
सम्बन्धमा सुधार
दक्षिण कोरियाका नागरिक अगुवाको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन्। नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत रुपमा आवश्यक परामर्शका लागि सो समूहले उत्तर कोरियाको भ्रमणमा गएका हुन्। उत्तर कोरियाको भ्रमणका लागि पुगेका सो समूहमा २५० जना सहभागी रहेका बताइएको छ।
यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियाका संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यावसायका नागरिकले उत्तरको भ्रमण गरेका हुन् ।
शान्तिका लागि प्रतिवद्ध
स्थायी शान्तिबारे संयुक्त राष्ट्रसंघको सोचप्रति बंगलादेशको पूर्ण समर्थन रहने राष्ट्रसंघका लागि बंगलादेशका विशेष प्रतिनिधिले बताएका छन्।
शान्ति स्थापना अभियानका लागि संयुक्त राष्ट्रसंघको विशेष समितिमा बोल्दै राष्ट्रसंघका लागि बंगलादेशका विशेष प्रतिनिधि मसुद बिन मोमेनले बंगलादेशले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले शान्तिको पहलका लागि गरेको आह्वानलाई पूर्णतया पालना गर्ने बताएका हुन्। विश्वव्यापी शान्ति स्थापनार्थ धेरै सेना पठाउने मुलुकमध्ये बंगलादेश पनि एक महत्वपूर्ण मुलुक हो।
रसियासँग सम्बन्धमा सुधार
चीनले रसियासँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। सन् २०१९ मा चीन र रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ हुने उनले बताएका हुन्।
दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ तथा यूरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने, र दुई देश र यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिवद्ध रहेको उनले उल्लेख गरेका छन्।
हिन्दी औपचारिक भाषा
संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ। अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय भएको अधिकारीहरुले बताएका छन्। भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जनाइएको छ। युएईमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन्। त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो।