PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अदालतले थाल्यो टीकापुर घटनाका वादी पक्षका ४४ को बकपत्र, रेशम चौधरीसहित २७ थुनिँदा ३१ अझै फरार



एम बम

अदालतले थाल्यो टीकापुर घटनाका वादी पक्षका ४४ को बकपत्र, रेशम चौधरीसहित २७ थुनिँदा ३१ अझै फरार

कैलाली: २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १ नाबालक र ७ प्रहरी मारिएको घटनाका केही अभियुक्त फरार रहेको र जिल्ला अदालतले थुनामा राख्न भनेका अभियुक्तहरु उपल्ला अदालतमा गएका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन। 


तीन बर्षपछि गत साउनमा उक्त मुद्दा पहिलोपटक पेशीमा चढेको थियो। कैलाली जिल्ला अदालतले त्यतिबेला प्रतिवादी पक्षका ५६ जनाको बकपत्र गर्‍यो। त्यसपछि सक्कली मिसिल सर्बोच्चमा रहेकाले मुद्दाको छानविन प्रक्रिया फेरि रोकियो।


गत पुस २३ गते सर्वोच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेपछि अहिले थप सुनुवाइ प्रक्रिया थालिएको हो। अहिले सक्कली मिसिल जिल्ला अदालतमा आइपुगेपछि कैलाली जिल्ला अदालतले बादी पक्षको बकपत्र शुरु गरेको छ। 


४४ जनालाई बकपत्रको लागि उपस्थित गराउन कैलाली जिल्ला अदालतले गत माघ १९ गते पुनः आदेश जारी गरे बमोजिम आजवाट बकपत्र लिन सुरु गरिएको हो। ९ जना जाहेरवाला, २३ जना मौकामा कागज गर्ने र १२ जना वस्तुस्थिति मुचुल्कामा कागज गर्ने व्यक्तिलाई उपस्थित गराइ वकपत्र लिन सुरु गरिएको आदलतका प्रवक्ता नरवहादुर नेगीले जानकारी दिए। पहिलो दिन आज आठजना उपस्थित भएकोमा ३ जनाको बकपत्र सकिएको उनको भनाइ छ। 


घटनामा संलग्नताको अभियोगमा रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा दायर गरिएको छ। हालसम्म सांसद चौधरीसहित २७ जना पक्राउ परेका छन् भने ३१ जना अझै फरार सूचीमा छन्। लामो समयदेखि मुद्दा फैसला नहुँदा पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेका छन्। पछिल्लोपल्ट अभियुक्त चौधरीलाई सांसदको शपथ दिलाएपछि राजनीतिक रंग दिन खोजिएको त होइन भनेर स्थानीयमा थप चिसो पसेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell