PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनयुद्ध दिवस: प्रचण्डको शहीद स्मृति दिवस, वैद्यको मार्चपास, विप्लवको विज्ञप्ति



विधुर ढकाल

जनयुद्ध दिवस: प्रचण्डको शहीद स्मृति दिवस, वैद्यको मार्चपास, विप्लवको विज्ञप्ति

काठमाडौं: तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते शुरु गरेको सशस्त्र विद्रोहको २४ वर्ष पूरा भएको छ। यसबीच जनयुद्धको नेतृत्व गर्ने नेता कार्यकर्ता विभाजित भएका छन्।

यही विभाजनकाबीच जनयुद्ध दिवस फरक फरक ढंगले मनाइएको छ। तत्कालिन जनयुद्धको नेतृत्व गरेको समूह यतिवेला विभिन्न चिरामा विभाजित छ। यिनै विभाजित समूहले काठमाडौंमा फरक फरक स्थानमा जनयुद्ध दिवस मनाए।

पहिलो पटक यो दिवसलाई जनयुद्धको आलोचना गर्ने शक्ति तत्कालिन नेकपा (एमाले) पंक्तिले पनि मनाएको छ।

धुम्बाराहीमा पूर्व एमालेको जनयुद्ध दिवस

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको ने क पाले जनयुद्ध दिवसको अवसरमा शहिद स्मृति दिवसको रुपमा धुम्बाराहीमा मनाएको छ। कार्यक्रममा पूर्व एमाले समूहका नेताहरुको भने न्यून उपस्थिति थियो।

प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा पुगेनन्। यद्यपि कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारको कामले व्यस्त भएका कारण उपस्थित हुन नसकेको स्पष्टीकरण दिए।

उनले दुई अध्यक्षकै सल्लाहमा कार्यक्रम आयोजना गरिएको बताए।

त्यस्तै जनयुद्ध दिवसकै अवसरमा पूर्व माओवादी केन्द्र निकटको जनसांस्कृतिक महासंघले प्रज्ञा भवनमा सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा प्रचण्ड उपस्थित भए भने पूर्व एमालेका नेताहरु भने उपस्थित भएनन्।

वैद्य समूहको रेड मार्चपास

यता नेकपा (क्रान्तिकारी माओवादी) उपत्यकाले काठमाडौंमा युवाहरुको रेड मार्चको आयोजना गर्‍यो।

भोटाहिटीबाट सुरु भई रत्नपार्क, भद्रकाली, सुन्धरा, न्युरोड हुँदै इन्द्र चोकमा पुगेर सभामा परिणत भएको रेड मार्चपासको नेतृत्व पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस र पार्टी पिविएम पवनमान श्रेष्ठले गरेका थिए।

यता पार्टीका महासचिव मोहन वैद्य किरणले वक्तव्य जारी गर्दै नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर नगएको बताएका छन्।

भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेको उनले बताएका छन्। वैद्यले जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको बताएका छन्।

‘क्रान्तिको प्रक्रियासँगसँगै दलाल तथा नोकरशाही पुजीवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले प्रतिक्रियावाद र संशोधनवादद्वारा निरन्तर प्रतिक्रान्तिको प्रक्रिया जारी रहनेछ। परन्तु, ती सबैको सामना गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति र विश्व क्रान्तिकै विजयसमेत् अपरिहार्य छ,’ वक्तव्यमा भनिएको छ।

विप्लवको वक्तव्य

यता जनयुद्धको सुरुवात गर्ने अर्का माओवादी नेता तथा हालका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्ध दिवसको अवसरमा वक्तव्य जारी गरेका छन्।

उनले दिवसमा सार्वजनिक उपस्थिति जनाएनन्। पार्टी उपत्यकाबाहिर विभिन्न स्थानमा कार्यक्रम गरेको थियो।

विप्लवले जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने बताएका छन्। उनले एकीकृत जनक्रान्तिका लागि अपिल गर्दै अगाडि भनेका छन्, ‘महान् शहीद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौं भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौँ।’

जनयुद्ध दिवस छल्दै पूर्व एमाले

एकतापछि बनेको ने क पाले जनयुद्ध दिवसलाई शहीद प्रति श्रद्धाञ्जली कार्यक्रम को रुपमा मनाए पनि पूर्व एमालेका वरिष्ठ नेताहरुले यो कार्यक्रमलाई छलेका छन्।

प्रधानमन्त्री केपी ओली सरकारले आयोजना गरेको रोजगार घोषणा कार्यक्रममा सहभागी भए।

पूर्व एमालेको मुख्यालय धुम्बाराहीमा आयोजना भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधव नेपाल सहभागी भएनन्। उनले जनकपुरमा पुगेर जनयुद्ध दिवस स्वीकार नगरिने अविव्यक्ति दिए।

त्यस्तै सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतमसमेत कार्यक्रममा सहभागी भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell