PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घरायसी विवादमै मारकाट, यसरी हुन्छ आफन्तबाटै हत्या!



पी बी खड्का

घरायसी विवादमै मारकाट, यसरी हुन्छ आफन्तबाटै हत्या!

घटना १: गत मंसिर १ गते रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का ४९ वर्षीय शक्तबहादुर बुढाले बन्दुक प्रहार गरी श्रीमतीको हत्या गरे।

बुढाले भरुवा बन्दुक प्रहार गरी ४२ वर्षीया श्रीमती इन्द्रकलाको हत्या गरेका थिए। श्रीमतीको हत्यापछि बुढाले आत्महत्याको प्रयास गरे। तर, उनको पछिल्लो प्रयास सफल भएन।

घाइते भएका उनी जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगियो।

***

घटना २: जाजरकोट नगरपालिका–६ का २५ वर्षीय रत्नबहादुर थापाले श्रीमतीको हत्या गरे। गत साउन १० गते २८ वर्षीया श्रीमती विमला थापालाई घाँटीमा पासो लगाइ हत्या गरेको उनलाई आरोप लागेको छ।

हत्यापश्चात विमलाका दाजु दीपक घर्तीले जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते उजुरी गरे। प्रहरीले सोही दिन श्रीमान रत्नबहादुर थापालाई पक्राउ गर्‍यो। पक्राउपछि जिल्ला अदालतमा मुद्दा दर्ता गराएर आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

***

शक्तबहादुर र दीपकले घरधन्दाको विषयमा विवाद हुँदा श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। एकले अर्कालाई गलत रुपमा बुझ्दा श्रीमानश्रीमतीबीच सामान्य विवादले यस्तो भयावह रुप लिने प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख महेशविक्रम शाह बताउँछन्।

‘प्राय आफन्तबाट हुने घटनाहरु सामान्य घरधन्दाको विषयमा विवाद हुँदा  अप्रिय घटना हुने गरेको पाइन्छ,’ शाहले भने, ‘यसरी श्रीमान् र श्रीमतीले एक अर्कामा मिस अन्डरस्ट्यान्डिङ भएर पनि यसो भएको पाइन्छ। रिसको झोकमा अप्रिय घटना भएको थाहै पाउँदैनन्।’

कतिपय घटनाहरु मदिराका कारण पनि हुने गरेको उनी बताउँछन्। ‘कतिपय श्रीमान् श्रीमती मदिरा सेवन गर्ने हुन्छन् भने कसैको घरमा श्रीमानमात्रै पनि सेवन गर्ने गरेको भेटिन्छ। यस्तो बेलामा कोही कसैको कुरा तालमेल मिलेन भनेपनि कहिकतै घटना हुने गरेको देखिन्छ।’

कर्णाली प्रदेशको जुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यानमा सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म ८ जना महिलाको परिवारजनबाटै मृत्यु भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ। कार्यालयको तथ्यांकअनुसार सन् २०१७ को जनवरीदेखि डिसेम्बरसम्म १० जनाको मृत्यु भएको कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए।

इन्सेकका संयोजक सुवेदीले पनि अधिकांश यस्ता घटना घरायसी कारणले हुने गरेको बताए। ‘जति पनि परिवारजनबाट भएका घटनाहरु छन् ती सबै घरायसी विवादका कारण हुन्,’ उनले भने, ‘अधिकांश घटना घरेलु हिंसा अन्तर्गतनै हुने गरेका छन्,’ फेरि थपे, ‘यस्ता घटना हुदैँ गरेको सूचना पाउँदा वित्तिकै रेसपोन्स गर्न पाए तत्काल हत्या हुनबाट जोगिने थियो।’

यसरी हुने गरेका घटनालाई रोकथाम गर्न सम्पूर्ण सरोकारवाला निकाय लाग्नुपर्ने बताउँछन्।  ‘यस्ता घटना रोक्न एक दुई जना लागेर हुदैन। गाउँसमुदायमा भएका सम्पूर्ण सरोकारवाला निकाय सक्रिय भएर लाग्नुपर्छ,’ उनले भने, ‘सबैभन्दा ठुलो जनचेतना फैलाउन जरुरी छ। स्थानीय र प्रदेश सरकारले विकास भनेको बाटो खन्ने, विद्युतको पोल गाड्ने मात्रै नभएर सामाजिक विकास पनि गर्न आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell