PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

समर लभ : उपन्यास बिर्सेर हेर्नुपर्ने फिल्म (समीक्षा)


रीना मोक्तान

समर लभ : उपन्यास बिर्सेर हेर्नुपर्ने फिल्म (समीक्षा)

निकोलस स्पार्क्सको बेस्ट सेलिङ उपन्यासमाथि बनेको दमदार फिल्म 'द नोटबुक' हेरेपछि उपन्यासमाथि बनेका फिल्ममा रुचि बढ्नु स्वभाविक थियो। 

'नोटबुक'पछि लगातार 'डियर जोन', 'अ वक टू रिमेम्बर', 'द लास्ट सङ' हेरेँ। फिल्ममा थियो मन छुने कथा अनि प्रस्तुतिकरण। 

नेपालको सन्दर्भमा परालको आगो, माइतीघर, प्रेम पिण्ड, सेतो बाघ, झोला, बसाई,  बासुदेव, शिरिषको फूल, नूमाफूङले प्रभावित नगरेको होइन्।

पछिल्लो समय युवा मनोविज्ञानमा आधारित उपन्यास 'समर लभ' सिनेमाको पर्दामा छाएको छ, प्रभाव पक्कै छाड्ने अपेक्षा। 

दुई पात्रहरुको अन्तरजातीय प्रेम कथाले २०६९ मा उपन्यासको रुप लिएको थियो।

त्यसबेला प्रचलित उपन्यासभन्दा केही फरक धारमा उभियो सुबिन भटराईको उपन्यास 'समर लभ'।

पाठकले उपन्यासलाई मनपराए। त्यो भन्दा बढी चर्चित बने कथाका पात्र अतित र साया। त्यही पात्रहरुलाई फिल्ममा हेर्न म पनि आतुर थिएँ। 
युवा प्रेममा आधारित उपन्यासमाथि धेरै आशा थियो। फिल्मको फस्ट सो छुटाउने कुरै भएन।

उपन्यास पढ्दा कल्पनामा एउटा चित्र कोरिन्छ। फिल्म हेर्दा तीनै पात्रलाई खोजियो। 

समर लभलाई पात्रले नै स्थापित बनाएको थियो। ती पात्र हुन् अतित र साया। तर, उपन्यासमा कल्पना गरिएको संरचना पर्दामा कतै भेटिँदैन। किनभने फिल्म निर्माण टिम यसको कास्टिङ छनौटमा नै चुकेको छ। फिल्मका दुई मुख्य पात्र किताबका लाग्दैनन्। 

उपन्यासमा दुवै मेल नखाने अनुहारहरु। 

उपन्यासमा बाह्रमण रहेका अतितको भुमिकामा देखिएका आशिष पिया मङ्गोलियन अनुहारका छन्। काठमाडौंकी नेवार साया बनेकी रेवती क्षेत्रीले रैथानेपनलाई न्याय दिन सकेकी छैनन्। आशिषको हेयर स्टाइलले त कतिपटक उनलाई कोरियन हिरो किम ह्योङ जोङ जस्ता प्रतित गराउँछ।

जब पर्दामा आशिषकको वीग (नक्कली कपाल) प्रस्टै देखिन थाल्छ त्यही हेयर स्टाइलले दर्शकका आँखा बिझाउन थाल्छ। फिल्मा मङ्गोलियन अनुहारका आशिषमा झ्याप्प दारी निकै असुहाउँदो नै छ। एडप्टेड फिल्ममा उपन्यासका पात्रहरुमा नभेट्दा दर्शकलाई खल्लो लाग्नु स्वभाविक हो।

अझ द नोटबुक वा काइट्स रनर जस्ता उपन्यास र फिल्म दुवै हेरेर भरपुर इन्जोय गरेका पाठक/दर्शकले यस्ता फिल्ममा गर्ने अपेक्षा त्योभन्दा कम हुन सक्दैन। ममा पनि त्यो लागू नहुने कुरै थिएन। 

६ वर्षअघि युवा वर्गमा अतित र साया नयाँ प्रेम जोडीका रुपमा चर्चित थिए। दर्शकले चलचित्रबाट आश राख्ने नै भए। 

लेखकले नपत्याएका पात्रको अभिनयलाई पाठकले दर्शक बनेर हेर्दा कसरी पचाउलान्? प्रश्नको उत्तर विस्तारै आउने नै छ। 

पात्रहरुबीचको संवादमा स्तरीय छ। सामिप्यराज तिमल्सिना र सुबिनले मिलेर तयार पारेको संवाद पर्दामा मीठो सुनिन्छ। तर, पटकथामा भने अझै मिहिनेत गर्न सकिन्थ्यो। एउटा पूरै किताबलाई अढाइ घण्टामा देखाउन नसके पनि पटकथामा मिहिनेत गरिएको भए, उपन्यासलाई न्याय हुन्थ्यो। सुबिनले किताबमा उतारेका र पाठकले रुचाएका धेरै दृश्यको अभाव दर्शकलाई खट्कन्छ। 

आशिषको न्यारेसनसँगै बग्ने प्लट उपन्यासकै हिसाबले बग्दै जान्छ। दर्शकलाई इमोसनल फिल गराउने केही प्रयासहरु भएका छन्। तर, धेरै ठाउँमा कलाकारका अभिनयले त्यत्ति छुँदैन जति पाठक आफैले उपन्यास पढ्दा इमोसनमा बगेको हुन्छ। 
**

फिल्मको कथा उही। बिराटनगरका अतित शर्माले त्रिभुवन विश्वविद्यालमा काठमाडौंकी साया शाक्यलाई भेट्छ। दुईबीच प्रेम हुन्छ अनि प्रेम प्राप्तीका लागि गरिएको संघर्षले फिल्ममा द्वन्द सुरु हुन्छ। संघर्षका नतिजाले भने क्लाइमेक्समा पुर्‍याउँछ फिल्मलाई।   

उपन्यासभन्दा फरक कथा फिल्ममा छैन। तर, फिल्मले उपन्यासलाई न्याय पनि दिन सकेको छैन।  

दर्शकले सुबिनको 'समर लभ'लाई मुस्कान ढकालको फ्रेममा दुरुस्तै आशा गर्नु स्वभाविक हो। त्यो नभए पनि उपन्यासको मर्म खोज्लान्। तर, फिल्म हेर्नलाई दर्शकले उपन्यासलाई बिर्सनु नै पर्छ। या त उपन्यासलाई पर राखेर हल जाँदा हुन्छ। 

उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गरेका अतितको आलिशान कोठाले निर्देशक मुस्कानकको मुलधारे फिल्मको गन्ध आउँछ। साधारण रुपमा प्रस्तुत गरिएका दृश्यले उपन्यासमा अतितलाई स्थापित गरेको थियो। 

रजतपटमा डेब्यू गरेका आशिष र रेवतीले अपेक्षित काम गरेका छन्। दुवैले अभिनयमा मिहिनेत गर्नुपर्ने देखिन्छ। 

सायालाई भेट्न विदेश उड्नुअघि अतितले आफ्नो परिवारलाई सम्झेको दृश्यले मन छुन्छ। उक्त दृश्यमै पसलको एसटिडी फोन जुरुक्क उठाएर आशिष पसलभन्दा पर कुनामा गएर कुरा गरेको दृश्य अस्वभाविक लाग्छ।

उपन्यास पढेका पाठकलाई फिल्ममा अभाव खट्किएला। तर, सामान्य दर्शकलाई फिल्म मन पर्न सक्छ। 

फिल्मको सिनेमाटोग्राफीमा मनकृष्ण महर्जनको काम प्रशंसनीय नै छ। पार्श्व गायनमा पुस्पनको काम नोटिसेबल छ। नेपाली रजतपटमा हराएकी नम्रताको अभिनयमा भने केही सुधार पाइन्छ। ट्रेलरमा नदेखिएकी उनी फिल्ममा भने देखिएकी छिन्।

फिल्ममा साया भेट्न अतितले गरेको संघर्ष अझै देखाउन सकिन्थ्यो। पात्रहरुबीचको द्वन्द्वलाई प्रस्तुत गर्न सकिन्थ्यो। यसमा निर्देशक चुकेकै हुन्। सिरिज फिल्म बनाउन माहिर निर्देशकले त्यही प्रयास 'समर लभ' मा गरेको देखिन्छ। निर्देशकले सायाका बाँकी कथालाई अर्को फिल्ममा देखाउने वाचा गरेका छन्।  

पहिलो फिल्ममै उपन्यासलाई प्रस्तुत गर्न चुकेका निर्देशकले साया बनाउलान्?  दर्शक उत्तरको प्रतिक्षामा हुने नै छन्।



समर लभ : उपन्यास बिर्सेर हेर्नुपर्ने फिल्म (समीक्षा) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट