PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चोरेर अमेरिका, बेलायत पुर्‍याइएका पुरातात्विक मूर्ति फिर्ता, संग्रहालयले राख्यो ३६ बस्तु प्रदर्शनीमा



सहयोग रञ्जित

चोरेर अमेरिका, बेलायत पुर्‍याइएका पुरातात्विक मूर्ति फिर्ता, संग्रहालयले राख्यो ३६ बस्तु प्रदर्शनीमा

काठमाडौँ: नेपालका विभिन्न स्थानबाट चोरेर देशभित्रै र बाहिर पुर्‍याइएका मूर्ति, तोरन, टिकी झ्या, नागपास लगायतका ऐतिहासिक बस्तुहरू राष्ट्रिय संग्रहालयमा प्रदर्शनमा राखिएका छन्।

संग्रहालयको ८०औँ स्थापना दिवसको अवसरमा बुधबारदेखि मूर्ति लगायतका बस्तुहरू प्रदर्शनमा राखिएका हुन्।

संग्रहालयमा नेपालबाट चोरी भई विदेश पुर्‍याइ पछि पुन: फिर्ता ल्याइएका ४५ थान मूर्ति र नेपालमै चोरी भई प्रहरीद्वारा फेला भई संग्रहालयमा राखिएका २१९१ मूर्तिहरुमध्ये प्राचीन र ऐतिहासिक महत्त्वका ३६ बस्तुहरू प्रदर्शनमा राखिएका हुन्।

सांस्कृतिक सम्पदाको चोरी अवैध व्यापारको रोकथामको लागि सन् १९७० मा भएको अभिसन्धिमा नेपाल पनि सहभागी भएपछि चोरी भएर विदेश पुर्‍याइएका प्राचीन मूर्तिहरु इन्टरपोलको सहयोगमा नेपाल फिर्ता गराउने कार्य सुरु भएको राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले बताए।

पुरातात्विक,ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेका यी बस्तुहरू प्रदर्शनमा राख्नुको मुख्य कारण जनतालाई फेला परेका मूर्तिहरुका बारेमा जानकारी गराउनु रहेको उनले बताए। चोरी भई संग्रहालयमा आएका केही मूर्तिहरु कहाँका हुन भन्ने कुरा प्रस्ट नभएकाले यस प्रकारको प्रदर्शनीबाट मूर्ति चोरी भएको स्थानका बारेमा स्थानीयहरुलाई थाहा दिन सकिने उनले बताए।

मूर्ति रहेको वास्तविक स्थानको गुठी, संघसंस्था, वा स्थानीय तहले कानुन बमोजिम प्रमाण लिएर आए र मूर्तिको सुरक्षाको प्रत्याभूति दिएमा आफूहरूले मूर्ति फिर्ता पठाउने गरेको श्रेष्ठ बताउँछन्।

प्रदर्शनीमा चोरी भएर बेलायतबाट फर्काइएको १२औँ शताब्दीको श्रीधर विष्णुको मूर्ति, नेपालमै चोरी भई प्रहरी खोजबिनबाट पत्ता लागेको १९औँ शताब्दीको लक्ष्मी नारमायण मूर्ति, ढुंगाले बनेको १७औँ शताब्दीको उमामहेश्वरको मूर्ति, ७औँ शताब्दीमा कालो ढुंगाद्वारा निर्मित स्थानक बुद्धको मूर्ति, १८औँ शताब्दीको श्वेतभैरव तोरण, काठले बनेको १९औँ शताब्दीको हाथु द्य: को ख्वापा, १९औँ शताब्दीको नागपास  लगायतका सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन्।  

यी मध्ये लिच्छवीकालको स्थानक बुद्धको मूर्ति र उमा महेश्वरको मूर्ति अमेरिकाको मेट्रोपोलिटन म्युजियम अफ आर्टबाट फिर्ता दिइएको संग्रहालय अधिकृत यमुना महर्जनले जानकारी दिइन्।

यस्तै, १३औँ शताब्दीको गरुड नारायणको मूर्ति, दायाँबायाँ शिव र विष्णुसहित सूर्य रहेको ८‍औं शताब्दीको मूर्ति र १२औँ शताब्दीको सरस्वतीको शीर समेत प्रदर्शनीमा राखिएको छ। गरुड नारायणको मूर्ति काठमाडौँको ह्युमतबाट चोरी भएको, सूर्य मूर्ति पनौतीको त्रिवेणीघाटबाट र सरस्वतीको शीर फर्पिङको कमलपोखरीबाट चोरी भई अमेरिकाबाट फर्काइएको उनले जानकारी दिइन्। त्यहाँका स्थानीय र गुठीले विधि पुर्‍याएर आए ती बस्तु फिर्ता दिइनेछ।

संग्रहालय प्रमुख श्रेष्ठका अनुसार नेपालमा 'म्युजियम कल्चर' विकास नभएको भन्दै यसप्रकारले प्रदर्शनले मानिसहरुमा उत्सुकता थप्नेमा विश्वास व्यक्त गरे। यसका साथै आन्तरिक र बाह्य पर्यटनको विकास हुने उनको मत छ। अझ पनि केही मूर्तिहरुका बारेमा बाहिरबाट जानकारी आए पनि मूर्तिहरु डकुमेन्टेसनको अभाव र प्रमाण जुटाउन नसक्दा यस प्रकारका नेपालकै भनेर चिनिएका मूर्तिहरु फिर्ता ल्याउन कठिन भइरहेको उनको भनाइ छ।

प्रदर्शनमा राखिएका एउटा मूर्ति अमेरिकी नागरिक जोन एमले पुरातत्व विभागमा फर्काएको र सो हाल प्रदर्शनीमा राखिएको अधिकृत महर्जन बताउँछन्। नेपालको सम्पत्ति भन्दै अक्सनमा खरिद गरी राखेको मारविजयको मूर्ति उनले नेपाललाई नै फर्काएको र गएको वर्ष सो मूर्तिको वर्तमान अवस्थाबारे बुझ्न संग्रहालय आएको उनी बताउँछिन्।

संग्रहालयमा दक्ष जनशक्तिको अभाव हुँदा राष्ट्रिय संग्रहालयको व्यवस्थापनमा केही कमी कमजोरी भए तापनि राष्ट्रका पुरातात्विक सम्पदा र संस्कार जगेर्ना गर्न आफूहरू दृढ रहेको प्रमुख श्रेष्ठ बताउँछन्। हाल सरकारले संग्रहालय व्यवस्थापनलाई आफ्नो महत्त्वपूर्ण कार्यमा राखेको भन्दै यसबाट संग्रहालयलाई थप व्यवस्थित बनाउन प्रेरणा मिलेको उनी बताउँछन्। 

प्रदर्शन तीन महिनासम्म चल्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell