PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्ट्रेलिया मोह : १० करोडको घर ७० लाखमा फुत्कियो!



सविन ढकाल

अस्ट्रेलिया मोह : १० करोडको घर ७० लाखमा फुत्कियो!

काठमाडौँ : ‘तिम्रो घर पहिले नै धरौटीमा राखिएको रहेछ। अब फेरि अर्काको नाममा राख। अनि ऋण निकाल।'

राजन लिम्बु (परिवर्तित नाम)लाई पाल्पाका चिनजानका अर्याल थरका एक व्यक्तिले सुझाव दिए।

कुरो दुई वर्ष अघिमात्रको हो। राजनलाई अस्ट्रेलिया जान भूतले छोपिसकेको थियो। तर, विदेश जानका लागि आवश्यक पर्ने रकम साथमा थिएन। घर धान्दै आएका बुबाको पनि पाँच वर्ष अगाडि नै मृत्यु भइसकेको थियो।

छोरा र परिवारको नाममा बाबुले भने सानेपामा दश आना भन्दा बढीमा बसेको महँगो घर भने छोडेर गएका थिए। राजन बुबाको नाममा रहेको

घर बैंकमा राखेर ऋण निकाल्ने सोचमा पुगे। 

अस्ट्रेलिया पुगेपछि त कमाइएला नि! भन्ने राजनको सोच थियो।

तर, राजनलाई फेरि एउटा समस्या आइलाग्यो। बुबाले त यसअघि नै घर बैकमा ऋण राखेर २५ लाख रुपैयाँ झिकेका रहेछन्। त्यसमा फेरि ऋण

कसरी झिक्ने? हरेक उपाय लगाए। अन्ततः ७० लाख रुपैयाँ हात पर्‍यो।

२ वर्षछि ...

‘हाम्रो घर खाली गर्दिनुहोला,' लिम्बुको घरमा पुगेका एक अन्जानले आदेशको शैलीमा भने, 'यो घर हामीले किनिसकेका छौँ।' 

अप्रत्यासित रुपमा घरमाथिको अरु कसैको दावी सुनेपछि लिम्बु परिवार झसङ्ग हुन्छ। 'हामीले त घर बिक्री नै गरेका छैनौं,' उनीहरुले त्यसै भने। 

भोजपुर घर भएका ती व्यक्तिले साढे ३ करोड रुपैयाँमा घर किनेको दावी गरे। त्यतिमात्र होइन उनीसँग घरको सम्पूर्ण कानुनी कागजपत्र पनि रहेछ। 

घर कसले बेच्यो?  

जब जवाफ सुने उनीहरू छाँगाबाट खसे झैँ भए। घर बिक्री गर्ने कोही नभएर तिनै अर्याल रहेछन् जसले भनेका थिए - 'तिम्रो घर पहिले नै धरौटीमा राखिएको रहेछ। अब फेरि अर्काको नाममा राख। अनि ऋण निकाल।'

लिम्बु परिवार आफू ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुग्यो। तर, प्रहरी नै उजुरी लिने कि नलिने दोधारमा पर्योक। ‘कानुनी रूपमा हेर्दा कुनै ठगी भएको देखिँदैन तर ठगिएको भन्ने बुझ्न सकिन्छ,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
आखिर कसरी ठगिए लिम्बु परिवार? 

डिएसपी बोगटीले सुनाए - 'एक पटकबाहेक घर धरौटीमा ऋण नपाउने भएपछि विभिन्न कागजपत्र मिलाएर घर उनले अर्यालको नाममा पास गरेका रहेछन्। तर, अर्याल र लिम्बु परिवारबीच ऋण निकाल्नका लागि मात्र घर पास गरिदिएको छुटै कागज पनि भएको रहेछ।'

ऋण तिरेपछि... 

राजनसँग अब अर्यालसँग भएको साधारण कागजपत्र मात्र छ। डिएसपी बोगटीले भने, 'हामीले अर्याललाई बोलाएर पनि सोधपुछ गरेका छौं। उसले सोचेर गर्छु भनेको छ।'

दश आनामा फैलिएको घरको अहिले बजार मूल्य १० करोड भन्दा बढी पर्ने प्रहरीको अनुमान छ। कानुनी रुपमा अर्याललाई समात्ने आधार प्रहरीसँग छैन। लिम्बु परिवार भने नराम्ररी फसेको छ। के हुन्छ त अब? प्रहरी नै अन्योलमा छ।

सम्वन्धित समचार

अस्ट्रेलियाको सपनामा डिपेन्डेन्ट भिसाको आशा: पैसा त गुम्यो गुम्यो अंश नै खोसिने पीर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell