PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

वीरगंजको वीपी उद्यानमा शहीद पार्क शिलान्यासप्रति कांग्रेसको गम्भीर आपत्ति, तत्काल सच्चिन आग्रह


वीरगंजको वीपी उद्यानमा शहीद पार्क शिलान्यासप्रति कांग्रेसको गम्भीर आपत्ति, तत्काल सच्चिन आग्रह

काठमाडौं: नेपाली कांग्रेसले वीरगंजमा रहेको वीपी उद्यानलाई प्रदेश २ को सरकारले शहीद पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले आपत्ति जनाएको हो।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'वीरगंजमा वीपी कोइरालाका नाममा वीपी उद्यान निर्माण गर्ने विगतको योजना र निर्माण बदर गर्ने दुस्प्रयास भएको छ। हाम्रा नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको प्रयास भर्खरै असफल भएको छ। यही वेला त्यही प्रवृत्ति वीरगंजमा देखियो। वीपीको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश २ का मुख्यमन्त्रीले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ मा शिलान्यास गर्नु दुःखद त छ नै घोर आपत्तिजनक छ।'

माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीपी उद्यानमा शहीद पार्क बनाउन शिलान्यास गरेका थिए। 

पढ्नुस्: वीपी उद्यान हस्तक्षेप गरी शहीद पार्क शिलान्यास, प्रदेश सांसदले भने, 'वीपीको नाममा प्रदेश २ मा केही पनि बन्दैन'

कांग्रेसले गत माघ २४ गते केन्द्रीय समितिले शिलान्यासप्रति गम्भीर आपत्ति प्रकट गरेकोसमेत प्रवक्ता शर्माले उल्लेख गरे। 

'वीपी उद्यानकै नाममा शिलान्यास भइसकेको यावत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने दुस्साहस गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। अतः तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई नेपाली कांग्रेस गम्भीर ढंगले सचेत गराउन चाहन्छ,' शर्माले थपे, 'प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नामको पनि हो। अतः नियतवश गरिएको वीपी नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहसलाई तत्काल सच्याउन नेपाली कांग्रेस आग्रह गर्दछ। अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी पनि दिन चाहन्छु।'

नेपाली काँग्रेसले सो जग्गा वीपी उद्यानबाहेक अरु कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाउने गरी सरकारले वीपी उद्यानको नाममा जग्गाको पूर्जा उपलब्ध गराएको दाबीसमेत गरेको छ।



वीरगंजको वीपी उद्यानमा शहीद पार्क शिलान्यासप्रति कांग्रेसको गम्भीर आपत्ति, तत्काल सच्चिन आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट