PahiloPost

Jul 17, 2019 | १ साउन २०७६


प्रधानमन्त्री रेलको कुरा गर्नुहुन्छ, म चन्द्रमामा रकेट पुर्‍याउने कुरा गरिदिउँ? : रवीन्द्र मिश्र


पहिलोपोस्ट

प्रधानमन्त्री रेलको कुरा गर्नुहुन्छ, म चन्द्रमामा रकेट पुर्‍याउने कुरा गरिदिउँ? : रवीन्द्र मिश्र

ठूलो आशा र अपेक्षासहित नयाँ संविधान बनिसकेपछिको पहिलो चुनावमा दुई तिहाईको सरकार बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मकभन्दा नकारात्मक धारणा बलियो बन्दैछ। किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। यस परिप्रेक्ष्यमा तेस्रो विकल्पको सम्भावना कति छ? पहिलोपोस्टका वीपी साहले पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसित गरेको कुराकानी

•    दुई तिहाइ हुनु नहुनु अब गौण विषय भयो। न्यूनतम अपेक्षा पनि यसले पूरा गर्न सकेको छैन।
•     म चन्द्रमामा रकेट पुर्‍याउने कुरा गरिदिउँ? जमानामा कृष्णप्रसाद भट्टराईले भन्नुभए जस्तो १० वर्षमा सिंगापुर बनाउने कुरा गरिदिउँ? अथवा मेलम्चीको पानीले काठमाडौं उपत्यकामा सबैको छेलोखेलो जस्ता कुरा गरिदिउँ? मञ्चमा आएर सपना देखाउनुको कुनै अर्थ छैन।
•    हाम्रा पार्टीका एक जना नेता डा.सूर्यराज आचार्यले बारम्बार भन्नुहुन्छ, दलहरूको संरचना यस्तो छ जहाँ एउटा प्वालबाट गौतम बुद्धलाई हाल्यो भने अर्को प्वालबाट निस्किदा त्यो चार्ल्स शोभराज भएर निस्किन्छ।
•    पुराना दलहरूले हामीजस्ता नयाँलाई के भन्छन् भने यिनीहरूको विचारै छैन। म उहाँहरूलाई चुनौती दिन्छु, टेलिभिजन अन्तर्वार्ता होस् या कुनै पनि अन्तर्वार्तामा, आउनुस्- विचारको बारेमा मात्रै बहस गरौं।
•    मार्क्सका पिछलग्गुहरू मार्क्सले लगाइदिएको चश्मा अहिले पनि लगाएरै हिंड्ने र त्यो चश्मा बदल्दै नबदल्नेहरूले हामीलाई पिछलग्गु भन्नै मिल्दैन।
•    चार पाँच वर्ष अगाडि देशलाई धर्म निरपेक्ष बनाउने अनि अहिले देशको एउटा प्रमुख दलको नेता भएर अब त्यो चाहिँ भएन, त्यसमा जनमत संग्रह गर्नुपर्‍यो भन्ने? त्यही हो विचार? अनि बाबुरामजी आफै बसेर संविधान बनाउने, आफैले सम्पूर्ण संरचना कोर्ने, आज त्यहीं संविधान चाहिँ अब तुरून्तै बदल्नुपर्छ भन्ने त्यो चाहिँ विचार भयो?


० दुई तिहाईको सरकारलाई कसरी हेरिरहनुभएको छ?
— नेपालमा एउटा सोचाइ के थियो भने सरकारहरू स्थिर भएनन्। सरकारको बहुमत भएन, त्यसले स्थिरता भएन र स्थिरता नभएको हुनाले विकास सम्भव भएन। तर, मैले र मेरा कतिपय साथीहरूले गरिराखेको एउटा तर्क के थियो भने नेपालका पार्टीहरूमा संरचनागत समस्या छन्। त्यो कारणले गर्दा बहुमतको सरकार भए पनि अझ अहिले त दुई तिहाईको समर्थन प्राप्त छ त्यसले डेलिभर गर्न सक्दैन भन्ने थियो। त्यसकारणले अहिलेको सरकारको मूल समस्या त्यो पार्टीसँग गएर जोडिन्छ। त्यसै कारणले दुई तिहाइ हुनु नहुनु अब गौण विषय भयो। 

० भनेपछि जुन अपेक्षा गरिएको थियो त्यसमा अहिलेको सरकार खरोरूपमा प्रस्तुत हुन सकेन?
— खरो रूपमा त कुरै छोड्नुस्, न्यूनतम अपेक्षा पनि यसले पूरा गर्न सकेको छैन। 

० जस्तै?
— हेर्नुस् न, दुई तिहाइको समर्थन प्राप्त छ, जनजीविकाका सवालमा होस्, अर्थतन्त्रका सवालमा होस्, शान्ति सुरक्षाका सवालमा होस्, पूर्वाधार विकासका सवालमा होस्, भ्रष्टाचार न्यूनीकरणको सवालमा होस् कुन चाहीँ विषयमा अहिलेको सरकारले जन अपेक्षाअनुसार काम गर्न सकेको छ? कुनै पनि छैन। 

० तर रेल, तेल, बिजुली, समृद्धिका कुराहरू गरिरहेको छ नि त?
— म चन्द्रमामा रकेट पुर्‍याउने कुरा गरिदिउँ? जमानामा कृष्णप्रसाद भट्टराईले भन्नुभए जस्तो १० वर्षमा सिंगापुर बनाउने कुरा गरिदिउँ? अथवा मेलम्चीको पानीले काठमाडौं उपत्यकामा सबैको छेलोखेलो जस्ता कुरा गरिदिउँ? तर, जब सरकारले तथ्यको आधारमा टेकेर भ्रष्टाचार न्यूनीकरण गरेर, क्षमतालाई प्रवर्द्धन गरेर इमान्दारीपूर्वक काम गर्न सक्दैन तबसम्म मञ्चमा आएर सपना देखाउनुको कुनै अर्थ छैन। 

० जुन जगमा यो पार्टीले यतिका जनमत पायो, त्यतिबेलाका राष्ट्रवादका कुरा अहिलेसम्म कायम छ त?
— नेपाली मनोविज्ञान असाध्यै प्रतिक्रियात्मक छ। त्यसका विविध कारणहरू छन्। एउटा कारण हाम्रो चेतनाको स्तर पनि हो। हाम्रो शिक्षाको गुणस्तर पनि हो। यो प्रतिक्रियात्मक भएका कारणले गर्दा जतिबेला नाकाबन्दी भयो र केपी ओलीले जुन किसिमको अडान लिनुभयो, त्यतिबेला सर्वसाधारणले उहाँका विगतका सम्पूर्ण कमजोरीहरूलाई बिर्सिएर त्यसैलाई प्रधान ठाने। गएको निर्वाचनमा उहाँको दलले बहुमत ल्याउनमा प्रमुख भूमिका निर्वाह गर्‍यो। तर, त्यो यति आडम्बरपूर्ण थियो कि एकातिर जनताको मत जित्नका लागि गरिएको थियो तत्कालका लागि। त्यो स्थिर देशभक्तिको धारणा थिएन। देशभक्तिको धारणा भनेको त इमान्दारी पनि हो नि। देशभक्तिको धारणा भनेको त देशको हितलाई सबभन्दा प्रधान राखेर आफन्त, आफू निकटका, पार्टीको हितलाई गौण सम्झिने पनि त हो नि। देशको हितलाई प्रधान सम्झेपछि त पार्टीको स्वतः हुन्छ नि। त्यसकारणले त्यो असाध्य अस्थायी प्रकृतिको थियो। त्यतिबेला उहाँले बुझ्नुभयो, अहिले मैले यस्तो अडान लिएँ भने जनता मेरो वरिपरि एकत्रित हुन्छन् भन्ने महसुस गर्नुभयो, उहाँले त्यहीं गर्नुभयो। त्यो आधारमा चुनाव जित्नुभयो र अहिले त्यो भ्रम निवारण हुँदैछ। 

० त्यसो भए, कम्युनिष्ट पृष्ठभूमिका दलहरू नेपालमा टिक्नै नसक्ने खालका हुन् त?
— कम्युनिष्ट पृष्ठभूमिबाट आएका दलहरू नेपालमा टिक्नै सक्दैन भन्न मिल्दैन। किनभने अहिले पनि समग्रमा हेर्दा अत्याधिक बहुमत आफूलाई वामपन्थी भन्नेहरूको छ। त्यसलाई हामी इन्कार गर्न सक्दैनौं। तर, यसको समस्या हामीले सतहमा हेरेर हुँदैन। यसको समस्या पत्ता लगाउनका लागि हामी दलहरूको चरित्रको गहिराईमा जानुपर्छ। 

० के छ समस्या त?
— अहिलेको सम्पूर्ण समस्या अथवा देशको अविकासको दशकौंदेखि हामीले जुन किसिमका अभ्यासहरू गर्दै आएका छौं, त्यसको अविकासको मूल समस्या भनेको दलहरूको संस्थागत निर्माणमा आएर ठोकिन्छ। नेपालका दलहरूमा तीन वटा समस्या छन्। एउटा संरचनागत, दोस्रो वैचारिक र तेस्रो दलका नेताहरूको आचरणगत समस्या छन्। 

संरचनागत समस्या भनेको तपाइँले यस्तो किसिमबाट यो दलहरू निर्माण गर्नुभएको छ, जहाँ एकदमै ऊर्जावान, सकारात्मक सोच भएका मान्छेले त्यो दलमा प्रवेश गर्‍यो भने त्यो दलमा उसले खुड्किला चढ्दै टुप्पोमा पुग्दा ऊ भ्रष्ट भएर अथवा कुनै डेलिभर गर्नै नसक्ने भएर निस्किन्छ। त्यसै भएर हाम्रा पार्टीका एक जना नेता डा.सूर्यराज आचार्यले बारम्बार भन्नुहुन्छ, दलहरूको संरचना यस्तो छ जहाँ एउटा प्वालबाट गौतम बुद्धलाई हाल्यो भने अर्को प्वालबाट निस्किदा त्यो चार्ल्स शोभराज भएर निस्किन्छ। ४० वर्षको उमेरमा हुँदा शेरबहादुर देउवाको ऊर्जा, उनको देश रूपान्तरण गर्ने प्रतिबद्धता तपाइँ र हाम्रोभन्दा कम थिएन। तर, उहाँ जब प्रधानमन्त्री बन्नुभयो त्यतिबेलासम्म उहाँका ती ऊर्जा र उहाँका आकांक्षाहरूमा वरिपरिबाट खिया लागिसकेको थियो। 

त्यसैगरी, कम्युनिष्ट पार्टीको हालत पनि त्यहीं हो। तपाइँले यस्तो किसिमको संस्था बनाउनुभएको छ जहाँ तपाइँले भ्रष्ट नभइकन, गैरइमान्दार नभइकन, स्वार्थी नभइकन, चाकडीबाज नभइकन तपाइँ माथि चढ्नै सक्नुहुन्न। तपाइँले क्षमतालाई प्रवर्द्धन गर्नै सक्नुहुन्न। भर्‍याङ चढेर हिंड्नका लागि तपाइँले इमान्दारी गुमाउनैपर्छ। अब तपाइँ त्यस्तो संरचना बनाएर विकास कसरी गर्नुहुन्छ? त्यो संरचनाभित्र अझ के थप्नुभएछ, कर्मचारीहरूको युनियन। यस्तो किसिमको संरचना बनाएर संसारमा एउटा देश देखाउनुस् मलाई जसले प्रगति गरेको छ। त्यसैले सबभन्दा पहिला संरचनागत सुधार गर्नुपर्‍यो। सुसंस्कृत पार्टी निर्माण गर्नुपर्‍यो। 

त्यसपछि आउँछ वैचारिक कुरा। पुराना दलहरूले हामीजस्ता नयाँलाई के भन्छन् भने यिनीहरूको विचारै छैन। म उहाँहरूलाई चुनौती दिन्छु, टेलिभिजन अन्तर्वार्ता होस् या कुनै पनि अन्तर्वार्तामा, आउनुस्- विचारको बारेमा मात्रै बहस गरौं। हामीले हाम्रो विचार कल्याणकारी लोकतन्त्र भनेका छौं। कल्याणकारी लोकतन्त्र त्यसै हावाको भरमा भनेको होइन। संसारको सय वर्षे अर्थराजनीतिको इतिहास हेर्‍यो भने कल्याणकारी राज्य र लोकतन्त्रलाई अवलम्बन गर्ने देशहरूले सबभन्दा राम्रोसँग, शान्तपूर्ण ढंगसँग, स्थिरता र समतामूलक ढंगसँग प्रगति गरेको देखियो। त्यो धनी देशहरूको विषयमा मात्रै लागू हुँदैन। त्यो विपन्न नै हुँदा अथवा तुलनात्मक विपन्नता हुँदा पनि कल्याणकारी राज्यको अवधारणालाई जसले अँगीकार गरे तिनीहरूले राम्रोसँग विकास गरेर अगाडि बढे। अहिले संसारका ठूलठूला अर्थशास्त्रीहरूले कल्याणकारी पक्षलाई राज्यले अवलम्बन नगर्ने हो भने कहिले पनि त्यहाँ शान्ति, स्थिरता र विकास दिगो हुँदैन भनेर भन्छन्। 

नेपाली कांग्रेसले अथवा कम्युनिष्ट पार्टीले आएर भन्न सक्छ समाजवादमा के फरक थियो र? समाजवादी लोकतन्त्र र कल्याणकारी लोकतन्त्रमा मिहीन भिन्नता छ। समाजवादी लोकतन्त्रमा तपाइँले सबभन्दा पहिलो कुरा त त्यसले धन कमाउनेहरूको एउटा सिलिङ्ग निर्धारण गरिदियो। एउटा सीमा निर्धारण गरिदिएको हुन्छ। उनीहरूलाई कुण्ठित गरिदिएको हुन्छ। समाजवादले समाजलाई समान बनाउन प्रयास गर्छ। समान प्रकृतिको नियम विपरीत हुन्छ। कुनै पनि हालतमा समाज एकरूपको हुनै सक्दैन। कल्याणकारी लोकतन्त्रले समाजलाई समतामूलक बनाउन खोज्छ। धनी र गरीबबीचको दूरीलाई कम गर्दछ। तर, कम गर्ने क्रममा धनीहरूको धन कमाउने अधिकारलाई नियमन मात्रै गर्छ तर कुण्ठित गर्दैन। 

त्यसैगरी समाजवादी लोकतन्त्रभन्दा त्यहाँभित्र भ्रष्ट कांग्रेस र कम्युनिष्ट पनि अटाउने। चीन जस्तो देशले पनि आफ्नो अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्र भनेर भन्ने। अनि त्यसपछि अरू धेरै लोकतन्त्र नभएका देशहरूले पनि आफ्नो अर्थतन्त्रलाई समाजवादी भन्ने भन्दाखेरि यति गाँजेमाँजे भयो कि समाजवादी भन्दाखेरि त्यसको स्पष्ट चित्र कस्तो हो भने अब देखिनै छाड्यो। त्यसैले हामी कल्याणकारी लोकतन्त्र भनेका छौं। हाम्रो वैचारिक स्पष्टता छ। तर, जसले वैचारिक स्पष्टता छ भनेका छन् कांग्रेस र कम्युनिष्टले समाजवादउन्मुख संविधान लेखे। आफूलाई समाजवादी भने तर समाजवादी भन्नेले देशमा शिक्षा र स्वस्थ्य राज्यको प्रमुख दायित्व हो भनेर कहिल्यै पनि स्वीकारेनन्। अहिले पनि उनीहरू के लडाइँ लड्दैछन् भने हाम्रा नेताहरूले शिक्षा र स्वास्थ्यमा लगानी गर्न पाउनुपर्छ र तिनीहरूको निजी प्रभुत्व स्थापित हुनुपर्छ। संसारमा एउटा पनि त्यस्तो देश छैन जसले आफूलाई समाजवादी भनेर शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व होइन, त्यहाँ निजी शिक्षा र स्वास्थ्यका संस्थाहरूको प्रभुत्व होस् भन्ने कुराले स्वीकार गरेको छैन। 

 त्यसैगरी, न्यून आय भएकाहरूलाई आवासको व्यवस्था र सामाजिक सुरक्षा प्रत्याभूत गर्नुपर्छ। त्यो गर्न नसक्ने स्थितिमा नेपाल होइन। त्यो क्रमिक रूपमा हुन्छ। अहिले हामी न्यून आयमा छौं, जब हामी मध्यम आयको ब्राकेटमा प्रवेश गर्छौं, अलिकति बढी गर्न सक्छौं। त्यहाँबाट उच्च मध्यममा पुग्छौं, अझ बढी गर्न सक्छौं र उच्च आयको राष्ट्रमा पुगेपछि झन् बढी गर्न सक्छौं। त्यसो भएको हुनाले उहाँहरूको विचारमा पनि एकदमै समस्या छ। अहिले पनि कांग्रेसले बीपीको समाजवाद र कम्युनिष्टहरूले सम्पत्तिबाट सर्वहाराहरूको अधिनायकत्वको सोच र अवधारणा बेचेर राजनीति गरिरहेका छन्। जुन नितान्त गलत छ। 

अब आचरणका कुरा गरौं। तपाइँले जतिसुकै विचार बनाउनुस्, जतिसुकै पार्टी बनाउनुस्, त्यो पार्टी र त्यो विचारको नेतृत्व गर्नेहरूमा इमान्दारी, क्षमता भएन भने उनीहरूले कहिल्यै पनि देशको रूपान्तरण गर्न सक्दैनन्। हामी कहाँ त नेतृत्व कसले गरिरहेका छन् भने जिन्दगीभर कुनै कर्म नगरिकन पैसा टन्न कमाएर महल बस्नेहरू छन्। अनि तपाइँ रूपान्तरणको अपेक्षा गरिराख्नुभएको छ। हामीकहाँ घर हुँदाहुँदै घरभाडाको पैसा खानेले नेतृत्व गरिरहेका छन्। झुठो इन्धनको पैसा पिउनेले नेतृत्व गरिरहेका छन्। अनि तपाइँ रूपान्तरणको अपेक्षा गर्नुहुन्छ। असम्भव छ। त्यसै कारणले संरचनागत, वैचारिक, आचरणगत सुधार नगर्ने हो भने दुई तिहाइ त के ९० प्रतिशत समर्थन प्राप्त सरकार भएपनि त्यसले डेलिभर गर्नै सक्दैन। 

० तपाइँले सरकारको पाटाहरू केलाउनुभयो, प्रतिपक्षीले पनि राम्ररी भूमिका खेल्न नसकेको हो कि?
— प्रतिपक्षीले राम्रो खेलोस् कसरी भन्या। प्रतिपक्षी आफ्नै दलको गन्जागोलमा यसरी अल्झिएको छ कि न त्यहाँ पद्धति छ, न पारदर्शिता छ, न उत्कृष्टता उसले प्रदर्शन गर्छ, न कोही सक्षम छन्। जो कोही छन्, तिनीहरू सबै ओझेलमा परेका छन्। तिनीहरू भर्‍याङ चढ्न खोज्दाखोज्दै जिन्दगी बित्न लागिसक्यो। त्यसकारण प्रतिपक्षी त एकदमै कमजोर देखियो। त्यसमा दुईमतै छैन। तर, प्रतिपक्षी कमजोर हुनुमा पनि संरचनागत, वैचारिक र आचरणगत समस्याहरू प्रधान छन्। 

० कतिपय कुराहरूमा प्रतिपक्ष र सत्तापक्ष गन्जागोल भएको अवस्थामा तेस्रो ध्रुव वा तेस्रो शक्ति उदयको सम्भावना के छ? 
— नेपालमा तेस्रो धारको शक्तिको प्रवल आवश्यकता छ, सम्भावना छ र त्यसले मात्रै देश रूपान्तरण गर्न सक्छ भनेर आजभन्दा चार पाँच वर्ष अगाडिदेखि मैले लेखहरू लेखेको थिएँ र पछि तयारी गरेर राजनीतिक दल नै हामीले सुरू गर्‍यौं। नेपालको परिप्रेक्ष्यमा दलहरूमा जस्तो किसिमको संस्थागत समस्याहरू छन् त्यो संस्थागत समस्यालाई उनीहरूले अबको दुई तीन वर्षमा हल गरे भने अझै केही समय रहलान्। तर, त्यो हल गर्ने सम्भावना अत्यन्तै न्यून छन्। त्यो हल गर्न नसक्ने हुनाले अब एउटा सुसंस्कृत तेस्रो धारका लागि नेपालमा प्रवल सम्भावना छ। त्यसैभएर तपाइँले महसुस गर्नुभएको होला, हामी जन्मिएको डेढ वर्ष पनि भएको छैन तर हामीप्रतिको आशा र भरोसा असाध्य नै उच्च छ।

० तेस्रो धारको दावी गर्ने तपाईँहरु नै फुटेर दुई टुक्रा हुनुभयो नि। 

— पहिलो कुरा यसलाई फुट भन्न मिल्दैन। केही साथीहरु छुट्टिएर जानु भएको हो। दोसो कुरा नेपाली समाज र राजनीति परिवर्तन गर्ने हो भने पार्टीबाट एउटा समूह छुटिएर गएको घटनालाई घुम्तीमा आएको एउटा अवरोधको रुपमा हेर्नु पर्छ। सगरमाथाको टाकुररामा पुग्ने यात्रा जतिसुकै योजना र व्यवस्था गरे पनि अवरोधरहित हुन सक्दैन। त्यसैले हाम्रो यात्रा जारी छ। र, त्यो अझ दृढताका साथ अघि बढ्छ। र हामीलाई नेपालभित्र र नेपाल बाहिरबाट जस्तो किसिमको साथ सहयोग र समर्थन मिलेको छ त्यसले हाम्रो आत्मविश्वास अझै बढेको छ।

० बीच–बीचमा यस्ता शक्तिहरू उदाएका देखिन्छन् तर कसैले हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् नि?
— तेस्रो धार अथवा सशक्त वैकल्पिक पार्टी निर्माण गर्न जजस्ले प्रयास गरे तिनीहरूको ढंगै पुगेन। हामी त्यो ढंग पुर्‍याउँछौं र सफल हुन्छौं भन्ने हाम्रो दृढता हो। डा.देवेन्द्रराज पाण्डेहरूले प्रयास गर्नुभयो। २०४६ सालपछि नै उहाँहरूले प्रयास गर्नुभयो, उहाँहरूले पनि सक्नुभएन। त्यसपछि कुबेर शर्मा आउनुभयो, त्यसपछि हरि रोक्का, नारायण ढकाल, घनश्याम भुसालहरूले पनि कोशिस गर्नुभयो। त्यसपछि बाबुरामजीले पनि कोशिस गर्नुभयो। चार पाँच वर्षदेखि विवेकशील दलले पनि प्रयास गरी नै रहेको छ। यी सबै इतिहास हेर्दा के देखिन्छ भने ती सबै अस्तित्वमा आए कि विखण्डित भए कि साँघुरो घेराभित्र सीमित भए। अहिले विवेकशील साझा पार्टी निर्माण भएपछि त्यो घेरा त हामीले तोडिसक्यौं। अहिले हामी वास्तवमा भन्ने हो भने गएको चुनावमा पनि हामीसँग संगठन थिएन, सदस्यताको आधार थिएन। त्यति हुँदाहुँदै पनि देशको पाँचौं ठूलो दल भयौं, प्रदेश ३ मा हाम्रा तीन जना सांसद, प्रदेश ४ मा हामीले थ्रेसहोल्ड कटाएका हौं र देशभरिबाट दुई लाख १२ हजार मत लिएर आएका हौं। त्यसकारणले हाम्रो सम्भावना एकदमै प्रवल छ। आउँदो चुनावमा हामी ठूलै धक्का मार्नेवाला छौं। 

० राजनीतिक विश्लेषक खगेन्द्र सँग्रौलाका अनुसार तपाइँहरू इमोसनल कुराहरू मात्रै गरेर राजनीति गर्न खोज्नुभयो नि?
— अघि पनि मैले विचारको कुरा गरेँ र विचारको व्याख्या पनि गरें। इमोशनल कुरा मात्रै गर्ने भन्ने साथीहरूसँग विचारको बहस गर्न रहर छ र राजनीति भनेको विचार मात्रै होइन भावना पनि हो। भावना र विचार दुइटाको सम्मिश्रण हुन्छ राजनीति। पूरा विचार लिएर मात्रै पनि राजनीति हुँदैन र भावना मात्रै बोकेर पनि राजनीति हुँदैन। त्यसै कारणले विचार र भावना दुईटै आवश्यकता हुन्छ। 

० यस्तै, डा.बाबुराम भट्टराईले भन्नुभएको छ कि तपाइँ पश्चगामी शक्तिहरूतिर झुकाव राख्नुहुन्छ रे?
— मार्क्सका पिछलग्गुहरू मार्क्सले लगाइदिएको चश्मा अहिले पनि लगाएरै हिंड्ने र त्यो चश्मा बदल्दै नबदल्नेहरूले हामीलाई पिछलग्गु भन्नै मिल्दैन। हामी अहिलेका दलहरूभन्दा अग्रगामी पार्टी हौं। किनभने हामी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मान्छौं। यो संविधानको संरचनाभित्र बसेर यो देश रूपान्तरण गर्न सकिन्छ भन्दैछौं। यो विचार होइन, संविधानको धारा नै परिवर्तन गर्नुपर्छ भन्ने मात्रै विचार हो? कि शशांक कोइरालाले भनेजस्तो हिन्दू धर्मको बारेमा जनमत संग्रह गर्नुपर्छ त्यो चाहिँ विचार हो? चार पाँच वर्ष अगाडि देशलाई धर्म निरपेक्ष बनाउने अनि अहिले देशको एउटा प्रमुख दलको नेता भएर अब त्यो चाहिँ भएन, त्यसमा जनमत संग्रह गर्नुपर्‍यो भन्ने? त्यही हो विचार? अनि बाबुरामजी आफै बसेर संविधान बनाउने, आफैले सम्पूर्ण संरचना कोर्ने, आज त्यहीं संविधान चाहिँ अब तुरून्तै बदल्नुपर्छ भन्ने त्यो चाहिँ विचार भयो? त्यो त जहिले पनि देशलाई प्रयोगशाला बनाउने र भाँडभैलो गर्ने बाटो भयो। त्यो विचारै होइन। उहाँहरू नितान्त स्वार्थमा केन्द्रित भएर कसरी म प्रधान हुनसक्छु भनेर मात्रै सोच्नुहुन्छ। त्यही भएर कम्युनिष्ट पार्टीबीच एकता हुँदा नयाँ शक्ति पार्टी हात मिलाउन गएको हो कि होइन? भोलिपल्टै फेरि त्यहाँबाट छोडेर कांग्रेससँग हातेमालो गर्न गएको हो कि होइन? त्यो विचार भयो? विचारमा स्थिरता भयो? उहाँहरूले पहिला आफ्नो अनुहार आफ्नै ऐनामा हेर्नुपर्छ। 

० तर, बाबुरामजीको पार्टीले उठाएको एजेन्डा कम्युनिष्ट र कांग्रेसभन्दा एउटा नयाँ विचारको प्रतिपादन गर्दैछ भन्दैछन् नि?
— अब हेर्नुस्, उहाँहरूलाई त गएको चुनावमै हामीले पछि पारिसक्यौं। लिड त हामीले गर्ने हो अब। उहाँहरूले गर्न सक्नुहुन्न। उहाँहरू नयाँ बोरामा पुरानो चामल हाल्दैमा नयाँ हुनसक्दैन। सबै सोच पुरानो, आचरण पुरानो, व्यक्ति पुरानो, त्यसबाहेकका जुन विसंगतिहरू छन् ती सबै पुरानो अनि त्यहाँबाट नयाँको नेतृत्व गर्ने? अनि हामी चाहिँ नेतृत्व गर्न नसक्ने? 

० नेपालमा फेरि हिन्दूत्वका कुराहरू उठ्न थाले, पछिल्लो कांग्रेसको महासमितिमा पनि देखियो, पूर्वराजाको सक्रियताले पनि देखिन्छ। कमल थापाको एउटा नयाँ अभियानले पनि देखिन्छ, त्यसको सम्भावना कतिको देख्नुहुन्छ?
— यिनै कुराहरूमा दलहरूले धोका दिए मात्रै त्यसको सम्भावना छ। तर, हामी फेरि नेपाली जनतालाई धोका दिने पक्षमा छैनौं। हरेक चोटि वर्षैपिच्छे संविधानमाथि खेलवाड गर्ने, आचरण छैन, इमान छैन, प्रबिद्धता छैन, क्षमता छैन अनि वर्षेपिच्छे संविधान बदल्ने? यस्ता पश्चगामी शक्तिहरूमाथि हामी हावी हुन्छौं। उहाँहरू सोध्नुस् तपाइँहरूलाई कुन अधिकार छ हरेक तीन चार वर्षमा मनलागे धर्म निरपेक्षता भनेर राख्ने, अनि फेरि जनमत संग्रह गरौं भन्ने, गणतन्त्र भनेर सातवटा प्रदेश राख्ने, अनि सात वटा होइन दश वटा बनाऔं अथवा गणतन्त्र खारेज गरौं भन्ने, धर्मनिरपेक्षतामाथि प्रश्न गर्ने? कमल थापाजी गणतान्त्रिक सरकारमा बसेर मन्त्री हुनुभएको, उहाँलाई अप्ठ्यारो लाग्नुपर्छ कि पर्दैन? उहाँ बाहिर बसेर विरोध गर्नुपर्दथ्यो। आफूले पाउँदा जेपनि स्वीकार्ने, आफूले नपाएपछि त्यसको विरोध गर्ने? त्यसैगरी अरू दलका नेताहरूको त के कुरा गर्ने। त्यसै कारणले गर्दा उहाँहरू पश्चगामी हुनुहुन्छ, नेपाललाई विदशी शक्तिले होइनले यहाँ दलहरूले निरन्तर प्रयोगशालाका वस्तु बनाएका छन्। तर अब बनाउन सक्नुहुन्न। किनभने हामी छौं अब। यो देशको लोकतन्त्र, समतामूलक विकास, समावेशिताको रक्षा साँच्चिकै अब हामी गर्छौं। ठिक छ, ती सबै कुरा उहाँहरूले ल्याउनुभयो, तर उहाँहरूले फेरि तिनै विषयमाथि राजनीति गर्ने प्रयास गरिरहनुभएको छ। 

० विवेकशील साझाको जुन नारा छ कि हाम्रै जीवनकालमा विकास र समृद्धि सम्भव छ, यो कसरी?
— संसारको इतिहास हेर्नुभयो भने हामीभन्दा धेरै नै गएगुज्रेका देशहरू, धेरै नै जातीय द्वन्द्वमा फँसेका देशहरू, हामीभन्दा अत्यन्त कम स्रोतसाधन भएका देशहरूले सामान्यतया १५ देखि २५ वर्षको अवधिमा आफूलाई अर्थपूर्ण ढंगबाट रूपान्तरण गरेका छन्। नेपाल यस्तो देश हो जहाँ स्रोत साधनको कुनै अभाव छैन, जहाँ शान्तपूर्ण र संयम जनताको अभाव छैन, सिर्फ यहाँ इमान्दार, सक्षम नेतृत्वको अभाव छ। त्यो अभाव विवेकशील साझाले पूर्ति गरेर एकै पुस्ताभित्र अर्थात् हाम्रै जीवनकालमा यो देश रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि विवेकशील साझाले केही मूल्यमान्यताहरू अवलम्बन गरेको छ। कल्याणकारी लोकतन्त्रलाई आफ्नो मूल दर्शन, वाद मानेको छ। सहभागितामूलक लोकतन्त्रलाई अँगीकार गरेको छ र समतामूलक समृद्धिको सपना देखेको छ। त्यो चाहिँ सम्भव छ र यो गर्नका लागि हामीसँग क्षमतावान, इमान्दार नेतृत्व छ।

तेस्रो ध्रुव सम्भावनाबारे थप अन्तर्वार्ता

बाँदरलाई मकैबारीको गोठालो बनाएपछि के हुन्छ? दुई तिहाईको सरकार त्यस्तै : खगेन्द्र संग्रौला

हसाउँदै जनतालाई भुलाउन व्यस्त छ दुई तिहाईको सरकार : बाबुराम भट्टराई



प्रधानमन्त्री रेलको कुरा गर्नुहुन्छ, म चन्द्रमामा रकेट पुर्‍याउने कुरा गरिदिउँ? : रवीन्द्र मिश्र को लागी २ प्रतिक्रिया(हरु)

Krishna Dhakal [ 2019-03-12 23:56:15 ]
I thought you were better than that.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


om prakash [ 2019-02-12 21:56:34 ]
very positive thoughts
reliable

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट