बुङ पुगेको उल्लेख गरेको छ। 



मोक्तानहरुको किपट भूमि अन्दर्बुङका किस्सा: पानी निकाल्ने फुर्वा, रानीको हत्यादेखि पहरीको आक्रमणसम्म को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट