PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको ‘सम्वृद्धि’को सपना, अनि हाम्रो सधैंको सकस



पहिलोपोस्ट

सरकारको ‘सम्वृद्धि’को सपना, अनि हाम्रो सधैंको सकस

  • दीपज्योति श्रेष्ठ -

कपुरधारामा माइक्रो टक्क अडियो। झ्यालबाट यसो बाहिर हेरेको निकै ठूलो जाम रहेछ। आजकल एक महिना जति भयो यो रुटमा धेरै जाम हुन थालेको, विशेषगरी साँझ। गाडीमा कोचाकोच मान्छेहरु! मौसम अलिक चिसो भएर हो कि के हो सिटमा बस्नेहरु प्राय: झ्याल खोलिरहेका थिएनन्। त्यसैले गाडी भित्र निकै उकुसमुकुस थियो। मान्छेहरुमा कहिले जाम खुल्ला र घर पुगुला भन्ने उदासी सबैको अनुहारमा देखिन्थ्यो। 

अत्यासलाग्दो जाममा ड्राइभरले एफएम बजाए अनि गाडी भित्र समाचार बज्यो। समाचारमा प्रधानमन्त्रीको एक वर्षे कार्यकालको उपलब्धिहरुसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम, जनताको लगानीमा जलविद्युत आयोजना, पानी जहाज कार्यालयको उद्घाटन जस्ता कुराहरुको चर्चा परिचर्चा बजिरहेको थियो। प्रधानमन्त्रीले ‘दुरी घट्दै छ नेपाली सपनाको’ भनेर बोल्दै हुनुहुन्थ्यो। तर, गाडीमा बस्ने कसैलाई पनि त्यो सपनाको दुरीले नजिक्याइरहेको थिएन। 

बाहिर गाडी जाम र भित्र भिडको उकुसमुकुसले त्यतिबेला सायद, हामी कसैलाई पनि सरकारको सपनामा एक्यवद्धता जनाउन जोश आइरहेको थिएन। करिब १५ मिनेट हामी जाममै अड्कियौं, उहाँको भाषण एफएममा बजिरहेकै थियो।

प्रधानमन्त्रीबाट सम्वृद्धिको शब्द मात्रै के सुनेका थियौं गाडीमा एक्कासी बहस सुरु भयो। मसँगै बसेकी एक यात्रुले सुन्धाराबाट गोंगबुसम्मको भनेर दुई जनाको भाडा दिइछिन्। खुद्रा नभएकाले उनले पचास रुपियाँ दिएकी थिइन्। अनि सहचालकले फिर्तामा जम्मा पन्ध्र रुपियाँ दिएछन्। त्यसपछि ती यात्रुले ‘कति हो र गाडी भाडा?’ भनेर प्रश्न गरिन्। प्रतिउत्तरमा सहचालकले सत्र-सत्र भने। हामी सबै एकछिन अचम्ममा पर्यौं, होइन कहिलेबाट भाडा बढेछ? भाडा बढेको विषय समाचारमा आएको पनि थाहा छैन। सधैं गोंगबुसम्म पन्ध्रै तिर्ने हो। अनि उनि झोक्किइन् ‘अचम्म छ सधैं हिड्ने हो, हिजो पनि पन्ध्र तिरेको आज बिहान पनि पन्ध्र, कस्तो मनलाग्दी हो?’

अनि एकछिन सहचालक र उनीबीच भनाभन चल्यो। साइडमा हुनेहरुले पनि थपे- ‘यो देशमा जसले जे गर्दा पनि भएको छ, सिस्टम नै छैन।’ अनि फेरि उनले भनिन्, ‘त्यही भएर सबजना नक्कली भए नि कार्ड बनाएर हिँड्छन्। इमान्दार भइयो भने त यसरी ठगिन्छ। न कहिले चानचुन पैसा फिर्ता गर्ने चलन छ न भाडा फिक्स छ। 

मनमैजुदेखि त समितिले तोकेको भाडा दर १७ हो। तर उठाउने चाहिँ बीस। तीन रुपियाँ फिर्ता गर्ने चलन छैन। ल अहिले पनि मानिलिउ सत्र-सत्र भयो त्यो चौतिस भयो अनि एक रुपियाँ चै दिनुपर्दैन है?’ भन्दै गाडी एकछिन बहसमय भयो। हुन पनि हो, त्यति सानो कुराहरुमा त सिस्टम बसाल्न सकिरहेका छैनौँ भने ठूलाठूला सपनाहरुमा कसलाई चासो!

त्यतिबेलासम्म पनि गाडी एक पाइला अघि बढेको छैन अनि एफएममा सम्माननीय प्रधानमन्त्रीको सम्वृद नेपाल र सुखी नेपालीको सपनाहरुको भाषण बजिरहेकै छ। मानौं त्यो भाषण निकै अभ्यस्त छ- आम नागरिकले दिनहुँ भोग्नुपरेको त्यो ठगी, त्यो लुट, त्यो महँगी, त्यो सकससित। त्यसैले त सपना देखाउन मग्न छन् हाम्रा सरकार अनि उनका भाषण। बाहिर धेरै विकसित मुलुकहरुमा सार्वजनिक सवारीलाई प्राथमिकतामा राखिन्छ, सर्वसाधारणको कम्फर्टलाई ध्यान दिइन्छ। तर, हाम्रोमा भने सर्वसाधारणको कम्फर्टहरुलाई प्राय: बेवास्ता गरिन्छ। 

अस्ति भर्खर हामी टूटल, पठाओ र ट्याक्सीहरुको बहस गरिरहेका थियौं। तर गाडी भाडा पन्ध्रबाट सत्र हुँदा त डराउनु पर्ने हामी जस्तो दिनहुँ गाडी चढ्नेहरुका लागि तिनीहरु कुनै पनि दैनिक जीवनको आवश्यकता बन्न सक्दैन। टूटल र पठाओको पक्षमा जसरी बहस भयो त्यसरी नै सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउनेमा ध्यान गएको भने थाहा छैन। 

कहिलेकाहिँ आवश्यकताको हिसाब र सुविधाका लागि प्रयोग गरिने कुरा अर्को पाटो हो। यस्तोमा बहस गर्न सक्ने हामी कहिले आम मान्छेहरुको पहुँचमा रहेको सार्वजनिक सवारी साधनहरुको सहजताको पाटोबाट कहिल्यै बहस गरेनौं र गर्दैनौ पनि। अझ भन्नुपर्दा, सार्वजनिक सवारीसाधन नै पनि सहज सवारीसाधन हुनसक्छ तर त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेमा हामीहरु निकै कम चासो देखाउँछौं। 

हाम्रो दैनिकी निकै दिक्कलाग्दो छ। हाम्रो दैनिकी हेर्दा कहिलेकाहिँ हामी सम्वृद्धिभन्दा दुर्गतितिर पो गइरहेको हो कि भन्ने लाग्छ। देशमा महँगी आकाँशिदो छ, बनाउने भन्दा पनि बिगार्नेतिर हाम्रो विकासको कामहरु उर्लिरहेको छ, सार्वजनिक जीवन अस्तव्यस्त छ, शहर दिनानुदिन कुरूप र प्रदुषित हुँदैछ, एउटा सामान्य कमाइमा बाच्न हम्मेहम्मे हुन थालिसक्यो। अनि सरकारको सपनामा मात्र एउटा आम नागरिक कति दिनसम्म रमाउने? 

सम्वृद्धिको सपना नराम्रो होइन, यो भनिरहँदा सरकारको विरोध गर्ने उद्देश्य पनि होइन। तर, सरकारको त्यो सपनामा सर्वसाधारणको सम्वृद्धिको कुरा अटाउँछ कि अटाउँदैन भन्ने हो। आखिर सम्वृद्धिको परिभाषा के हो? एउटा राष्ट्रको सम्वृद्धिको कुरामा एउटा सामान्य नागरिकको दैनिकी सम्वृद्ध र सहज बनाउने कुरा पर्नुपर्छ कि पर्दैन? 

सरकारको एक वर्षको उपलब्धि प्रधानमन्त्रीले भने अनुसार निकै उल्लासपूर्ण रह्यो होला। तर, त्यो उपलब्धिमा देशको नागरिकले महसुस गर्नेगरी सरकारले कत्तिको उपलब्धि हासिल गरेको छ? त्यो पाटो झन् महत्वपूर्ण छ। किनकि सम्वृद्धि भनेको देश र जनताकै लागि त हो नि, होइन र? विश्वलाई पछि अचम्मित पार्दै गरौँला पहिला हामी हाम्रो कामले आफ्नै देशलाई अचम्मित पार्ने काम गरौँ।

त्यसपछि एकदम कम दिमागमा आउने सोचाइ आयो- ‘उफ् नेपालमा पब्लिक भएर बाच्न एकदम गाह्रो छ। यथार्थमा नेपालमा बस्नै एकदम गाह्रो।’ तर, फेरि सम्माननीय प्रधानमन्त्रीको ‘दुरी घट्दै छ नेपाली सपनाको’ टक्क सुनेँ। अनि दिमागमा फेरि पोजिटिभ सोचाइ आयो। त्यतिकैमा अन्तत: जाम पनि खुल्यो। अनि ड्राइभरलाई पनि मान्छेहरुको डायलग र सरकारको डायलगले दिक्क लाग्यो होला - समाचार आउने एफएम घुमाएर गीत आउने एफएमको फ्रिक्वेन्सीतिर घुमाए। 

साँचै नै पानी जहाज र रेलको सपना नराम्रो होइन। त्यो पनि चाहिन्छ तर आवश्यकताको हिसाबले सार्वजनिक सवारीसाधन पहिलो प्राथमिकता हुनुपर्थ्यो। पानी जहाज र रेल सपना हो तर सर्वसाधारणले दिनहुँ प्रयोग गर्ने सार्वजनिक सवारी साधन वास्तविकता र बाध्यता। सोचेर ल्याउँदा यो निकै सामान्य कुरा लाग्छ। तर, म सधैं एउटा कुरामा विश्वास गर्छु वास्तविकतामा सम्वृद्धिको सुरुवात सधैं यस्तै कमन कुराहरुबाट हुन्छ। तपाईं घरबाट निस्केपछि दिनहुँ हिँड्ने बाटो कस्तो छ? यदि सार्वजनिक सवारीसाधनहरु प्रयोग गर्नुहुन्छ भने दिनहुँ चढ्ने सवारीसाधनहरुको हालत कस्तो छ? बजार तपाईंको बजेट अनुसार छ कि छैन? अनि पो तपाईं आफ्नै देशमा निस्फिक्री सार्वजनिक जीवनमा रमाउन सक्नुहुन्छ। अनि निस्फिक्री दिमागले सम्वृद्धिको सपनाको मजाले आभाष गर्न पाउनुहुन्छ। एउटा सामान्य नागरिकले आफ्नो दैनिक जीवनमा त्यो सम्वृद्धि महसुश गर्न पाएन भने त्यो सम्वृद्धिको के मज्जा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell