PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ब्रेकअप कन्फेसन : प्रेमको अर्थराजनीति



पहिलोपोस्ट

ब्रेकअप कन्फेसन : प्रेमको अर्थराजनीति
प्रतीकात्मक फोटो : fractalenlightenment.com

  • निमेषराज सापकोटा –

“मेरे बाद किस्को सताओगे
मुझे किस् तराह से मिटाओगे
कहाँ जाके तिर चलाओगे...”

यो गीत सुनिरहेको थिएँ। घरका मान्छेहरु सोच्दा हुन् यो बौलायो। हुन तः पागल नै थिएँ पहिले पनि। जे सुकै सोचुन्। आत्म स्वतन्त्रता भन्ने कुरा पनि हुन्छ नि यार! मनपसन्द पाराले बाँच्ने हो यो एकबारको जिन्दगी। कति न बाँचिएला र ! ५० वर्ष को आसपास बाँचे पुग्छ जस्तो लाग्छ। खैर... त्यो अर्कै थियो। 

नुसरत फत्ते अलिखान सुनिरहेको थिएँ। त्यो हुन्छ नि एकथरी पिडा, ब्रेकअपले जन्माउने क्या ! त्यो बेला नुसरतले हामीभित्र उब्जिरहेको वितृष्णा साम्य पार्न धेरवहुत भुमिका चैं खेल्छ। त्यो मानेमा नुसरत प्रिय छ। ब्रेकअप हुँदैन थियो भने नुसरतलाई सुन्ने झिँझो काम नै रहन्नथ्यो। 

मलाई बास्तवमा ब्रेकअप मनपर्दैन। मेरो लागि ब्रेकअप भनेको अन्तरिक्षको यात्रामा छुटिसकेको बिमान फेरि फर्काउनु जस्तो हो। मिठो परिकार स्वादले खाइसकेपछि, घाँटीसम्म औंला छिराएर ओकल्नु जस्तो हो। गाह्रो पो हुन्छ, कठिनको पनि बाउ ! यार, क्या पोल्छ मन। कुरै नगरम्। यो हाम्रो डिस्कसन्को कुरा होइन। ब्रेक अप साह्रै घातक छ। मलाई सोध्नोस् न! 

नुसरत सुन्दै गर्दा एकछिन सोचेँ, “यो प्रेम भन्ने चैं के रैछ ?” पहिलो पटक प्रेम गर्ने त म मात्र होइन होला ? रातभर मुटु दुखाएर अनिन्द्रामा बिहान छर्लङ्ग बनाउने त्यो पहिलो शाहषी ब्यक्ति पनि म मात्र त होइन होला ? प्रेम बुझ्नै नसकि विरक्तिएर हिँड्ने पहिलो मान्छे पनि त म होइन होला ? 

कहिलेकाहीँ त झोक चल्छ। बैरागी काँइलालाई के चल्छ ? झोँकको टिउसन पढाइदिन्छु म बुढालाई। ब्रह्मचारी बन्दिम जस्तो लाग्छ। साधु बन्दिम। बिहे÷सिहे, प्रेम÷विछोडको लफडामै नफसौं। सबैकुरा छाड्दीम र चल्दिम जङ्गल जस्तो लाग्छ। खैर, यो ब्रेकअप पछिको क्षणिक लहडहरु हुन्। फेरि कतिदिनपछि मन कहाँ गएर फस्ने हो ठेगान छैन, गफ चैं, साधु सन्यासीको ! मलाई पनि लाग्दैछ यो सह्य कुरा भएन। 
यसो सोच्छु, के सबैले यस्तै पिडा भोगे ? के प्रेममा यो अनिवार्य सर्त हो ? पिडा बेगर प्रेम नै हुँदैन ? जीवनमा म भन्दा अघि प्रेम गर्नेहरुलाई यस्तै भयो ? यत्तिनै मुटु दुख्यो होला त ? जसले छाडेर गए यसरी नै इग्नोर गर्थे ? 

अँ साँच्चि, प्रेम भन्दै गर्दा एउटा घटना खुब याद आउँछ। 

+++

म स्कुल पढ्थेँ। घर स्कुलबाट ६/७ किलोमिटर टाढा। टेम्पोमा ओहोरदोहोर गर्थें। स्कुल हेटौंडाको मुख्य चोकमा पर्थ्यो घर भने महेन्द्रराजमार्गको सडक नजिकै, नवलपुर भन्ने ठाउँमा। 

नवलपुर बाट हेटौंडाको सिद्धार्थ स्कुल जान गाडीमा २० मिनेट जस्तो लाग्थ्यो। कक्षा नौ तिर पढ्दो हुँ। त्यतिबेला प्रेमस्रेम मेरो इन्ट्रेस्टको विषय नै थिएन। कोही केटीसँग मादक मुस्कानले हेरेको पनि थाहा छैन। कुनै दिन ठुलो भएपछि प्रेम गर्छु भन्ने कल्पनाको पनि विषय थिएन। 

कोही केटी नजिक आउँदा थर्काइदिन्थे। लाज लाग्थ्यो बिछट्टै।

केटीसँग बोलेको घरमा थाहा पाए भने के गर्लान्? यस्ती नराम्रीसँग बिहे गर्दिए भने!

यस्तै तर्कनाहरु आउँथ्यो। मलाई मनपर्दैन थे केटीहरु। मेरो यस्तो एटिच्युड देख्दा केटाहरु, “यो त गे हो,” भन्थेँ। झनक्क रिस उठ्थ्यो।  

स्कुलभित्र सिसौ घारी थियो। सिसौ घारीमा टन्न रुखहरु थिए। सिनियर दाजुहरुले त्यो ठाउँको नाम “मास्टर–स्पट” राखेका थिए। विस्तारमा भन्दा “मास्टरवेसन स्पट”। स्कुले जीवनका उरन्ठेउला गफहरु त्यही स्पटमा हुने गर्थ्यो। पोर्न फिल्महरु मोबाइलमा त्यही स्पटमा देखाइन्थ्यो। अश्लील चुट्किलाहरुको प्रवचनपनि त्यहि स्पटमा हुन्थ्यो। त्यो स्पटको एकमात्र लक्ष्य थियो, किशोरहरुलाई जवानीको सम्पुर्ण विशेषता सहित सुसम्पन्न बनाउने। 

त्यो किसिमको भल्गर कुराहरुको दीक्षा पाइसकेपछि दीक्षान्त समारोह राखेर ग्र्याजुएट घोषण गर्नेसम्मको लक्ष्यहरु थियो। जब त्यस सभामा उपस्थित केटाहरुको एउटै कुरामा सहमति जुट्थ्यो, तब सिसौघारी पछाडि तेस्रो लाइन लागेर पिसाब फेर्नुपर्ने हुन्थ्यो। त्यो एउटा नियम थियो। जो पिसाब फेर्दैन थियो, त्यो “मास्टर–स्पट” को सदस्यताबाट खारेजीमा पर्थ्यो। पछि धेरै कारणहरुले दीक्षान्त समारोह हुन सकेन। त्यसको पछि चर्चा गरौंला। 

”मास्टर–स्पट” को सदस्यताबाट खारेजीमा पर्दा धेरै दुःखहरु थिए। जब बाहिरी स्कुलका केटाहरु जुध्न आउँथे, त्यतिबेला कोही पनि जुध्न जाँदैनथ्यो। सरले पिट्दा एक सासमा छाती तेर्साउने केटाहरु हुँदैन थे। लभ पर्न आँटेको वा परिसकेको छ भने त्यो भाँडिन्थ्यो। स्कुलमा अन्तिम बेञ्च र सेकेञ्ड लास्ट बेञ्चमा बस्न पाउँदैन थ्यो। स्कुलमा पार्किङ गरेको साइकलको हावा खुस्काइन्थ्यो। ब्यागको लक च्यातिन्थ्यो। अनावश्यक कुरामा कक्षामा फसाइन्थ्यो। धेरै बेफाइदाहरु थिए। हत्तपत्त कसैले पनि त्यस स्पटबाट बाहिरिन चाँहदैन थ्यो। तर, जो थिए, एक मुठ्ठीमा थिए। आफ्नै परिवार जस्तै। 

मलाई लाग्थ्यो, “यति अश्लिल कुराहरु केटाहरुले कहाँबाट सिक्छन्?” म अचम्ममा पर्थें। कक्षा नौको आधिसम्म म हेटौंडाको नगरपालि रोडमा बस्थेँ। एक्लै स्कुल जान्थेँ। एक्लै फर्कन्थेँ। मेरा साथीहरु थिएनन्। मलाई त्यति धेरै ज्ञान दिएर दीक्षान्त समारोहको लागि बलियो क्यान्डिडेट बनाउने कोहि पनि थिएन। त्यसैले त्यहाँ सुनाउन मसँग केहि पनि हुन्थेन। म सिर्फ सुनिरहन्थेँ। 

एकदिन “मास्टर–स्पट” का दादा, खैरे दाइले सबैले एस.एल.सी पास गरिसकेपछि एउटा स्कुल खोल्ने कुरा गर्नुभयो। म अचम्ममा परेँ, “यिनीहरुको स्कुल खोल्नेसम्मको क्षमता छ?” खैरे दाइको विचारमा स्कुलका केही सर्तहरु थिए। स्कुलमा छिर्दा गाँजा खानै पर्ने, पुकार मुखमा हाल्नै पर्ने, कपाल पाल्नै पर्ने, केटी जिस्काउनै पर्ने, आउट ड्रेसमा आउनै पर्ने, बन्क गर्नै पर्ने, फेल हुनै पर्ने, ग्याङ फाइट गर्नै पर्ने। मनमनै सोचेँ, “यस्तो स्कुल कस्तो होला? कल्ले पढाउने होला छोराछोरी?” भन्दाभन्दै घण्टी लागेपछि केटाहरु तररर.. पिसाब फेरेर सहमति जनाउँथे। 

कुनै स्कुलमा गफ हुन सकेन भने, केटाहरुको टिम बोनसखण्डीमा भेट हुन्थ्यो। बोनसखण्डी हेटौंडाको परिचित ठाउँ। हुनतः धार्मिक मन्दिर हो। तर खुङ्खार डेटिङ स्पटको रुपमा परिचित थियो। त्यहाँ गएर फर्किसकेपछि केटा र केटीको नराम्रो हल्ला हावाभन्दा पनि छिटो फैलिन्थ्यो। त्यो मानेमा बोनसखण्डी मन्दिर चर्चित थियो। त्यहाँ निर्लज्ज राशलीलामा संलग्न जोडीहरुलाई डिस्टर्ब गर्नेदेखि अनेक कार्यक्रमहरु हुन्थेँ हाम्रो। कति राशलीला त प्रतक्ष्यरुपमा पनि हेर्न पाइन्थ्यो। पहिलोपटक चुम्बन मैले त्यहीँ देखे। हाम्रो काम भनेको डिस्टर्ब गर्दै हिँड्ने थियो। 

गाँउबाट शहर छिरेको २ वर्ष जति पनि भएको थिएन। म त मोर्डन ग्याङको मेम्बर भैसकेको थिएँ। धेरै कुरा जान्ने अवसर पाएको थिएँ। अचम्म लाग्थ्यो। म भित्रको परिवर्तन म आफैंलाई पत्याई नसक्नुहुन्थ्यो। 

एकदिन “मास्टर–स्पट”को विषयमा सरहरुसम्म हल्ला पुग्यो। केही केटाहरु नमज्जाले धुलाइमा परे। र सिसौको घारीमा नबस्ने उर्दी जारी भयो। केही समय त “मास्टर–स्पट”को संघर्षका अनेकौं कार्यक्रमहरु तय भए। स्कुलको सत्ता पक्ष र विद्यार्थी बीच लामो संघर्ष भयो तर “मास्टर–स्पट” का मेम्बरहरु घुँडा टेक्न बाध्य भए। त्यसदिनबाट “मास्टर–स्पट” सदाको लागि निष्क्रिय रह्यो र कार्ययोजनामा रहेको त्यो दीक्षान्त समारोह कहिल्यै पुरा हुन सकेन। 

एउटा जवान युवकले जति सिक्नुपर्ने थियो, मैले त्यहि स्पटबाट सिकेँ। साँचो अर्थमा एउटा सबल र अश्लील युवक त्यहि स्पटले बनायो।  तर म प्रेम गर्ने भैसकेको थिइनँ। मलाई प्रेम बारे जानकारी पनि थिएन। 

एकदिन स्कुलबाट नवलपुर टेम्पोमा फर्कँदै गर्दा नसोचेको दृश्य देखापर्‍यो। 

केटा र केटीको लामो झगडा पर्दै थियो। 

केटा भन्दै थियो, “तिमीले मलाई छोडेर शान्ति पाउँदिनौं! अर्काको दिल, मुटु जलाएर खुशी पाइन्छ?”
केटी रिसले चुर थिई। ठस्कँदै थिई। र बोली, “तँ जस्तोको दिल दुखेर केही हुनेवाला छैन, तँ मरे नि मलाई बाल छैन।”

केटो रुँदै थियो। त्यहि आँशु मिश्रित अभिव्यक्तिसहित भन्दै थियो, “मलाई गरीब देखेर छोड्यौ। केही समय पर्ख सब ठीक हुन्छ भनेकै थिएँ। तिम्ले अर्को रोज्यौ हैन? आज त तिम्लाई ठीक होला तर एकदिन मेरो मायाले पोल्नेछ हेर्दै जाउ। मलाई यसरी जलाएर तिमीले केही पाउँदैनौ।” 

केटी साथीसँगै थिई। उ बोल्दै थिई, “यस्ता रुने जति पनि पाइन्छ, बाल नदे। यस्ता वाइयातहरुको कुरा सुनेर हुँदैन।” सायद साथीको आत्मविश्वासले होला केटी झन् क्रुरता सहित बोली, “तँ मरे मर बाँचे बाँच, तेरो अनुहार हेर्न नपरोस्।” 

केटा भक्कानियो। ग्वाँ ग्वाँ रुँदै थियो। भैरहेको के हो? मैले बुझिरहेको थिइन। टेम्पो गुडिसकेको थियो। केटाले सिर्फ त्यतिमात्रै बोल्यो, “तिम्रो सँधै खुशी होस् तर कहिल्यै शान्ति पाउँदैनौ मलाई रुवाएर।” 

घरसम्म आएर टेम्पो रोकियो। भाडा थियो ५ रुपैयाँ। तिरेँ र घर आएँ। धेरैबेर सोचेँ। भैरहेको के थियो, त्यो मेरो मष्तिष्कले बुझेन। जति बुझ्यो त्यो पर्याप्त थिएन। एउटा केटीको लागि के गरेको यस्तो ? जस्तै लागिरह्यो। 

केटा मान्छे त्यसरी केटीको निम्ति रोइरहनु नाजायज हो जस्तो लाग्यो। ठम्याउनै पनि सकिन कति कुराहरु। तर त्यो घटना तिखो बाँड जस्तै पस्यो म भित्र। प्रेममा विछोड पनि हुँदोरैछ भन्ने कुरा त्यसदिन नमज्जाले मनमा गढ्यो। चिसो भयो छाती। र मनमनै कसम खाएँ, “जीवनमा कहिल्यै प्रेम गर्ने छैन।”

‌‌‌+++ 

त्यो फ्ल्यासब्याक थियो। धेरै वर्ष अगाडिको कुरा। सायद मैले नौ कक्षा पढेको दश वर्ष पुग्न आँट्यो। म अहिले सुनिरहेको छु। उही नुसरतको गीत।

मैने तो उनके सामने
अब्बल जो खन्जर रखदिया
फिर कलेजा रखदिया
दिल रखदिया
सर रखदिया
और अर्ज किया
मेरे बाद किस्को सताओगे...., 

सोचिरहेको छु आखिर के रै'छ प्रेम? यति लामो समय पश्चात जब म प्रेमको उहि स्थितिमा पुगेँ। मलाई उक्त केटाको खुब आउँछ। उ को थियो, मलाइ थाहा छैन। तर सम्झिरहन्छु बेलाबखत। जब मलाई प्रेमले ब्रेकअपसम्मको स्थितिमा पुर्‍यायो र जति कोशिश गर्दा पनि सम्बन्ध पुन स्थापित हुन सकेन, त्यसदिन उक्त केटी मान्छेको अनुहारमा नाचिरहेको क्रुरताको चस्का म भित्र पस्यो। लागिरहेको छ, किन केटीमान्छे त्यतिधेरै क्रुर हुन्छन्? कि उनीहरुको मनै हुँदैन? कि उनीहरुले पहिल्यै अर्को विकल्प खोजिसकेका हुन्छन्? 

अहिले म निदाउन सकिरहेको छैन। यो लेख्दै गर्दा सायद रातको दुई बजेको छ। सुनसान छ सबैतिर तर मेरो मनभित्र आवाजै आवाज छ। पीडाको आह्लादै आह्लाद छ। म भित्र अशान्त एउटा मान्छे जलिरहेको छ। खरानी भइरहेको छ र सक्किरहेको छ।

जतिबेला म प्रेम बुझ्दैन थेँ, त्यो दिन टेम्पोमा भेटेको उक्त केटा जो रोइरहेको त्यो कायर लाग्थ्यो। एउटा पुरुषको आँखाबाट आँशु खस्नु अशोभनिय लाग्थ्यो। तर, आज बुझ्दैछु, हर केटा मान्छेहरुको जिन्दगीमा त्यस्तै पलहरु आउँदो रहेछ। र कारण बन्दारैछन् केटीहरु।

मलाई धेरैले भन्थे, “केटीहरुको मन हुँदैन। यिनीहरु क्रुर जात हुन्। जति प्रेमको नाटक गरे पनि यिनले खोज्ने सेफ ल्यान्डिङ नै हो। यिनीहरुलाई माया/प्रेम/भावना केहीसँग पनि मतलब छैन।” हो जस्तो लाग्छ। 

म अहिले हर कोसिस गर्छु सम्बन्धलाई पुरानै स्वरुपसम्म लेराउन। तर हुन सकिरहेको छैन। मेरा गल्तीहरु थिए। स्वभावतः मान्छेका गल्तीहरु हुन्छन्। जबसम्म हामी योगी होइनौं, बुद्ध होइनौं, हामी भित्र कमजोरी शेष छ। हामी पर्फेक्ट होइनौं। रोबर्टभित्र जस्तो हाम्रो मष्तिष्कमा छैन प्रोग्राम। हाम्रो गल्ती जतिखेर पनि हुनसक्छ। गल्तीबिनाको त लास हुन्छ, मान्छे हुँदैन। मैले यो कुरा उसलाई बुझाउन सकिन। जब उसले बुझिन अहिले सोच्छु, कति कमजोर रै'छ प्रेम, सम्बन्ध! यो प्रेमले मलाई सोचमग्न बनायो। थाहा थिएन प्रेमले सोचमग्न पनि बनाउँछ!

किन किन मलाई यो प्रेमले त्यसदिनको टेम्पोमा घटेको घटना याद दिलायो। मैले उक्त केटीको आँखामा नाचिरहेको पाषाण र क्रुर अभिव्यक्ति मैले मेरो एक्स गर्लफ्रेन्डको आँखामा देख्न थालेँ। 

फेरि, सबैभन्दा डरलाग्दो कुरा त अभावमा प्रेम हो। अभावमा प्रेम मात्र पनि होइन हरेक कुराहरु टिकाउन गाह्रो हुन्छ। मलाई त्यस्तै गाह्रो पर्‍यो। जिन्दगीले गोल हानेकै हो तर भाग्यले फलको संकेत दियो। 

अभावमा प्रेम मात्र होइन अर्थतन्त्र नै स्वयं डामाडोल हुन्छ। राष्ट्र भोकमरीमा पुग्छ। नाथे प्रेम, अभावका दिनहरुमा कसरी स्वछन्दतापूर्वक उभियोस्! तर मलाई यहि प्रेम स्वादिलो लाग्छ। म अभावमा छु यो मलाई थाहा तर अभावले नेचुर्‍यालिस्टिक वेहरु सिकाउँछ, निर्दोषिता सिकाउँछ, बफादारी र उत्तरदायित्व सिकाउँछ। त्यही भएर होला, मसँग अभाव थियो होला तर यो प्रेम छुट्टै महत्वको थियो। 

जीवनमा हर कुराहरु बिग्रँदै जाँदा, मानिसहरुले सहज बाटो खोज्नु अनुचित होइन। हुनसक्छ, उसले भविष्य हेरेको हो। यसमा हामीले अरुलाई मिस जज गर्नुपर्ने कुरा पनि छैन। पर्फेक्ट भविष्य नै देख्दैन कसैले भने त के लाग्छ? राम्रो भविष्य सोचेर छोड्नु नै हो भने नराम्रो पनि होइन हुनत। 

नुसरतले जति फलाके पनि यथार्थ त बदलिने त होइन। हैन र? जानेहरुको मन बदलिने होइन। के लाग्छ तपाँइलाई? केही आशा थियो। अब त मेरो आशा पनि मर्न लाग्यो, अब म सँग रोक्नको लागि भन्ने शब्दहरु छैनन्। केही सपनाहरु छैनन्। जिन्दगीले घुरुङ जस्तो घुमाइरहेको छ, यतिबेला कस्तो आशा देखाउँ र सेफ–ल्यान्डिङ तर्फ लम्किरहेका उसका पैतालाहरु रोकुँ। 

मसँग त्यो आकाश छ, त्यो जुन छ, त्यो इन्द्रेणी छ, त्यो तारा छ, उसलाई दिन। तर यो क्लासिकल स्टाइलको प्रेम त सिर्फ स्वेरकल्पना मात्र रैछ। पानीमा कुदेको डुङगा रैछ। बालुवाको मुर्ति र पानीको फोका रैछ। यसरी नचल्ने रैछ प्रेम ! राष्ट्रिय सम्बृद्धि जस्तो जीवनमा सम्बृद्धि नआई चल्दैन प्रेमको मोटर। एक ठाउँमा पुगेर ठोक्किन्छ, एक्सिडेन्ड हुन्छ। हामी घाइते हुन्छौं। 

कसैले भन्छन्, “प्रेममा पद, प्रतिष्ठा, धन, सम्पत्ति हेरिँदैन, सिर्फ प्रेम हेरिन्छ। सिर्फ दुई आत्माहरुको मिलन हेरिन्छ।” यो कुरा सहि होइन। सब हेरिन्छ। सियोको टुप्पो जत्तिको कुराले पनि फरक अर्थ राख्छ। र, म फेरि भन्छु, अभावमा प्रेम टिक्दैन। कहानी र सपनाले प्रेम टिक्दैन, प्रेम टिकाउन सिर्फ पैसा चाहिन्छ।

सायद त्यही भएर होला, त्यसदिन त्यो केटा त्यसगरी भक्कानियो। अहिले सम्झन्छु, त्यसदिन उसको मनमा के खेलिरहेको थियो होला ? ‌‌‌

+++

प्रेमका दुःखद कहानीहरु सुन्दा बच्चामा मलाई खासै छुन्नथ्यो। म बुझ्दैन थेँ। हाम्रो समाजको ढाँचा कसरी बनेको छ। प्रेममा अर्थराजनीतिक भूमिका कस्तो हुन्छ? हाम्रो समाजमा प्रेम कत्तिको महत्वाकांक्षाी छ। यसले कस्तो प्रेमको धरातल कोर्छ? म अनभिज्ञ थिएँ। न मसँग प्रश्न थिए न जवाफ नै। किनकि मेरो चेतनाभन्दा माथिल्लो लेभलका थियो ती घटनाहरु। 

जसले ती दुई पुरुषहरुलाई एक्स्ट्रिम पीडामा डुबाएर हिँडे, के उनीहरुको मनले सन्तोष प्राप्त गर्न सक्छ? एउटा मानिसलाई यतिसम्म गर्न कति आँट चाहिन्छ? कत्तिको बलियो मनोबल चाहिन्छ? तपाइँ आफैं भन्नोस्, एउटा सामान्य मान्छेले यतिविघ्न गर्न सक्ला? 

अहिले भर्खरै घडी हेरेँ। बिहानको चार बजिसकेछ। कति ढिलो बित्छ समय। लागेको थियो, बिहान भैसक्यो। अब मैले यो एक्लोपन झेल्नुपर्ने छैन। तर, रात सक्किन अझै बाँकी छ। म अहिले लेखिरहेको भनेको, निदाउन नसकेर उसलाई बिर्सने उपायमा मात्र खोजिरहेको हुँ। म यस मेमोयरमा आफैंसँग कन्फेसन गरिरहेको छु।

कन्फेसन यो मानेमा गरिरहेको छु कि लेख्दै गर्दा मैले उसलाई बिर्सन सकुँ।  

जस्तो लेख्नुभन्दा अगाडि नुसरतको गीत सुनिरहेको थिएँ, अहिले पनि त्यस्तै सुनिरहेको छु। थोरै थोरै नशो जत्तिको म भित्र प्रवेश गरिरहेको छ।

सानु एक पैल चैन न आए
सजना तेरे बिना....
तपाँईलाई के लाग्छ, के म उसलाई यति छिटै बिर्सन्छु होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell