PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीमाथि नै ड्रग्स कारोबारीको ड्रोन सर्भिलेन्स!



पहिलोपोस्ट

प्रहरीमाथि नै ड्रग्स कारोबारीको ड्रोन सर्भिलेन्स!

काठमाडौं : लागू औषध कारोबारीले प्रहरीबाट बच्न विभिन्न तरिका अपनाएर कारोबार गरेसँगै प्रहरीसामु नियन्त्रणका लागि जटिलता थपिँदो छ।

लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएका धरानका बितु भनिने जिनिस गुरुङलाई प्रहरीले मङ्गलवार पक्राउ गरेपछि उनले अपनाउने शैलीको 'राज' खुलेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मङ्गलवार गुरुङलाई उनकै कोठाबाट पक्राउ गरेको थियो। गुरुङले ड्रोनको प्रयोग गरेर प्रहरीको निगरानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। विभिन्न व्यक्तिबाट काठमाडौँमा ल्याएको लागू औषधको कारोबार गर्ने समयमा वरपर प्रहरीको उपस्थिति कस्तो छ भन्ने थाहा पाउन ड्रोन उडाउने गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने, 'प्रहरी आए नआएको जानकारी लिन ड्रोन उडाउने गरेको देखियो।' 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गुरुङ आफै पनि लागू औषध दुव्यसनी हुन्। लामो समयदेखि उनले आफू बस्ने कोठाबाटै लागू औषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। घरबेटीलाई भने गुरुङले आफूलाई डिजिटल भिडियो एडिटर भएको बताउने गरेको डिएसपी बोगटीले बताए।  

यसअघि पक्राउ परेका केही लागू औषध कारोबारीले गुरुङको नाम पोलेपछि प्रहरीले खोजी थालेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा गुरुङ काठमाडौँमा लागू औषध वितरण गर्ने डिलर समेत भएको बुझिएको छ। ‘मुख्य डिलर नै भएको हो कि भन्ने जानकारी आएको छ। थप अनुसन्धान गरिरहेका छौँ,' उनले भने।

गुरुङको कोठाबाट १ थान ड्रोन, ३ ग्राम खैरो हेरोइन, एक थान लागू औषध जोख्ने डिजिटल मेसिन, २४ ओटा विभिन्न ब्राण्डका मोबाइल, ल्यापटप, क्यामेरा, विभिन्न खाले लागू औषध ट्याव्लेट र एक लाख नगद रुपैयाँ बरामद गरेको छ। त्यस्तै गुरुङको कोठामा ड्रोनबाट खिचिएको भिडियो समेत फेला पारेको छ।

पक्राउ परेका गुरुङले बिरामी भएको जनाएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्जमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell