PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारी जागिरको लोभमा फस्यो लाखौं : प्रहरीको पासोमा सेटिङवाला



पहिलोपोस्ट

सरकारी जागिरको लोभमा फस्यो लाखौं : प्रहरीको पासोमा सेटिङवाला

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गत माघ २५ गते ठगी गरेको अभियोगमा काभ्रेस्थलीका नवराज भण्डारीलाई नियन्त्रणमा लियो। भण्डारीले विभिन्न व्यक्तिलाई प्रहरीमा (असइ) जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीमा उजुरी परेको थियो। 

भण्डारीले उदयकान्त साह भन्ने व्यक्तिबाट जागिर लगाइदिने भन्दै ७० हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको हो। असइमा जागिर लगाएवापत ४ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो। साहले पेस्की बापत ७० हजार रुपैयाँ दिएका थिए। बाँकी रकम असइमा नाम ननिस्किएपछि दिने सहमति भएको थियो। तर, प्रहरीमा नाम ननिस्किएपछि साह ठगिएको भन्दै उजुरी दिन पुगे प्रहरी कार्यालय।

ठगी गरेको उजुरी परेपछि भण्डारीलाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने, 'विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै रकम लिने गरेको देखिएको छ।'

भण्डारीलाई नियन्त्रणमा लिएको केही समयमा एक युवती पनि आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिन पुगिन्। सप्तरीकी विनीता कुमार साहको पनि ८५ हजार रुपैयाँ ठगिएको थियो। ठगी गर्ने अरू कोही थिएनन्, थिए उनै भण्डारी थिए। साहलाई पनि भण्डारीले स्थानीय शिक्षकमा जागिर लगाइदिने भन्दै रकम लिएका थिए। डिएसपी बोगटीले भने, 'स्थायी शिक्षक हुने विश्वासमा साहले रकम दिएको बुझिएको हो। अरू कुराको अनुसन्धान गरिरहेका छौँ।' 

साहलाई शिक्षकमा जागिर लगाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ दिने दुईजना बीच सहमति भएको प्रहरी अनुसन्धानमा खुलेको छ। साहले पेस्कीस्वरूप ८५ हजार रुपैयाँ दिएकी थिइन्। बाँकी रकम काम भएपछि दिने सहमति भएको थियो।

प्रहरी नियन्त्रणमा रहेका भण्डारी आफूलाई समाजसेवी भएको दाबी गर्दै हिँड्ने गरेको अनुसन्धानमा देखिएको छ। त्यसो त उनी जग्गाको कारोबारी समेत हुन्। भण्डारीले यसअघि पनि सडक विभागमा केहीलाई रकम लिएर जागिर लगाइदिएको समेत प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। भण्डारीले कसरी जागिर लगाए भन्ने प्रहरीले अनुसन्धान सुरु गरेको छ। डिएसपी बोगटीले भने, 'यसअघि रकम लिएर नै जागिर लगाएको बुझिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell