PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

दुनियाँलाई उल्लु बनाउने उत्सव


उमेश श्रेष्ठ

दुनियाँलाई उल्लु बनाउने उत्सव

बालबालिकाको अनुहारमा उल्लुको चित्र। युवायुवतीको अनुहारमा उल्लुचित्र। वडाध्यक्षको अनुहारमा समेत आधा उल्लुको चित्र रङ लगाइएको थियो। अधवैँशेको अनुहारमा पनि उल्लुचित्र। नङमा समेत उल्लु चित्र।

उल्लुको म्युजियम। यान्त्रिक अर्थात् रोबोट उल्लु। उल्लुको 'डार्ट गेम', डार्ट हान्दा उल्लुको चित्रमा पर्‍यो भने जरिवाना तिर्नुपर्ने।

उल्लुबारे कथा, उल्लुकै कविता। गीत पनि उल्लुकै। 'झम्के गुलेली' को लयमा गाइँदै थियो  उल्लुको महिमागान।

जताततै उल्लु नै उल्लु ! 

शुक्रबार र शनिबार खोटाङ जिल्लाको जालपामा रहेको  जालपा माध्यमिक विद्यालय प्राङ्गण वरपरको दृश्य उल्लुमय थियो। 

शनिबार उत्सव समापन गर्दैगर्दा रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसमेतको उपस्थितिमा उल्लुलाई वडा पंक्षी घोषणा गरियो। त्यतिमात्र हैन, नेपालकै पहिलो ठूलो हुचिलको मूर्तिसहितको हुचिल पार्कको उद्घाटन पनि खोटाङबाट प्रतिनिधि सभामा सांसद विशाल भट्टराईले गरे। 
उल्लु उत्सवका 'मास्टरमाइन्ड' राजु आचार्यलाई सोध्यौँ, 'दुनियाँलाई उल्लु बनाएर तपाईँले के पाउनु भो?'

एकछिन हाँस्दै उनले भने, 'उल्लु देख्ने बित्तिकै नकारात्मक हिसाबले संकेत गर्ने हाम्रो समाज छ। उल्लु बनाउने भन्दा पनि हामीले जनमानसमा रहेको अन्धविश्वासलाई कम गर्ने र यसको फाइदाका बारेमा धेरैभन्दा धेरैलाई जानकारी दिलाउने उद्देश्यले यो उत्सवको आयोजना गर्ने गरेका हौँ।'

फ्रेन्डस अफ नेचरका कार्यकारी निर्देशक आचार्यलाई उल्लु उत्सवको कुरा गर्दा मानिसहरु हाँस्ने कुरा सामान्य लाग्न थालिसक्यो। उनी सम्झन्छन् गोरखामा उत्सवको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा एक जना पत्रकारले 'अब कमिला उत्सव भयो भने पनि अचम्म मान्नु पर्दैन भनेर' लाटोकोसेरो उत्सव प्रति व्यंग्य कसेको। 

उत्सवका संयोजकसमेत रहेका आधा अनुहारमा उल्लु पोतिएका रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष विकास राईलाई सोध्यौँ, 'मान्छे हाँसेनन् उल्लु उत्सव गर्नेभन्दा?'

'हाँसे नि', उनले भने, 'मान्छेहरु अहिले पनि हाँसिरहेका छन्। यहाँ नआउने मान्छेहरु वहाँ बसेर हाँसिरहेका छन्। जो यहाँ आए, उसले बुझ्यो। जो यहाँ आएनन्, उनीहरु अहिले पनि अचम्मको, उल्लुको पनि उत्सव हुन्छ भनिरहेका छन् अझै पनि।'

आचार्यका अनुसार उल्लु अर्थात् लाटोकोसेरो किसानको साथी हो भन्ने कुरा धेरैलाई थाहै छैन। 

के गर्छ र लाटोकोसेरोले? 

'एक सिजनमा एउटा लाटोकोसेरोको परिवारले ३ हजारसम्म मुसा खान्छ', उनले बुझाए। 

विश्वमै अमेरिका र इटालीमा मात्र हुँदै आएको लाटोकोसेरो तथा हुचिल उत्सव नेपालमा आठौँ पटक मनाइँदै थियो। यो वर्ष पहिलो पटक पूर्वको जिल्ला खोटाङमा यो उत्सव हुँदाको रौनक बेग्लै थियो। 

उत्सवकै क्रममा वडा नम्बर १२ ले गुलेलीमा प्रतिबन्धको घोषणा गर्‍यो। अब गुलेली वडामा बुझाए पुरस्कार दिइनेछ। 

फ्रेन्डस अफ नेचरले लाटोकोसेरोसम्बन्धी जनचेतना जगाउन स्थानीयको सहभागितामा हरेक वर्ष छुट्टाछुट्टै जिल्लामा लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएको छ। तर खोटाङले भने नौलो प्रयास गर्ने भएको छ। अब हरेक वर्ष खोटाङमा स्थानीयले यही उत्सवको सम्झनामा उत्सव गर्ने वडाध्यक्ष राईले जानकारी दिए। 

उत्सव दुई दिनको मात्र हो तर यसको पूर्व तयारी पहिलेदेखि नै हुन्छ।

एक महिनादेखि आचार्य लगायत उनको संस्थाका स्वयंसेवकहरु गाउँ गाउँ घुमे, स्कूल पुगे र लाटोकोसेरोको महत्व बुझाउने प्रयास गरे। 

तर बुझ्नेले कुरा नबुझेपछि…

शुक्रबार साँझ करिब सय जनाको उपस्थितिमा डकुमेन्ट्री देखाउने क्रममा आचार्यले भने, 'लाटोकोसेरो उत्सव भन्ने बित्तिकै यहाँका केही मानिसले हामी कहाँ यस्तो लाटोकोसेरो पाइन्छ, हामीले त्यहाँ देखाउन ल्याउन मिल्छ कि मिल्दैन भनेर समेत सोधे।' 

लाटोकोसेरोको कुनै पनि प्रजातिलाई पाल्ने, नोक्सान पुराउने, व्यापार गर्ने कामहरुलाई  'राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९' ले रोकेको छ।

'त्यसैले त्यसो नगर्नुस्, पाइँदैन। ल्याउनु भो भने तपाईँ जानुभो (जेल)', उनले भने।

नेपालमा वार्षिक रुपमा अवैध रुपमा दुई हजार जति लाटोकोसेरो तथा हुचिलको व्यापार हुने गरेको छ। त्यसमा खोटाङ जिल्ला लगायत पूर्वी नेपालका धेरै भूभाग पनि पर्ने आचार्यको अध्ययनले देखाउँछ। 

यसका लागि नेपालमा ३२ वटा बाटाहरु भएर १४ वटा नाका हुँदै तस्करी हुने गरेको छ। 'लाटोकोसेरो कि बाठोकोसेरो' पुस्तकका अनुसार नेपालमा अभिलेख गरिएका सबै २३ (१ प्रजाति लोप भएको अनुमान) प्रजातिहरुको अवैध व्यापार हुने गरेको  छ जसमध्ये हिमाली हाप्सीलो, हाप्सीलो, महाकौसिक, मलाहा हुचील र  चश्मे उलूकको व्यापार बढी हुने गरेको छ।

धेरैजसो चीनमा लाटोकोसेरोको तस्करी हुने गर्छ। चीनमा यौनवर्द्धक औषधीको रुपमा प्रयोग गर्न र भारतमा तान्त्रिकहरुले यसको प्रयोग गर्ने गर्छन्। 

यस्तो उत्सवको प्रभाव कस्तो पर्ने गरेको छ त? पहिलेको अनुभव कस्तो छ?

आचार्य सुनाउँछन्, 'कम्तिमा घाइते लाटोकोसेरो भेटियो भने नसमात्ने, छाडिदिने। समातिहाले पनि उद्दार गर्नको लागि हामीलाई खबर गर्ने, गुँडहरुको संरक्षण गर्ने, गुलेली प्रयोगलाई निरुत्साहित गर्ने गरेका छन्। नवलपरासीमा उत्सव गर्दा खेतको बीचमा बाँस गाडेर लाटोकोसेरो बस्ने ठाउँ बनाइदिएका छन्।' 

लाटोकोसेरो उत्सव भन्ने गरिए पनि यस क्रममा स्थानीय संस्कृतिलाई पनि उत्तिकै महत्व दिइन्छ। लोप हुन लागेका खेल, बाजा,  नाचहरु देखाइन्छ। 
खोटाङमा पनि खुकुरीले लट्ठी काट्ने, लट्ठीले बल हान्ने हकी जस्तो खेल आदि खेलहरु देखाइए। मुर्चुङ्गा, बिनायो, पिपिरी जस्ता बाजाहरुको अर्केस्ट्रा बजाइयो। आमाबाबुको पुस्ता यसमा संलग्न थियो। जिल्लामा बसोबास गर्ने किरातहरुको साकेलादेखि नेवारहरुको लाखेनाचसम्म देखाइयो।

यो उत्सव आयोजना गर्नका लागि पहिलो शर्त नै स्थानीय सहभागिता हो। स्थानीयको सहयोग कस्तो रहन्छ? कार्यक्रम स्थल कस्तो छ? सांस्कृतिक तथा पुराना खेलहरु खेलाउने सम्भावना आदि केलाइन्छ। 

खर्च पनि धेरै जसो स्थानीय आयोजकले नै व्यहोर्नुपर्छ। आचार्यका अनुसार यस पटक अतिथिहरुको बसोबासदेखि खानपान र पाहुना बोलाउने, फ्लेक्स बनाउने, स्वागत द्वार बनाउने जस्ता कामको खर्च स्थानीय आयोजकले नै व्यहोरेको थियो। 

उत्सव सकिएर काठमाडौँ फर्कँदै गर्दा काभ्रेको भकुण्डेबेसीको एउटा खाजाघरमा साहुजीले सोधे, तपाईँहरु के कार्यक्रममा सहभागी भएर आउनुभएको?

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका करनबहादुर शाहले भने, हामी लाटोकोसेरो उत्सव गराएर आएको। 

साहुजी र साहुनी दुवै हाँसे। 

करन सरले उहाँहरुले पत्याउनु भएन भन्दै हामीलाई सुनाउनु भयो। हामीले हो भनेर सही थाप्दा पनि साहुनी पत्यार नमान्दै भन्दै थिइन्, 'अनि के गर्ने नि त्यहाँ? लाटोकोसेरोहरुलाई बोलाएर भेला गराउने हो कि?'

हुनत मैले पनि तीन दिन खोटाङ जान्छु भनेर मात्र घरमा र कार्यालयमा भनेको थिएँ। किनकि मलाई थाहा थियो, उल्लु उत्सवमा जान लागेको भनेर भनेको भए मलाई पनि विश्वास गर्ने थिएनन्  :)
 



दुनियाँलाई उल्लु बनाउने उत्सव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट