PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

महासचिव भएपछि भारतमा प्रियंका गान्धीको पहिलो 'रोड शो':विश्वमा आज


महासचिव भएपछि भारतमा प्रियंका गान्धीको पहिलो 'रोड शो':विश्वमा आज
फोटो : PTI

प्रियंकाको 'रोड शो'

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन्।

उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेवारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्‍यालीमा सहभागी भएकी हुन्। कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए।

 

लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म गाडीबाट गान्धीले झण्डै पाँच घण्टा 'रोड शो' गरेको बताइएको छ। यो भन्दा पहिला कांग्रेसका लागि चुनावी अभियानमा सहभागी भएता पनि प्रियंकाले कांग्रेसभित्र महत्वपूर्ण पदमा रहेर काम गरेकी थिइनन्। भारतमा केही महिना पछि हुने निर्वाचनमा प्रियंकालाई कांग्रेसको स्टार प्रचारकका रुपमा हेरिएको छ। 

गएको निर्वाचनमा प्रियंकाले उनका भाइ (हाल भारतीय कांग्रेसका अध्यक्ष) राहुल गान्धी र उनकी आमा सोनिया गान्धीका लागि अमेठी र राय बरेलीको चुनावी अभियानको नेतृत्व गरेकी थिइन्। कांग्रेसले उक्त निर्वाचनमा नराम्रो पराजय भोगे पनि राहुल र सोनिया निर्वाचित भएका थिए। 

यमनको खाद्यान्न कुहिने खतरा

यमनको युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पठाएको खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको यमनका लागि राष्ट्रसङ्घीय विशेष दूत मार्टिन गिफ्रिथले बताएका छन्। यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा एक महिनाका लागि दशौँ लाख मानिसलाई पुग्ने सामान छ। तर उक्त सामान सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ।

‘ब्रेक्जिट’बारे वार्ता

बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्ने भएकी छिन्। मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा जवाफ दिएको जनाइएका छन्। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागु नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताएइएको छ। लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन ।

फोटो : REUTERS/ EPA



महासचिव भएपछि भारतमा प्रियंका गान्धीको पहिलो 'रोड शो':विश्वमा आज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट