PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

युएईमा जुरेको संयोग : सन्नी प्रधानको लेन्समा अचानक सन्दीप लामिछाने



स्वेच्छा राउत

युएईमा जुरेको संयोग : सन्नी प्रधानको लेन्समा अचानक सन्दीप लामिछाने

दिनभर क्यामेरा र कम्प्युटरको स्क्रिनमा घोत्लिन थाकेका थिए सन्नी प्रधान। साँझ फ्रेस हुने बहानामा ‘बोस’ कपिल बर्मासँगै अफिसबाट निस्किए र दुबईस्थित मल अफ द एमिरेट्स गए। घुम्दै गर्दा बोसले अचानक भने- अमेरिकन टुरिस्टरका लागि सुटको तयारी गर्नुछ। 

सन्नी दुबईको मास्टरकपी फिल्म प्रोडक्सनका लागि काम गर्छन्। उनी त्यहाँ फोटोग्राफर र सिनेमेटोग्राफर हुन्। बोसले अमेरिकन टुरिस्टरको सुटिङबारे सुनाउनु उनको लागि नौलो विषय थिएन। किनकि हरेक प्रोजेक्टको जानकारी त्यसैगरी पाउँथे उनले। त्यसपछि तयारी, लाइटिङ, स्टुडियो, क्रु। सेटमा केही समय एक्सन, कट गरेपछि सकिन्छ काम। 

फेरि, दिनभर काम गरेर फ्रेस हुन निस्किएका उनलाई नयाँ प्रोजेक्टको जानकारी रोचक लाग्ने कुरै भएन।

'अनि यस पटकको काम नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हो है,' बोस कपिलले यति बोलेपछि भने सन्नीको मुड तुरुन्तै चेन्ज। उनी जोसिएर सोधे- सुट कहिले? 

'फेब्रुअरी २, शनिबार,' बोसले सुनाए।

विदेशमा नेपाली सेलिब्रेटीसँग काम, उनको पहिलो अनुभव हुनेवाला थियो। त्यसमाथि सामाजिक सञ्जाल, मिडिया र आम नेपालीबीच हुने गरेको सन्दीपको चर्चा सम्झिए। 

'ओहो म त एकछिन केही नसोची दङ्ग परें। अनि है क्लाइन्टसँग नेपाली बोल्न पाउने कुरा सम्झिएरै खुशी लाग्ने के,' सन्नीले उत्साही मुडमा सुनाए। 

उनी क्रिकेट हेर्दैनन्। तर, सन्दीप लामिछानेबारे धेरै कुरा पढेका थिए। सामाजिक सञ्जालदेखि मिडियामा चर्चा चलेको यिनै नेपालीको फोटो खिच्ने। त्यो पनि अन्तर्राष्ट्रिय ब्रान्डका लागि। घर पुगेर सन्दीपको प्रोफाइल चहारे। उनीबारे छापिएका समाचारहरु पढे। 'उसको कारण सोसल मिडियामा देखिएको पोस्टहरु देखेर त मलाई 'सुट डे' कै हतारो भयो,' उनले भने। 

युएईसँगको टि २० र वान डे सिरिजका लागि नेपाली टोली युएईमै थियो। एक दिवसीय सिरिज जितिसकेपछि सन्नीले टि २० सिरिज हेर्न स्टेडियम पुग्ने योजना बनाएका थिए। 

'म क्रिकेट नियमित हेर्दिन तर तीस मिनेट परको स्टेडियम धाएर नेपाली खेलाडीहरु हेर्ने मन थियो। कामले गर्दा समय मिलेन,' सुनाए, 'तर, काम नै नेपाली क्रिकेट स्टारसँग हुन्छ भन्ने सोचेको पनि थिइँन।' 

टी २० सिरिज बाँकी थियो। ३१ जनवरीमा भएको पहिलो खेलमा नेपाल युएईसँग पराजित भयो। फेब्रुअरी एकको दोस्रो टी २० खेलमा नेपाल विजयी भयो। त्यही खुशीबीच सन्दीपको सुटिङ थियो। 

अमेरिकाको लगेज ब्रान्ड अमेरिकन टुरिस्टरले विभिन्न क्याम्पेनका लागि सेलिब्रेटीहरुलाई फिचर गर्ने गरेको छ। यसअघिको 'हार्ड टु लेट गो'मा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र क्रिकेट स्टार बिराट कोहली फिचर्ड थिए। नयाँ प्रोडक्ट क्याम्पेनिङका लागि सन्दीपको फोटो सुट भयो। 

'भेट्नुअघि उ मलाई मनपर्ने खेलाडी थियो। भेटपछि मन पर्ने मान्छे बन्यो', प्रधान आफ्नो अनुभव सुनाउँछन्, 'कामप्रतिको लगाव र नेपालप्रतिको सम्मान देखेर छक्क परेँ। उ हँसिलो र नम्र रहेछ।' 

बिहान एघार बजे सुरु भएको फोटो सुट बेलुकी साढे पाँच बजेसम्म चल्यो। यस बीचमा सन्नीलाई थाकेको महसुस नै भएन। लाइट्सम्यान भरत डोली पनि नेपालकै थिए। उनीहरुसँगको सहकार्य गज्जव रहेको अनुभव साट्छन् उनी। 

दिनभर फरक फरक लुगामा फोटो खिचाएका सन्दीप अन्तिममा नेपाल क्रिकेट टिमको जर्सी लगाएर देखिए। त्यो लुगामा उनको जोस र उत्साह फरक लागेको बताउँछन्।

'अरु सुटमा अन्तिमतिर क्रु, क्लायन्ट सबैको इनर्जी कम हुँदै जान्थ्यो। यहाँ ठीक उल्टो भयो। जर्सी लगाएपछिको उसको इनर्जीले क्रुलाई पनि हौस्यायो,' उनले भने। 

त्यो जोशबारे सन्नीले सन्दीपलाई सोध्दा भने, 'यही जर्सीले त मलाई चिनायो। अब देशलाई चिनाउनु छ।' 

तीन वर्ष भयो सन्नी दुबईमा रहेर काम गर्न थालेको। यसबीचमा उनले थुप्रै अन्तर्राष्ट्रिय सेलिब्रेटीसँग काम गरे। नेपाली सेलिब्रेटीसँग यो पहिलोपटक काम थियो। करिब ६ घण्टाको यो  अनुभव विशेष रहेको बताए। भने, 'एक त एउटै देशको मान्छे विदेशमा भेटिनुको खुशी। अर्को, भाषा मिल्नुले सेन्टिमेन्टलाई नि जोड्दो रहेछ।' त्यस बाहेक सन्दीपको सबैसँग आदरभावले बोल्ने र घमण्ड नगर्ने बानी आफूलाई मन परेको सुनाए उनले।

यसअघि उनले इन्डियन क्रिकेटका पूर्व कप्तान सुनिल गावस्कर, पाकिस्तानी क्रिकेट कप्तान सर्फराज अहमद खान, अफगनिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबी, इङ्ल्यान्ड क्रिकेट टोलीका ब्याट्सम्यान सम्याम्युअल विलियम बिलिङ्सको समेत फोटो तथा भिडियो खिचिसकेका छन्। अनुभव साट्छन्, 'सेलिब्रेटीसँग काम गर्दा खुशी मिल्छ नि। झन् आफ्नो देशको चर्चित मान्छेका लागि काम गर्न पाउँदा बेग्लै मजा आउँदो रै'छ।' 

केही समयअघि उनले बलिउड अभिनेत्री सुस्मिता सेनको भिडियो तथा फोटो सुट टिममा रहेर काम गरेका थिए। सह निर्देशकको रुपमा। व्यापारिक विज्ञापनको लागि गरिएको उक्त छायांकनलाई उनका लागि अविस्मणीय छ। भने, 'उनीहरुको कामको प्रक्रिया बुझ्न, व्यवहार थाहा पाउन यस्ता प्रोजेक्टहरु महत्वपूर्ण हुने रहेछन्।' 

नेपाल छँदा उनी ट्राभल फोटोग्राफी गर्थे। फिल्म 'ताण्डव'का लागि अफिसियल फोटोग्राफर समेत रहेका उनले अनलाइन पोर्टलहरुका लागि फोटो तथा भिडियोग्राफी गरे। केही म्युजिक भिडियो पनि बनाए। २०१६ मा मास्टरकपी फिल्म प्रोडक्सनमा फोटो भिडियो एडिटरका लागि भ्याकेन्सी खुलेको थाहा पाएपछि भने उनले काम गर्ने रुची देखाए। 

'ट्राइ गरम् न त भन्ने थियो। तर मेरो काम हेरेपछि कम्पनीले समय नलगाइ बोलायो,' उनले दुबई जानुको कारण खुलाए। त्यहाँ उनी सम्पादनमा सीमित रहनु परेन। फोटोग्राफी र भिडियोग्राफीको जिम्मा पनि सम्हाल्ने भए। 

यसबीचमा चारपटक नेपाल आएका छन्। 'यहाँ मलाई धेरै कुरा देख्ने, सिक्ने र बुझ्ने मौका मिलेको छ। केही समय अझै सिक्नमा खर्चन्छु अनि नेपालमा आएर फोटो तथा भिडियोसम्बन्धी फरक काम गर्ने योजना छ,’ उनले भने। 

सन्दीप लामिछानेसँगको कामले दिएको खुशी कम भएको थिएन, नेपाली टोलीले टी २० सिरिज पनि जित्यो। खुशी थपियो। भन्छन्, 'गेम हेर्न जान नपाएकोमा खल्लो लागेको छ। नेपाली टोलीको स्वदेश स्वागतको फोटो भिडियो हेरेर चित्त बुझाएँ।'
 
टोलीका सदस्य सन्दीप लामिछाने 'बिग बास लिग' खेल्नका लागि युएईबाटै अष्ट्रेलिया गए। 'अब त नेपाली क्रिकेट र सन्दीपले खेल्ने प्रत्येक खेल बारे अपडेटेड रहन्छु होला,' कुनै समय क्रिकेटबाट बेखबर उनले सुनाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell